७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

ताङतिङ कलिङ

ग्रामीण पर्यटन

कास्कीको ताङतिङ गाउँमा आन्तरिक पर्यटकलाई बिदाई गर्दै आमा समूह ।

पूर्वाधार विकासमा जोड दिई राम्रो मार्केटिङ गर्न सके नेपालका प्रत्येक गाउँलाई ‘पर्यटन गाउँ’ बनाउन सकिन्छ । हाम्रो ताङतिङमा पनि पर्यटनको घाम झुल्किसकेको छ ।  पोखराबाट २१ किमि उत्तरपूर्वमा अवस्थित ताङतिङ सुन्दर गाउँ हो । गाउँ सामुन्ने अन्नपूर्ण र लमजुङ हिमशृङ्खला छन् । ग्रामीण जीवनशैली र गुरुङ संस्कृति अध्ययन गर्न गाउँ उपयुक्त छ । पदयात्राका लागि वरपर रमणीय डाँडापाखा पनि छन् ।  

हाम्रो गाउँको जनसंख्या १ हजारको हाराहारीमा छ जसमा ९० प्रतिशत गुरुङ हुन् । पर्यटनका साथै एकीकृत कृषि र पशुपालनको संभावना बोकेको छ हाम्रो गाउँले । गाउँमा पर्यटन विकासका गतिविधि भैरहन्छन् । म पनि पर्यटनमा जोडिएको छु । पुराना कुरा खोतल्ने हो भने, दुई दशकअघि नेपाल पर्यटन बोर्डको आयोजनामा पोखराको ड्रयागन होटलमा घरबास (होमस्टे) तथा ग्रामीण पर्यटन सम्बन्धी कार्यशाला भएको थियो ।  

कोरोना भाइरसको उकुसमुकुस सकिएपछि हाम्रो ताङतिङ जस्ता गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्नेमा हामी आशावादी छौं । त्यसैले तपाइँ पनि हाम्रो गाउँमा घुम्ने योजना बनाउँदै गर्नुस् है ! 

त्यहाँ नेपालमै पहिलोपटक होमस्टे सुविधासहित ग्रामीण पर्यटन शुभारम्भ गर्ने सिरुबारी, स्याङ्जाका क्याप्टेन रुद्रमान गुरुङ (ग्रामीण पर्यटनका पिता), पर्यटनविज्ञहरू टोनी पार, पदम केसी लगायत हिमाल, पहाड र तराईका सहभागीको जमघट थियो ।

 हामीले ताङतिङ गाउँको प्रतिनिधित्व गरेका थियौं । त्यही दिन ममा ग्रामीण पर्यटनमा केही गर्नुपर्छ भन्ने उत्प्रेरणा जागेको थियो । तर शैक्षिक अभियानमा लागेकाले पर्यटन विकासमा धेरै समय दिन सकिनँ ।  

हामीले २०६३÷०६४ सालबाटै विष्णु गुरुङको अगुवाइमा गाउँमा आउने पाहुनालाई ताङतिङका शुभेच्छुक बेलायती शिक्षाविद् जोन रेली दाइको घर (हालको ताङतिङ गेटटुगेदर लज)मा राख्न शुरू गरेका थियौं ।  

ताङतिङको प्रचार गर्न २०६२ सालदेखि नै मैले पत्रकार साथीहरूसँग हातेमालो गर्दै आएको छु । बेलाबेलामा पत्रकारलाई निजि खर्चमा गाउँ घुमाउँछु । साथीहरूले पत्रपत्रिका, अनलाइन, रेडियो र टिभी मार्फत हाम्रो गाउँको प्रचार गर्दै आउनुभएको छ । मैले पनि कहिलेकाहीँ गाउँका विषयमा मिडियाहरूमा लेख्ने गरेको छु ।  

