५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल ५७ अर्ब पुँजीको सबैभन्दा ठूलो बैंक

करिब ५१ करोड चुक्ता पुँजी लिएर सन् २००७ मा वीरगञ्जमा स्थापना भएको ग्लोबल बैंक अहिले ५७ अर्ब रूपैयाँ पुँजीको मुलुककै सबैभन्दा ठूलो बैंक भएको छ। स्थापनाको १६ वर्षमा बैंकले धेरै उचाइ लिएको छ। पुँजीमात्र होइन ग्राहक, शाखा सञ्जाल, लगानी, सम्पत्तिलगायत सबै दृष्टिले ग्लोबल आईएमई बैंक नेपालकै सबैभन्दा ठूलो बैंक बनेको हो।

ग्लोबल बैंकको नाममा स्थापना भएको भए पनि आइएमई फाइनान्ससँग गाभिएपछि सन् २०१२ मा ‘ग्लोबल आइएमई बैंक’ बनेको थियो। नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई अबलम्बन गर्दै आएको ग्लोबलले बैंक अफ काठमाडौंसँग एकीकरण गरी आइतबारबाट ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको छ।

दुई बैंक एकीकरण भएपछि बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रूपैयाँ, पुँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब रूपैयाँ पुगेको छ। बैंकका कुल ग्राहक ४० लाख, ७७ वटै जिल्ला र विदेशमा समेत गरी सेवाग्राही केन्द्र ११ सय पुगेको बैंकले जनाएको छ। मर्जरपछि बैकका शाखा ३ सय ६५ पुगेका छन्।

त्यसैगरी, ३ सय ६७ एटीएम, २ सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, विदेशमा ३ वटा सम्पर्क कार्यालय रहेका छन्।

अहिलेसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाबीच मर्ज तथा प्राप्ति भएको ग्लोलब आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बताए। ‘सबैभन्दा धेरै वित्तीय संस्था मर्ज गरेर मुलुककै सबैभन्दा ठूलो बैंक बनायौं,’ अध्यक्ष ढकालले भने, ‘कुल बजारको करिब १० प्रतिशत हिस्सा ओगटेका छौं।’

राष्ट्र बैंकको मर्जर नीतिलाई अनुशरण गर्दै बैंकलाई यो अवस्थामा ल्याउने प्रमुख श्रेय भने अध्यक्ष चन्द्र ढकाललाई जान्छ। ग्लोबलले यसअघि पनि जनता बैंक नेपाल, नेपाल कमर्ज एण्ड ट्रष्ट लगायतका कमर्सिल बैंकलाई मर्ज गरेको थियो। ‘ग्लोबललाई सबै सूचकमा एक नम्बर बनाएका छौं,’ उनले भने, ‘अब ठूला परियोजनामा लगानी गर्न सकिन्छ।’

ग्लोबलमा ३ वाणिज्य बैंकसहित १८ बैंक तथा वित्तीय संस्था गाभिएका छन्। त्रिवेणी विकास बैंक, गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिएका थिए। त्यसैगरी, फाइनान्स कम्पनीतर्फ आईएमई, लर्ड बुद्ध, हाथ वे, शुभलक्ष्मी र नेपाल आवास लगायतका कम्पनी पनि ग्लोबलमा मिसिएका थिए।

नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरन्जिवी नेपालले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर र प्राप्तिको नीति अघि सारेपछि ढकालले अनुशरण गरेका थिए। २०७२ सालको मौद्रिक नीतिमा वाणिज्य बैंकको चुक्ता पुँजी न्युनतम ८ अर्ब रूपैयाँ पुर्‍याउनुपर्ने बाध्यात्मक व्यवस्था भएपछि मर्जरमा जान थप दबाब परेको थियो। अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले बोनस सेयर वितरण, हकप्रद सेयर निष्कासन लगायतका उपायबाट चुक्तापुँजी पुर्‍याए पनि ग्लोबलले बैंक तथा वित्तीय संस्थाबीच मर्जर तथा प्राप्तिको नीति अनुसार पुँजी बढाउँदै आएको थियो।

काठमाडौंमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका छन्।

एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरू ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए। ‘बैंक मर्जर असाधारण काम हो, यो प्रशंसा योग्य छ। बैंक ठूला हुँदा ठूला-ठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ। ठूला बैंकले मुलुकको दूरदराजसम्म नवीन बैंकिङ सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरुरी छ’ उनले भने। प्रधानमन्त्री दाहालले वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्।

‘वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधार गर्न प्रतिवद्ध छ। हामीले हाम्रो पहिलो क्याबिनेट बैठकबाट नै मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम सुरु गरेका छौं,’ उनले भने।

नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखिएकाले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको बताए। उनले नेपाल सरकार निजी क्षेत्रलाई साथमा लिई निजी क्षेत्रको मनोबल बढाएर अगाडि बढ्ने बताएका छन्।  

प्रकाशित: २६ पुस २०७९ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App