सौरभ लुइटेल
कोठाभित्रै थुनिएर बसेको ९औं दिनसम्म हामिलाई कोठाको बत्तिबाहेक अरु कुनै ठाउँबाट उज्यालो आउँदैन होला जस्तो लाग्थ्यो। तर १ फ्रेब्रुअरीमा दिनको करिब ५ बजेतिर नेपाली दूतावासले सुरु गरेको विच्याट समूहमा पनि उज्यालो छाउने सूचना थियो, नेपालले उहानबाट आफ्ना नागरिकलाई उद्दार गर्ने, घर फर्कन इच्छुकले फर्म भर्नुपर्ने।
एकाएक अवस्था फेरिने भयो भनेर हामीले फारम भर्यौं। करिब १०/१२ घण्टाको अवधिमा लगभग सबैले सिध्यायौं। करिब १८० जना, हाम्रा परिवार, साथिभाइ र शुभचिन्तकहरु उत्साहित भए। कम्तिमा यो भएको अवस्थाबाट आफ्नो घर फर्किन पाइन्छ भनेर। दिन बित्दै गयो, एक, दुई, तीन।
पाँच, छ दिन बित्यो अहँ कुनै घर फर्कने आधिकारिक सूचना आएन। त्रासमा बस्न बरु अलि सहज थियो, कम्तिमा बाटो थिएन, बिकल्प थिएन तर त्रासबाट निकाल्छु भनेर आश्वासन दिएर पर्खाइमा बस्नु अत्यन्तै पीडादायी हुँदोरहेछ। यो अर्थमा चीनमा रहेको नेपाली दूतावास र नेपाल सरकारले हामीलाई झुक्याएको छ।
सँगै पढ्ने विदेशी विद्यार्थी सबैलाई उनीहरुको सरकार र दूतावासले घर फर्काइसक्यो । हाम्रै छिमेकी देश भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंकाले आफ्ना नागरिकलाई फिर्ता लगिसकेको ३ दिन भन्दा बढी भैसकेको छ। हरेक स्वाभिमानी नागरिकको मनमा एउटा कुरा हुँदोरहेछ, त्यो हो आफू जन्मिएको, नागरिकता लिएको र पासपोर्ट बोकेर हिँडेको मातृभुमी आफ्नो नागरिकहरुप्रति जिम्मेवार भैदियोस्। मध्यरातमा देशले पढ्न पठाएको विद्यार्थीले ‘कहाँ छ मेरो देशू भनेर सोच्नुपर्ने हो?’
नेपाल सरकारले मानोस नमानोस्, अधिकांश विद्यार्थीको मन र मस्तिष्कमा अहिले एउटा गहिरो चोट परेको छ। हरियो पासपोर्ट बोक्नुको अर्थ हराएको छ, कोरोना भाइरसले भन्दा हरियो पासपोर्टको शून्य ओजले बढ्ता त्रासदी दिएको छ। विषम परिस्थिति र अवस्थाबाट भयभित हुँदा, आफ्नै देशको माटो देउ, पानी देउ, भविष्यको लागि आश देउ र बाँच्नको लागि सास देउ भनेर माग्दै गर्दा दिन चुक्यो भने देश र देशभक्ति कुनै पनि नागरिकका लागि अन्तिम सत्य नहुने रहेछ।
गन्दा गन्दै १६ दिन बित्यो, एउटा कोठमा सीमित भएको। तपाईं कोही पनि उहान बाहिर बसेर यहाँको जनजीवन कल्पना गर्नसक्नुहुन्न, यदि गर्दैहुनुहुन्छ भने त्यो दुस्साहस छाडिदिनुहोस्। यतिबेला अधिकांश हामी छाक गनेर खाना खान बाध्य भएका छौं। पिउने पानीको समस्या छ, बाहिरको स्थिती २० को १९ भएको छैन, संक्रमणको झनै बढ्दो स्थिती छ। निस्कने माहोल छैन, त्रास उस्तै छ, समस्या हरेक दिन बढ्दो छ। जोहो गरेको तरकारी सकियो, केही गेडा आलु र रित्तिदै गएको चामल र दालका बट्टा हेरेर खान पुग्ने दिन गन्नुपरेको छ। बजारमा प्रोटेक्टिभ मास्कको अभाव छ, हामीसंग भएका मास्क सकिए, भएको स्यानिटाइजर सकियो।
