कोरोना भाइरस फ्लूभन्दा कमजोर भाइरस हो । यसले निम्त्याउने मृत्यु दर निकै कम छ । कोरोनाबाट संक्रमित हुने तर धेरैलाई आफू संक्रमित भएको थाहा पनि नभइ निको हुने देखिएको छ । कोरोना संक्रमण हुनासाथ मरिँदैन र ९५ प्रतिशतमा साधारण उपचारबाट ठीक हुन्छ । बीस प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ । तीनदेखि पाँच प्रतिशतलाई जटिलता आउँछ वा सघन उपचार (आइसियु) दिनुपर्ने हुन सक्छ । एकदेखि तीन प्रतिशतभन्दा कममा मृत्यु भएको देखिएको छ ।
कोरोनासँगै हामीले महिनौं अथवा वर्षौंसम्म बस्नुपर्ने हुनसक्छ । यो भाइरस हामीसँग लामो समयसम्म रहनेछ । अब कोरोनासँगै बाँच्नुको विकल्प छैन ।
कोभिड–१९ नियन्त्रणका लागि शुरुको अवस्थामै पुष्टि भएका संक्रमितलाई छिटो पहिचान गरी आइसोलेसनमा राख्ने, बिरामीलाई स्वास्थ्य सेवा दिने र संक्रमितसँग सम्पर्कमा आएकालाई चौध दिनसम्म क्वारेन्टिनमा राख्ने गरिन्छ ।
नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेकाले थप क्षति हुनबाट बचाउन अब हामीले के गर्नुपर्छ ?
प्रतिकारात्मक उपाय–संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई खोजी (कन्टेक्ट ट्रेसिङ)गर्ने, पाइला पछ्याउने (ट्रयाकिङ) र उनीहरूको निगरानी राख्ने (सर्भेइलेन्स) जस्ता नियन्त्रण र रोकथामका प्रतिकारात्मक उपायलाई समयमै प्रभावकारी बनाउनुपर्छ ।
बन्दाबन्दी पालन–नागरिकमा स्वास्थ्य चेतना अत्यन्तै न्यून छ । जनतालाई आवश्यक स्वास्थ्य शिक्षा दिने काम भयो भने नागरिकका तर्फबाट कोरोना नियन्त्रणका उपायलाई सफल गराउन बल मिल्छ । जनस्वास्थ्य चेतनाका प्रभावकारी सामग्री उत्पादन गरेर प्रकाशन तथा प्रसारण गरिरहनु जरुरी छ । भारत वा तेस्रो मुलुकबाट आएका लाखौँ नेपालीलाई स्वास्थ्य परीक्षण गरी ब्यबस्थित क्वारेन्टिन अथवा सुरक्षित रूपमा घरमै रहने व्यवस्था मिलाइनुपर्छ । देशमा रहेका धेरैजसो क्वारेन्टिन र आइसोलेसन सेन्टरहरू थप व्यवस्थित गर्नुपर्छ ।
पिसिआर परीक्षणको दायरा बढाउदै लैजाने तथा आरडिटी नगर्ने– विश्व स्वास्थ्य संगठनले पनि विश्वसनीय हुँदैन भनेको आरडिटीबाट परीक्षण किन ? जनताले प्रश्न गरिरहेका छन् । पिसिआर परिक्षण दायरालाई बढाउँदै, लक्षित समूहलाई प्राथमिकता दिँदै पिसिआर परीक्षणको गति बढाउँदै लानु पर्छ । विदेशबाट भित्रिएका नागरिकलाई पिसिआर परीक्षण गरेर मात्र घरमा पठाउने काम भयो भने मात्र रोग नियन्त्रण हुन सक्छ । अहिले देशभरका २० वटा प्रयोगशालाको दैनिक क्षमता भनेकै ३–४ हजार जनाको पिसिआर परीक्षण गर्ने हो । थप मेसिन, प्रयोगशाला नथप्ने हो भने अहिलेको प्रयोगशालाले नधान्ने निश्चित छ । सस्तो दरमा निजी प्रयोगशालामा पिसीआर परिक्षण व्यवस्था मिलाउनु आवश्यक छ ।
चिकित्सकको अनलाइन परामर्श प्रणाली मोबाइल एपको थप उपयोग–सरकारले हाल प्रयोगमा ल्याएको वेबसाइट र मोबाइल एपको उपयोग सराहनीय छ । लकडाउन खुल्नासाथ अस्पतालमा भिड लाग्नेछ । त्यसैले चिकित्सकको अनलाइन परामर्श व्यवस्था गर्ने र अस्पतालमा भीड व्यवस्थापन गर्न अनलाइन अपोइन्टमेन्ट प्रणाली लागू गर्ने ।
