१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

जिडीपीमा अलैंचीको योगदान प्रदेश १ भरी कै एक नम्बर,उत्पादन र उत्पादकत्व वृद्धिमा जोड

कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा प्रदेश १ भरीका कृषि उत्पादनमध्ये अलैंचीको योगदान १ नम्बरकै रहेको निश्कर्षसहित यसको उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य रहेको औंल्याइएको छ। क्षेत्रीय र स्थानीय आर्थिक वृद्धिका लागि अन्तर स्थानीय तह सहकार्यका बारेमा कम्युनिटी इङगेजमेन्ट एण्ड आउट रिच प्रालिले गरेको अध्ययन प्रतिवेदन बुधबार यहाँका सरोकारवाला माझ प्रस्तुत गरिएको हो।

उल्लेखित संस्थामार्फत गरिएको अध्ययन टोलीका उपनेता अनिरुद्र न्यौपानेले अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अलैंचीले कृषि तर्फको कूल ग्राहस्थ उत्पादनमा अलैंचीले बिगत ५ वर्षमा ५.९ प्रतिशतदेखि ७.९ प्रतिशतसम्म योगदान दिएको बताए।

यस्तै अलैंचीबाट प्रदेशको समग्र अर्थतन्त्रमा भने औसत २ प्रतिशतसम्म योगदान रहेको न्यौपानेले अध्ययन प्रतिवेदन सुनाए। जिडिपीमा योगदान र वृद्धिको अवस्थालाई आधारमानी उत्पादनका विभिन्न १३ वटा सेवा क्षेत्रबारे अध्ययन भएको उनको भनाइ थियो। आर्थिक वर्ष २०७३/०७४ देखि २०७७/७८ सम्म अलैंचीको औषत वार्षिक निर्यात ४ अर्ब १६ करोड बढी रहेको पाइएको छ। अलैंचीलाई प्रदेश १ को मात्र मुलुककै मुख्य निर्यातक बस्तुका रहेको हेर्ने गरिएको छ। न्यौपानेका अनुसार अध्ययन क्षेत्रमा कृषि क्षेत्र,उद्योग र सेवा क्षेत्रलाई अध्ययनको प्रमुख आधार बनाइएको थियो।

कृषि क्षेत्रमा अन्नवाली तर्फ धान,मकै,गहुँ र कोदो,पशुपालनतर्फ गाई र भैंसी,तरकारी बाली तर्फ बन्दा,गोलभेडा,काउली,नगदे बालीतर्फ आलु,मसला बालीतर्फ अलैंची र अदुवा तथा फलफुल उत्पादनतर्फ सुन्तला र केरालाई उत्पादन सेवा उपक्षेत्रको रुपमा लिइएको थियो। यी मध्ये आय र रोजगार वृद्धिको दृष्टीले जिडिपीमा अलैंचीको योगदान प्रदेशभरीकै अब्बल देखिएको उनले सुनाए। 

अध्ययन टोलीमा संलग्न विज्ञ तथा त्रिभुवन विश्व बिद्यालय अर्थशास्त्र विभागका प्राध्यापक डाक्टर अर्जुन बरालले अलैंचीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि क्षेत्रगत सहकार्य अनिवार्य रहेको निश्कर्ष सुनाए। अलैंचीमार्फत जिडिपीमा भएको योगदान अतुलनिय रहेकोले यसलाई थप प्रभावकारी बनाउन उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य रहेको उनको भनाइ थियो। प्राध्यापक डाक्टर बरालले यसका लागि अलैंची उत्पादन हुने क्षेत्रका सरोकारवालाहरुको अनुभवको आदानप्रदान तथा उत्पादन र उत्पादकत्व वृद्धिका लागि आधारतय गर्नु अनिवार्य रहेको अध्ययन अनुभव सुनाए।

अध्ययन टोलीका अनुसार अलैंची उत्पादकत्वका दृष्टीले प्राय सबैवर्ष स्थिर अवस्था रहेको छ। कृषि निर्देशनालयको तथ्यांक उधृत गर्दै बरालले बताए अनुसार पूर्वी नेपालमा अलैंचीको उत्पादकत्व अधिकतम् ०.५४ प्रति हेक्टरसम्म देखिएको छ। न्यूनतम् उत्पादकत्व ०.५० हेक्टरसम्म रहेको छ। प्रदेश १ भरीका सबैभन्दा बढी अलैंची ताप्लेजुङमा त्यसपछि पाँचथर,इलाम,संखुवासभा र खोटाङमा उत्पादन हुने गरेको अध्ययन टोलीले बताएको छ।

प्रदेश १ भरीका १५ हजार ७ सय २८ हेक्टरमा अलैंची लगाउन सकिने खेतियोग्य जमिन भएपनि १४ हजार ७ सय ५ हेक्टरमा मात्र खेति गरिएको अध्ययन टोलीले बताएको छ। उत्पादन र उत्पादकत्व वृद्धिका लागि अन्तर स्थानीय तह सहकार्य बढाउने,बालीमा देखिएका समस्या हटाउने र उत्पादकत्व वृद्धिका लागि स्थानीयता अनुसार बाली र स्याहारमा गुणस्तरीयता कायम गर्नुपर्ने सरोकारवालाको निश्कर्ष रहेको छ।  

प्रकाशित: २१ मंसिर २०७९ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App