समय आफ्नो धुनमा बित्दै थियो । विसं २०७० मा कोरियास्थित युगनाम विश्वविद्यालयमा पार्क चु हि स्कुल अफ पोलिसी एण्ड स्यामुलमा छात्रवृत्ति पाएँ । मैले विद्यालयमा बेतलवी बिदा लिएर डेढ वर्ष कोरियामा पढें । त्यहाँबाट सार्वजनिक नीति, नेतृत्व र आर्थिक विकासमा स्नातकोत्तर उत्तीर्ण भएँ । त्यसभन्दा पहिल्यै भूगोलमा एमए गरेको थिएँ । यसरी डबल डिग्री गर्ने साइत जु¥यो ।

विसं २०७१ चैतमा म ताङतिङ फर्कें । कोरियाको औद्योगीकरण देखेर मैले ग्रामीण पर्यटनमा टेवा पु¥याउन २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्काएको आफ्नो घरलाई व्यवस्थित गरें । पुरानो घरमा दुइटा कोठा थपें । अट्याच बाथरुमसहितका कोठा ।    

पछि पिंढीको छेउमा समेत एउटा कोठा बनाएर मूलघरमै २०७३ सालबाट ‘ताङतिङ होलिडे एण्ड गुरुङ होम’ चलाउन शुरू गरें । हाम्रो लज जीवनसाथी नेत्रकुमारीका नाममा दर्ता गरिएको छ ।  

अचेल म बिहानबेलुकाको समय पर्यटकसँग बिताउँछु । यस अभियानमा विष्णु, धरीमाया दिदी र जीवनसंगी नेत्रकुमारीले सघाउँछिन् । हाल ताङतिङका १४ घरमा होमस्टे सुविधा छ भने ६ वटा होटल सञ्चालनमा छन् । हामी सबै पाहुनालाई न्यानो आतिथ्यको साथ मीठो खाना खुवाउँछौं ।  

तीन वर्ष यता ताङतिङमा पर्यटक बढिरहेका छन् । ग्रामीण पर्यटनले गर्दा किसानले उत्पादन गरेका धान, मकै, सागसब्जी, कुखुरा, खसी, बोका, दूधदही आदिको खपत बढ्दो छ । होमस्टे, होटल तथा लज चलाएर गाउँमै जीविकोपार्जन गर्ने वातावरण बनेको छ ।  

हाम्रो गाउँमा हेर्न, अनुभव गर्न र रमाउन धेरै चीज छन् । मनोरञ्जन, योग र ध्यान केन्द्रका रूपमा हामी ताङतिङको विकास गर्दैछौं । 

आजभोलि ताङतिङको प्रचारमा जोड दिएको छु । त्यसका लागि स्थानीय जनप्रतिनिधि, संघसंस्था र गाउँलेसँग हातेमालो गर्दै छु । हामीले दश वर्षपछिको सुन्दर ताङतिङको परिकल्पना गरेका छौं । त्यतिबेला पर्यटनकै कारण ताङतिङको कायाकल्प भैसक्नेछ । त्यसैले एकीकृत कृषि उत्पादनसँग जोडेर हामी मर्यादित पर्यटनको अभ्यास गर्दैछौं ।  

ताङतिङलाई देशविदेशमा चिनाउन ‘जाउँजाउँ ताङतिङ’ अभियान पनि चलाइरहेको छु । सामाजिक सञ्जालले सदुपयोग गर्दै ‘वि लभ ताङतिङ’ पेज मार्फत सूचना सम्प्रेषण गरिरहेको छु ।  

समग्र ताङतिङको पर्यटन विकासमा नेपाल सरकार, गण्डकी प्रदेश सरकार, मादी गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, स्थानीय संघसंस्था र गाउँले लागि परेका छन् ।  

शैक्षिक अभियानका साथै गाउँलाई उत्पादनशील क्रियाकलापमा जोड्न पहल गरिरहेको छु । पर्यटनका साथसाथै पशुपालन र एकीकृत कृषिमा पनि मेरो अभिरुचि छ ।  

हाम्रो अभियान सफल बनाउन सिएफपि ग्रिन बिल्डिङ नेदरल्याण्डले गाउँका होटल तथा सामुदायिक होमस्टेलाई फर्निचर सहयोग गरेको छ । साथै ताङतिङको  वेवसाइट निर्माण, वृत्तचित्र, पर्यटकीय नक्सा, बुकलेट उत्पादनका काममा पनि सहयोग गरेको छ ।  