अस्पतालका बेड लगायत उपकरणसहित भौतिक पूर्वाधार तयारी राख्ने– अस्पतालमा आवश्यक चिकित्सक तथा नर्सको व्यवस्थापन गर्ने र पिपिई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लासलगायतका स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गरिनुपर्छ । यसबाहेक हामीले अस्पतालका इमर्जेन्सी कक्ष, बेडहरू, आइसियुको क्षमता आदिमा बढाउने । सघन उपचारका लागि भेन्टिलेटर, मनिटर, अक्सिजनलगायतको व्यवस्थापन गर्ने ।
हालसम्म अवलम्बन गर्दै आएको उपचार नीतिमा परिवर्तन–संक्रमितको संख्या बढेसँगै सबैलाई अस्पतालका बेड नपुग्न सक्छ । अति संवेदनशील र गम्भीर अवस्थामा रहेका अथवा अन्य जटिलता भएका बिरामीलाई मात्र अस्पतालमा उपचार गरिनुपर्छ । सामान्य वा लक्षण समेत देखा नपरेका संक्रमितलाई सम्भव भए घरमै अथवा आइसोलेसन सेन्टरमा उपचार गरिनुपर्छ ।
स्वास्थ्यकर्मीलाई समाजले प्रोत्साहन र हौसला बढाइरहनुपर्छ–बिरामीको उपचारमा चिकित्सक र स्वास्थ्यकर्मी भोक, तिर्खा र आराम भुलेर निरन्तर युद्धस्तरमा खट्दै आएका छन् । यसरी खटिए पनि स्वास्थ्यकर्मीलाई समाज, सरकार र सम्बन्धित निकायले बिर्सेको छ । आफैं संक्रमणको उच्च जोखिममा रहेको अवस्थामा जोखिम मोलेर ड्युटीमा खटिएकै अवस्थामा बिरामी पक्षबाटै अपमानित र पिटिएका छन् । दोषीलाई कारबाही नभए स्वास्थ्यकर्मी देशभरका स्वास्थ्य संस्था ठप्प पार्न बाध्य हुनेछन् । कतिपय स्वास्थ्यकर्मीमा उच्च मनोवल हुनुको सट्टा सबै त्रसित र पन्छिने÷पन्छाउने प्रवृत्ति पनि देखिएकोछ । यसलाई सुधार्न जरुरी छ ।
नियमित तथा अत्यावश्यक स्वास्थ्य सेवा माथिको पहुँचमा सुनिश्चितता–यस्तो महमारीका बेला कोभिड–१९ बाहेकका स्वास्थ्य सेवा पनि सुचारु गराउनैपर्छ । स्वास्थ्य प्रणाली कोरोनामा केन्द्रित हुँदा नियमित तथा अत्यावश्यक स्वास्थ्य सेवा माथिको पहुँचमा कमी आएको छ । जसबाट गर्भवती, सुत्केरी, दुर्घटनामा परेका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक बढी प्रभावित छन् र तत्काल आवश्यक उपचार पहुँचको अभावका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । मातृमृत्युदर अनपेक्षित रुपमा वृद्धि भएको छ ।
लकडाउनका कारण खोप केन्द्र सञ्चालनमा ल्याउन कठिनाइ भयो, खोप लगाउने केटाकेटीको संख्या आधा घट्यो, जसले गर्दा अन्य रोगको जोखिम बढ्न सक्नेछ । खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, पोषण, सुरक्षित गर्भपतन उपचार जस्ता सेवा सुचारु गर्नाले रुग्णता र मृत्यु कम गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले पनि विश्वसनीय हुँदैन भनेको आरडिटीबाट परीक्षण किन ? जनताले प्रश्न गरिरहेका छन् ।
कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने–महामारीका कारण सम्भावित भोकमरीबाट बच्न सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बेला नेपाली किसानले उत्पादन गरेको तरकारीलगायत खाद्यवस्तुलाई नष्ट गराउने र भारतबाट आयात गरिएको तरकारी र फलफुल नेपालका हरेक क्षेत्रमा पु¥याउने गरेको देखिन्छ । कृषि क्षेत्रलाई मल बिउ सहजै उपलब्ध गराउन सरकार तयार हुनुपर्छ, साथै कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्छ ।
महामारीको नियन्त्रण नभई स्कुलकलेज खोल्न हतार नगरौँ–जुन र जुलाई अर्थात साउनसम्ममा कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने आंकलन गरिएको छ । स्कुललाई क्वारेनिन्टन भवनका रूपमा प्रयोग गरिरहेको छ । अभिभावकमा रहेको त्रास र अन्यौल घटेको छैन । तसर्थ स्कुल कलेज खोल्न हतार नगरौँ ।
जब संक्रमण घट्दै जान्छ वा स्थिर रहन्छ, त्यसपछि अन्य कार्यालय, पसल, यातायात लगायत खोलेपछि त्यसको परिणाम हेरी अन्य क्षेत्र लकडाउन खोलेपछि संक्रमण बढेन भने मात्र स्कुल खोल्न सकिन्छ । त्यो पनि सतर्क भै सामाजिक दूरी, सरसफाइ तथा अन्य उपाय अवलम्बन गरेर मात्र । पछि छोटो अवधिमा कोर्स पूरा गर्न सकिन्छ । विभिन्न परीक्षाका लागि पनि बैकल्पिक व्यवस्था गर्न सकिन्छ । शैक्षिक क्षेत्र प्रभावित बनेका बेला पूर्वाधार विकास गरि इन्टरनेटका माध्यमबाट पनि शिक्षण सिकाइ क्रियाकलाप गर्न सकिन्छ ।
कोरिया र फ्रान्समा स्कुल खोलेपछि बालबालिकामा संक्रमण बढेको भनेर विद्यालय पुनः बन्द गरिएका छन् ।
साइकलमैत्री शहर बनाउने अभियान सुरू गरौं–कोरोना महामारीपछि विश्वभर साइकलको प्रयोग बढेको छ । सार्वजनिक बस र यातायातमा सामाजिक दूरी कार्यान्वयन भरपर्दो नहुने भएकाले साइकल प्रयोग र पैदलयात्रा प्रोत्साहन गरौँ । हाम्रा देशका शहर साइकलमैत्री छैनन् । त्यसलाई सुधार गर्न नीति तथा पूर्वाधार विकास गरौं ।
नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने–कोरोना महामारीको अवस्थामा, स्यानिटाइजर बनाउन केही छुट दिएको जस्तै स्वदेशी उद्योग र कलकारखानाको प्रवर्धन गरेको खण्डमा जनताले लाभ पाउने र हाम्रो परनिर्भरता पनि न्यून हुन सक्ने थियो ।
भारतबाट औषधि नपठाइएका बेला होस् वा अहिले कोरोना महामारीमा पनि नेपालकै उत्पादनले आपूर्ति थेग्न खेलेको भूमिकाले पनि राष्ट्रिय उद्योगहरूको संरक्षण हुनुपर्छ भन्नेमा जोड दिन्छ । त्यस्तै देशभित्रै स्वास्थ्य सामाग्री, अक्सिजन प्लान्टहरू बनाउनुपर्छ ।
स्वस्थ बानी ब्यहोरा र सामाजिक दूरी पालनाको प्रोत्साहन–कोरोना संक्रमणबाट बच्न बारम्बार साबुनपानीले मिचीमिची हात धुने, नाक, मुख र आँखामा हात नलैजाने, हाच्छिउँ गर्दा सावधानी अपनाउने, स्यानिटाइजर र मास्क प्रयोग गर्ने, सामाजिक दूरी पालना गर्नेजस्ता उपाय अवलम्बन गरिरहनु पर्छ ।
