६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा सडक महोत्सवः साना र मझौला होटललाई राहत

पोखरामा आगामि बुधबारदेखि सुरु हुने सडक महोत्सवबारे जानकारी दिँदै आयोजक। तस्बिरः धन बस्नेत नागरिक

कोरोना भाइरस संक्रमण २०१९ को अन्तिममा देखा पर्यो। तर, नेपालको पर्यटन क्षेत्रमा भने २०२० मार्चदेखि मात्र पूर्णरुपमा कोरोनाको असर देखिन थालेको थियो। २०२० को जनवरी र फेब्रुअरीमा नै विदेशी पाहुनाको आगमन केही प्रभावित भईसकेपनि मार्चदेखि भने पूर्णरुपमा प्रभावित भएको थियो। मार्चपछिका महिनामा लकडाउन सुरु भएपछि पर्यटन क्षेत्र अति नै खस्कियो।  

लकडाउन सुरु भएपछि पर्यटन यतिसम्म खस्कियो की पोखरामा विदेशी पाहुनाको आगमन संख्या महिनाभरमा दुइअंकमा समेत झर्यो। पाहुना आगमन खस्किँदा पर्यटन क्षेत्र निकै नै सुनसान बन्यो। पर्यटकीय पूर्वाधारमा ताला लागे। कोभिड संक्रमणको उतारचढावसँगै पर्यटन क्षेत्र कहिले खुल्ने त कहिले बन्द हुँदै गए। कोरोनाको मारमा परेको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको आगमन हुँदा पर्यटन क्षेत्र केही उकासिने र अरुबेला सुनसान हुने क्रम चलिरह्यो । त्यो क्रम अहिले पनि छ।

अहिले पनि आन्तरिक पाहुना आउँदा पोखराको पर्यटकीय गतिविधिमा निकै नै चमक आउँछ। पर्यटकीय सिजनका बेलामा पनि पोखरामा पर्याप्त विदेशी पाहुना नआएको अवस्थामा अहिले पर्यटन क्षेत्र आन्तरिक पाहुनामै निर्भर रहेको छ। आन्तरिक पाहुनाको त्यही आकारलाई नियमितता दिन भन्दै यहाँ व्यवसायीले केही गतिविधि पनि गर्दै आएका छन्। त्यसै क्रममा २४ औं संस्करणको पोखरा सडक महोत्सवको तयारीमा पर्यटन क्षेत्र रहेको छ। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गर्दै आएको यो महोत्सव पुस १३ देखि १७ गतेसम्म हुनेछ। महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । महोत्सवका लागि अहिले पर्यटकीय क्षेत्र लेकसाइड सजिने क्रममा छ।

व्यवसायीका अनुसार कोरोनाकालमा पनि यो महोत्सवले निरन्तरता पायो। बरु पाँचदिन हुँदै आएको महोत्सवलाई  घटाएर तीनदिनमा झारिएको थियो। अहिले भने पाँचदिन नै महोत्सव आयोजना गर्ने तयारीमा आयोजक जुटेको सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको छ।

पर्यटन व्यवसायीका अनुसार पोखराका ठुला होटलमा बाह्रैमास पाहुना हुन्छन्। विभिन्न गतिविधि, भेला, बैठक, सभासम्मेलनका कारण ती होटलमा प्रायजसो पाहुना अभाव हुँदैन। चल्तीका होटलमा सधैंजसो पाहुना भईरहँदा मझौला र साना आकारका होटल भने रित्तै हुने गरेका थिए। तर, पोखराको सडक महोत्सवले भने केही अवधिका लागि पोखराका सबैखाले होटलमा पाहुना हुने गरेका छन।

महोत्सव संयोजक तथा रेबानका अध्यक्ष नरेश भट्टराईले पोखराको यो महोत्सवको सबैभन्दा बढी लाभ मझौला र साना आकारका होटललाई हुने गरेको बताए। ‘वास्तवमा पोखराका चल्तीका होटललाई पाहुनाको अभाव खासै हुँदैन। कोरोनाको चरम संक्रमणका बेला र लकडाउन हुँदा पाहुना भएनन। नत्र अरुबेला कुनै न कुनै तरिकाले ठुला होटलले सधैजसो पाहुना पाउँछन,’ भट्टराईले भने, ‘तर, साना र मझौला आकारका होटललाई भने पाहुनाको अभाव थियो। यो महोत्सवले साना आकारका होटललाई बढी लाभ पुग्छ।’ साना र मझौला होटलले आन्तरिक पाहुनाबाट यो बेला बढी लाभ लिने गरेको उनले बताए।