उपर्युक्त सबै काम ‘ग्रामीण जनताको लागि उज्यालो बहुउद्देश्यीय सिकाइ केन्द्र’को समन्वयमा भयो जसको नेतृत्व मैले गरेको छु । यसरी बिहानबेलुकीको समय सदुपयोग गर्दै समय र श्रमलाई उत्पादनशील काममा लगाउन पर्यटनमा जोड दिएको हुँ ।  

हाम्रो गाउँमा हेर्न, अनुभव गर्न र रमाउन धेरै चीज छन् । मनोरञ्जन, योग र ध्यान केन्द्रका रूपमा हामी ताङतिङको विकास गर्दैछौं । पदयात्राका हिसाबले कुरा गर्ने हो भने ताङतिङलाई केन्द्रमा राखेर मनाङ, लमजुङ, घलेखर्क, क्रबुडाँडा, याङ्जाकोट लगायत धेरै ठाउँमा जान सकिन्छ ।  

ताङतिङबाट अन्नपूर्ण र लमजुङ हिमाल आँखैअघि देखिन्छन् । गाउँदेखि ४० मिनेट हिँडेमा नौचु डाँडा (२,०४७ मिटर) पुगिन्छ जहाँबाट माछापुच्छे, अन्नपूर्ण, लमजुङ हिमशृङ्खला, पोखरा आसपासका गाउँबस्ती देखिन्छन् ।  

गाउँबाट चार घण्टामा क्रबुडाँडा (३,०८५ मिटर) पुगिन्छ जहाँबाट अन्नपूर्ण, लमजुङ, माछापुच्छ«े, हिउँचुली, मनास्लुसहित दशभन्दा बढी हिमाल देख्न सकिन्छ । पोखरा, कास्की र लमजुङका गाउँ त देखिने नै भयो ।  

क्रबुडाँडामा हिउँदमा हिउँ खेल्न र लालीगुराँस हेर्न मजा आउँछ । क्रबुडाँडासम्म हिउँदमा एक घण्टामा जीप वा मोटरबाइकमा जान सकिन्छ । यो बाटो हुँदै तमूहरूको आदिम थलो क्होंलासोथर दुई दिनमा पुगिन्छ । ताङतिङ, क्रबुडाँडा, चोरोडाँडा, सिन्कु खोला, खोला क्लि भर्जिन ट्रेकमा रमाउन सकिन्छ ।  

क्रबु, चोरोडाँडा आसपासमा अब टि हाउस, होटल तथा लज व्यवस्थापन गर्न सके पर्यटन फस्टाउने छ । ताङतिङ पर्यटनमा बामे सर्दै छ । यसरी सुखद भविष्यको संकेत मिलिसकेको छ ।  

हरेक कुराको राम्रो र नराम्रो दुवै पाटो हुन्छ । पर्यटनका नराम्रा पाटा मेटाउँदै ताङतिङलाई नमूना गन्तव्य बनाउने छौं । त्योबेला गाउँको आर्थिक मेरुदण्ड पर्यटन बन्नेछ ।  

सत्कर्मको नेतृत्व हाम्रै पुस्ताले गर्नुपर्छ । त्यसैले म बाँकी जीवन पर्यटन र शैक्षिक उन्नयनमा उपयोग गर्नेछु ।  

यतिबेला कोभिड–१९ बाट बच्न हामी लकडाउनमा छौं । कोरोना भाइरसको उकुसमुकुस सकिएपछि हाम्रो ताङतिङ जस्ता गाउँहरूमा आन्तरिक पर्यटकको भिड लाग्नेमा आशावादी छु । त्यसैले तपाइँ पनि हाम्रो गाउँमा घुम्ने योजना बनाउँदै गर्नुस् है ! (हिमालय मिलन मावि ताङतिङ, कास्कीका प्रधानाध्यापक प्रकाश गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’ को एक अंश ।)

 

प्रकाशित: १८ जेष्ठ २०७७ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App