एकातिर हामी कोभिडसँग लडिरहेका छौँ भने अर्कोतिर यो समयलाई स्वास्थ्य सेवा सुधारका अवसरका रूपमा पनि लिनुपर्छ । कोरोना भाइरसको महामारीले स्वास्थ्य क्षेत्र पुनर्निर्माणको आवश्यकता महसुस गराएको छ । महामारीपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बढ्ने अपेक्षा थियो । विज्ञहरूले पनि विश्व स्वास्थ्य संगठनको सुझावअनुसार नै कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा आउने अनुमान गरेका थिए । बजेटले फेरि जनतालाई निराश बनाएको छ । तर पनि बजेटमा सरकारले स्वास्थ्य क्षेत्रको भौतिक निर्माणमा लगानी बढाउने कुरा समावेश गरेको छ । काठमाडौं उपत्यकामा र सबै प्रदेशका राजधानीमा सरूवा रोग अस्पताल निर्माण गरिने, त्यस्तै सरकारी अस्पतालमा थप आइसियू बेड स्थापना गर्ने घोषणा भएका छन् । तिनको कार्यान्वयन भरपर्दो हुनुपर्छ ।
स्वास्थ्य क्षेत्र पुनर्निर्माणका लागि आवश्यक पर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्मानजनक व्यवस्थापन गर्न आवश्यक छ । सधैं बिरामी स्पेसलिस्ट सेवा लिनलाई काठमाडौंतिर भौंतारिनुपर्ने हो भने देशमा संघीयताको कुनै अर्थ छैन ।
विगतमा राज्यले न चिकित्सकको लोकसेवा खुलाउनमा कुनै चासो देखायो न विशेषज्ञ चिकित्सक अध्यापनको सिट सङ्ख्या बढाउन आवश्यक ठान्यो । सरकारी र गैरसरकारी अस्पतालबीच समन्वय गरी बर्सेनि सयौं चिकित्सकलाई विशेषज्ञता हासिल गराउन चिकित्सा शिक्षा आयोगमार्फत पिजी र स्पेसलिस्ट अध्ययन अध्यापनको दायरा बढाउन सकिन्छ ।
एकातिर हामी कोभिडसँग लडिरहेका छौँ भने अर्कोतिर यो समयलाई स्वास्थ्य सेवा सुधारका अवसरका रूपमा पनि लिनुपर्छ । कोरोना भाइरसको महामारीले स्वास्थ्य क्षेत्र पुनर्निर्माणको आवश्यकता महसुस गराएको छ ।
कोभिड–१९ परास्त गर्न अब के गर्ने ?
कोभिड–१९ उपचारका लागि या त यसको अचूक औषधि या खोप विकास हुनु जरुरी छ । खोप मात्र स्थायी समाधान हो तर त्यो कहिले बन्छ र हामीकहाँ कहिले आइपुग्छ भन्ने अनिश्चित छ ।
नेपालमा संक्रमणको दर तीव्र गतिमा बढेको छ । बिहीबारसम्म ४ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भइसक्यो ।
सरकारले संक्रमणको दर हेरी लकडाउन कम वा बढी गर्ने र हामी सामाजिक दूरी र आफू सुरक्षित रहेर गतिविधिलाई निरन्तरता दिने तथा आर्थिक गतिविधि बढाउँदै लान आवश्यक छ ।
हाम्रा स्रोत साधन सीमित छन् । राज्य व्यवस्था चुस्त र व्यवस्थित छैन । यस्तो अवस्थामा महामारी नियन्त्रणमा आम नागरिकको पनि उत्तिकै सहयोग आवश्यकता पर्दछ । यस्तो अबस्थामा सबैले सावधानी अपनाऔं । आतंकित नबनौं । महामारीबाट बच्न आआफ्नो जिम्मेवारी निवार्ह गरौं ।
अब कोरोना भाइरससँगै जिउने हो । कोरोनासँगै हामीले महिनौं अथवा वर्षौंसम्म बस्नुपर्ने हुनसक्छ । अदुवा, लसुन, बोझो, बेसार सब बेकार छन् । यो भाइरस हामीसँग लामो समयसम्म रहनेछ । अब कोरोनासँगै बाँच्नुको विकल्प छैन ।
(लेखक काठमाडौँ मोडेल अस्पतालका वरिष्ठ चिकित्सक तथा नेपाल स्वास्थ्य अनुसन्धान परीषदको जर्नलमा प्रमुख सम्पादक छन् ।)
प्रकाशित: ३० जेष्ठ २०७७ ०६:४७ शुक्रबार