भट्टराईका अनुसार पोखराका केही चल्तीका होटल छन्। ती होटलमा सधैंजसो पाहुना हुन्छन्। तर, साना र मझौला आकारका होटललाई भने पाहुनाको खाँचो भईरहँदा पोखराको यो महोत्सवले ती होटललाई आर्थिक रुपमा राहत दिलाउने गरेको छ। ‘चल्तीका होटलमा बाहै्रमास पाहुना छन्। कतिपय होटलको अकुपेन्सी त यो बेला सतप्रतिशत नै छ। चल्तीका ती होटलले विदेशी र महंगो रकम खर्चन सक्ने पाहुना पाउने गरेका छन,’ उनले भने, ‘यो बेला साना र मझौला आकारका होटलले पाहुना पाउँदा ती होटललाई सहज हुन्छ। अरुबेला फाट्टफुट्ट बाहेक पाहुना नपाएका मझौला र साना आकारका होटलले महोत्सवको पाँचदिनको यो अवधिमा हरेक दिन पाहुना पाउने गरेको उनले बताए।  

‘अहिले धमाधम बुकिङ आईरहेको छ। चल्तीका होटलले अहिले पाहुना राख्न सक्दैनन। मझौला र साना होटलका कोठा पनि यो बेला भरिभराउ हुन्छन,’ महोत्सव संयोजक समेत रहेका भट्टराईले भने, ‘यो बेला पोखरामा ठुलो संख्यामा आन्तरिक पाहुना आउने भएकोले पनि व्यवसायीलाई लाभ पुग्छ।’ उनका अनुसार पछिल्लो समय पोखरामा भारतीय र बंगलादेशी पाहुना पनि आएका छन्। बंगलादेशी र भारतीयसँगै आन्तरिक पाहुनाका कारण अहिले पोखराको होटलको अकुपेन्सी करिब ५० प्रतिशत हाराहारीमा रहेको उनले बताए।  

महोत्सवका लागि अहिले पोखराको पर्यटकीय क्षेत्र लेकसाइड पुरै रंगीएको छ। पोखरालाई  आन्तरिक तथा बाह्य पर्यटकको ‘अंग्रेजी नयाँवर्षको गन्तव्यस्थल’ बनाउनको उद्देश्यले पनि यो महोत्सव हुँदै आएको मेला संयोजक भट्टराईले बताए। लेकसाइड क्षेत्रको करिव ३ किमि क्षेत्रमा महोत्सव हुँदैछ। ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यस महोत्सवल ५ दिनसम्म फिस्टेल गेटदेखि खहरेचोक हुदै जरेवर लेकसाइडसम्म हुनेछ। ‘कोरोना महामारीबाट सुस्ताएको पर्यटन बिस्तारै लयमा फर्किन थालेको अवस्था छ। पर्यटक लोभ्याउने यो मौसममा हामी पनि पर्यटनमैत्री वातावरण तयार पार्न जुटिरहेका छौं,’ उनले भने। 

रेबानका प्रथम उपाध्यक्ष विश्वराज पौडेलले पर्यटन प्रर्वद्धन गर्नका लागि सडक महोत्सव निकै नै प्रभावकारी माध्यम बनेको बताए। उनले पोखरामा महोत्सवको यो अवधिमा धेरै आन्तरिक पाहुना आउने भएकोले त्यसले पोखराको मात्र नभई आसपासका क्षेत्रको पर्यटन उकास्न पनि उत्तिकै महत्वपूर्ण योगदान दिने बताए। ‘पर्यटकीय क्षेत्र चलायमान हँुँदा समग्र अर्थतन्त्र चलायमान बन्छ,’ उनले भने, ‘पर्यटन क्षेत्रले मात्र नभई सबैतिरका आर्थिक गतिविधि बढ्दा लाभ हुन्छ।’  

प्रकाशित: ११ पुस २०७९ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App