७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

धान फल्ने खेत वनमाराले ढाक्यो

लाहुरेहरुको जिल्लाका रूपमा परिचित म्याग्दीबाट श्रमका लागि विदेशिने बढेसँगै खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ। बाह्रै महिना खेती गरी जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयहरू कृषि गर्न छाडेर शहर पस्न थालेका छन्।

जिल्लाबाट अधिकांश युुवाहरू श्रमका लागि विदेशिएपछि गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र बाँकी छन्। जिल्लाको बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा धेरैजसो खेतीयोग्य जमिन बाँझै देख्न सकिन्छ।

सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका-२ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझो रहेको स्थानीय चित्रबहादुर रिजालको भनाइ छ। ‘खेती गर्न जनशक्ति नै छैनन्, बुढाबुढीले गर्न नसक्ने भए पनि जग्गाजमिन बाँझै छाड्नु बाध्यता बनेको छ।’

उब्जाउ हुने जमिन बाँझो भएपछि स्थानीयहरू सदरमुकामदेखि खाद्यन्न किनेर खान थालेको मालिका-३ का जगबहादुर बुढाको भनाइ छ। ‘कोही रोजगारी खोज्दै विदेश गए, विदेश नजाने गाउँ छाडेर शहर पसेपछि खेती गर्ने मान्छे नै पाइन छाडे’, उनले भने, ‘उत्पादन नभएपछि आयातित खाद्यान्न किनेर खानुको विकल्प छैन।’

केही स्थानमा खेतीयोग्य जग्गा ‘प्लटिङ’ हुने क्रम बढेको उनको भनाइ छ।

मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले हरेक वर्ष खेतीयोग्य जमिन १५ प्रतिशतले घटदै गएको बताए। तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरमा पनि जमिन बाँझो हुने क्रम बढेको छ। सिङ्गा, बगरफाँट, डाँडाखेतका खेतीयोग्य जमिनमा ‘प्लटिङ’ बढेपछि धान उत्पादन घट्दै गएको उनको भनाइ छ।

कृषि कार्यालय र स्थानीय तहले कृषि उपजको उत्पादन बढाउन प्रोत्साहनका लागि खाद्यन्न, तरकारी बाली, माछा व्यवसाय, च्याउ खेतीमा अनुदान दिन थालेका छन् तर यति हुँदा पनि किसानलाई त्यसतर्फ आकर्षित गर्न सकिएको छैन।

भूकम्पपछि गाउँबाट शहर झर्ने क्रम बढेसँगै खेतीयोग्य जमिनमा पल्टिङ बढेको हो। जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक पचासभन्दा बढी जग्गाको कारोबार हुन थालेको मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीको भनाइ छ। रासस

प्रकाशित: २९ मंसिर २०७९ ०७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App