यो पीडा कुनै भौंतारिएर हिँडेको गल्लिको पागल प्रलाप होइन, यो विचार कुनै क्षणिक आवेग पनि होइन। यो आफ्नो नागरिकप्रति गैरजिम्मेवार, अवहेलना गर्ने राज्य र व्यवस्थाले आशा, भरोसा र सपना कुल्चिएपछि निस्किएको एउटा विद्यार्थीको कठोर अभिव्यक्ति हो।
भएकै कुरो पकाउन किचेन जानुपर्छ, इन्डक्सन चुलो, माइक्रोवेव छुदाँ कसकसले छोयो होला भनेर डरले हरेक पटक मुटु थररर काँप्छ, फोहोर फाल्नमाथिका तलाबाट पहिलो तल्ला झर्नुपर्छ, हरेक पल्ट तल झर्दा र माथि चढ्दा लिफ्टको बटम छुनुपर्छ। कसैले कतै खोक्यो, हाच्छ्युं गर्यो भने तनावको सुइरोले पहिलो तल्लादेखि एघारौं तल्लासम्मको टाउको दुख्छ। भाइरसको संक्रमणकालिन समय २ देखि १४ दिन भनिएको छ, उहान ले १४ दिन आइसोलेट भएको दिन त काट्यो, हामीले पनि साथसाथै काट्यौं तर किचेन छिरेपछि, फोहोर फालेपछि, अर्को व्यक्तिलाई देखेपछि हाम्रो भने नयाँ १४ दिन सुरु हुने गरेको छ।
सरकारले यदि अहिल्यै अहिले लगेर १४ दिन क्वारेन्टाइन अर्थात छुट्टै शिविर वा अस्पतालमा राखेर निगरानी गर्दा ठूलो जोखिम हुनेछैन र जोखिमकै कुरालाई लिएर ढिलो भैरहेको छ वा सरकार चिन्तित छ भने हामीबाट जोखिमको चिन्ता नगरे हुन्छ। हामीसंग भन्दा एयरपोर्ट वा अन्य नाकाबाट नेपाल छिरिसकेका चिनियाँ पर्यटक वा देशकै अन्य नागरिकबाट हुन सक्ने जोखिमबारे चिन्ता गर्दा उचित हुनेछ।
कोरोना भाइरसकै शंका गरिएका चिनियाँ नागरिक पोखराबाट सम्पर्कविहिन हुँदा चिन्ता नगर्ने सरकार यो लम्बेतान नाटक केलाई गर्दैछ ? भाइरस पत्ता लागेपछि तर उहान लकडाउन हुनभन्दा अगाडि निस्केका हाम्रै साथीहरु र नागरिक हामी उहानबाट, चिनबाट आएका हौं हाम्रो परीक्षण गर्नुपर्यो भन्दै स्वयं शुक्रराज ट्रपिकल अस्पताल, टेकु जाँदा पनि, लक्षण देखिएपछि आउनु अहिले किन आको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएर पठाउने सरकार यहि कुरामा यति गम्भीर छ भन्नू र देखाइनु ढोङ मात्रै हो।
त्यैमाथि हालसम्म यहाँ भएका हामी कोही विद्यार्थी वा नागरिकलाई भाइरस वा लक्षण देखिएको छैन, र सम्भावित उद्दार प्रक्रियामा भाइरस संक्रमण गर्ने अवस्थालाई ध्यानमा लिइरहँदा, हामी धेरैजसो आफैँ चिकित्सा वा जिव बिज्ञानका विद्यार्थी भएकाले पनि सुरक्षित हुने तरिका बुझेका छौं र अरुलाई पनि संक्रमण हुन नदिन सक्ने कुरामा पुर्ण विश्वस्त छौं भन्ने कुरा सरकारले बुझ्न जरुरी छ। यति भन्दै गर्दा, हामी सुरक्षित नै छौं नेपालमा पनि हुनेछौं भन्ने कदापि होइन, हामी आफुलाई नेपाल पुगेपछि पनि १४/१५ दिन पुर्णरुपले क्वारेन्टाइनमा राखिनुपर्ने र सरकारले त्यसको व्यवस्था यथाशीघ्र गर्नुपर्ने भन्दै आइरहेकै छौ।
