४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महोत्सवबाट बचत रकम ‘आवासीय छात्रावास’ निर्माणमा खर्चिने

महोत्सवका धेरै उद्देश्य छन्। तर पोखरा महोत्सवको भने अरुभन्दा भिन्दै उद्देश्य लिएको छ। आर्थिक चलायमानको उद्देश्य एकातिर छँदैछ। अर्कोतिर महोत्सवबाट बचत रकमलाई गरीब तथा जेहेन्दार विद्यार्थीको निशुल्क शिक्षमा खर्च गर्ने उद्देश्य पनि महोत्सवले लिएको छ।

पोखरा–१० स्थित युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवबाट बचत रकम पोखरा–२६ अर्चलेमा आवासिय छात्राबास निर्माणमा खर्च गर्ने बताएको छ। ‘क्लबको आफनै जग्गा छ। आफनै जग्गामा अब वर्षेनी महोत्सवबाट बचत रकमको १५ प्रतिशत रकम आवासिय छात्राबास भवन निर्माणमा खर्च गर्छौ,’ क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले सुनाए, ‘पहिलो चरणमा एकतला बनाईनेछ। भवनको नक्सा बनाउने काम हुदैंछ। नक्सा बनेपछि आवश्यक बजेट कति लाग्छ त्यसै अनुसार क्लबले लगानी गर्नेछ।’  

क्लबले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको नारा दिदैं आएको छ। पोखराका विभिन्न १२ वटा विद्यालयमा अक्षयकोष स्थापना गर्दै छात्रवृत्ति प्रदान गर्दै आएको छ। पर्यटनमा पनि क्लबले लगानी गरेको छ। पोखरा–३१ र ३२ स्थित सामुदायिक बनमा चिडियाखानको अवधारणासँगै वन्यजन्तु उद्दार केन्द्र स्थापना गरेको छ। जहाँ क्लबले वर्षेनी महोत्सवबाट बचत रकमको १५ प्रतिशत लगानी गर्दै आएको छ। वन्यजन्तु उद्दार केन्द्रलाई गण्डकी प्रदेश सरकारले समेत पर्यटकीय केन्द्र बनाउने ध्येय राख्दै बजेट छुट्टाएको छ।  

क्लबले पोखरा–२६ स्थित कवि शिरोमणि लेखनाथ पौडेलको घर साँधमा जोडिएको ५ रोपनी क्षेत्रफलमा आवासिय छात्राबास बनाउने योजना छ। पहिलो चरणमा २० जना गरीब तथा जेहेन्दार विद्यार्थी अट्ने क्षमताको आवासिय भवन बनाउने योजना रहेको संस्थापक अध्यक्ष बख्रेलले सुनाए। माघ मसान्तदेखि भवनको लागि आवश्यक सबै प्रक्रिया पुरा गर्दै काम शुरु गरिने उनले बताए। क्लबले  सेनी नदी खोंचलाई एक साहसिक पर्यटकीय गन्तब्य निर्माण गर्ने योजना समेत अघि सारेको छ। महोत्सवमा प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणको लागि क्लबले छुट्टयाउँदै आएको छ।  

११ औं संस्करणको पोखरा महोत्सव १३ दिनसम्म सञ्चालन हुनेछ। २ सय ५८ स्टल राखिएको छ। दुईलाख पचास हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ। कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि उन्मुख विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने उल्लेख गरेको छ।  

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायिक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण गरिने छ। पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा  लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु रहने छन। महोत्सवको गण्डकी प्रदेशका नव निर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बुधवार उद्घाटन गर्नेछन।

प्रकाशित: २६ पुस २०७९ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App