होइन भने सरकारले हामी कतिलाई संक्रमण भएपछि वा हामी कति मरेपछि लास र साससंगै लैजाने हो, यकिन गरेर संख्या तोकिदिए हाम्रा बाँकीका दिन र रातहरु पर्खाइमा बित्ने थिएनन्। देशमा स्रोत र साधन छैनन, हो छैन तर यस्तो विषम परिस्थिति र अन्तरास्ट्रिय जगतले हेरिरहेको अवस्थामा साधन जुटाउन नखोज्नु र नसक्नु एकदमै दयनीय र अक्षम्य
छ। देश गरिब भएकोमा हामी जनताले केही माग्न हुँदैन है भन्ने मनोविज्ञान जुन स्थापित भएको छ त्यो हट्नु जरुरी छ। काल्पनिक गरिबी सिर्जना गरेर देश लुटिएको कयौं उदाहरण हामीलाई थाहा नभएको होइन।
जनता गरिब हुन् देश गरिब छैन, गरिब जनताको पसिना निर्यात गरेर जुटेको राज्यको सम्पत्तिमा (अन्य कुरामा कलम थाती राख्दै) रास्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, र वर्तमान तथा भुतपूर्व भिआइपीहरुले देश विदेशमा उपचारकै नाममा अरबौं दोहन गराएको राष्ट्रले नागरिकले अधिकांश विद्यार्थीहरु जो राष्ट्रका भविष्य हुन् भन्ने गरिन्छ) विषम परिस्थिति भोगिरहेर घर फर्किन चाहन्छु भन्दा १८० जनाको लागि बस्ने ठाउँको निर्क्यौल गर्न चीनले २३ सय शैयाको दुई नयाँ अस्पताल बनाउने समयभन्दा बढी लगाउनु कत्तिको लज्जास्पद र हिनताबोध गराउने कुरा हो मैले लेख्न सकिरहेको छैन।
नजिकैको सयौंको चित्कार सुन्दै नसुनेर बाहालवाला मन्त्रीले चीनमा रहेका नेपाली नागरिक समस्यामा नपरेको, तीन छाक खाना खुवाएर राखेको बताउँदै नेपालमा पनि आइसोलेसनमा राख्नुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने भएकाले उद्धार गर्न विलम्ब भएको भन्दै यत्रोदिन आलटाल गर्दै गर्दा कथित 'सतिले सरापेको' देशमा दुर्भाग्यवस जन्मेका त हैनौं भन्ने महशुस भैरहेको छ।
तिम्रो देशले लैजान्छ भने तिम्रो देश फर्की जाऊ भनेर चिनले भन्दै गर्दा जब राष्ट्र र व्यवस्था आफ्नो नागरिकको सच्चा सेवक र संरक्षक हुन सक्दैन भने, कोही पनि नागरिक देशप्रतिको मायाले वशीभुत हुनेसक्ने छैन। व्यक्ति र व्यवस्थाले नागरिकको आपतमा उद्धारका लागि बिगुल फुक्दैन भने देशले कस्को चाहिँ भलो गर्छ, यो प्रश्नले बारम्बार मस्तिष्कमा सारङ्गी रेटिरहेको छ।
यो पीडा कुनै भौंतारिएर हिँडेको गल्लिको पागल प्रलाप होइन, यो विचार कुनै क्षणिक आवेग पनि होइन। यो आफ्नो नागरिकप्रति गैरजिम्मेवार, अवहेलना गर्ने राज्य र व्यवस्थाले आशा, भरोसा र सपना कुल्चिएपछि निस्किएको एउटा
विद्यार्थीको कठोर अभिव्यक्ति हो।
ह्वाचोङ कृषि विश्वविद्यालय, उहान, चाइना
प्रकाशित: २४ माघ २०७६ ११:३४ शुक्रबार