६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

‘एकान्त भीड’ सार्वजनिक

कवि अमृतको ‘एकान्त भीड’ लोकार्पण भएको छ। पुछारसिटे अभियानले आयोजना गरेको एक समारोहका बिच वरिष्ठ साहित्यकार सरुभक्त र साहित्यकार एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कृतिको लोकार्पण गरे।

कृतिको लोकार्पण समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै सरुभक्तले कविता लेखनमा कविले स्वतन्त्र उडान गर्न पाउनुपर्ने बताए। स्वयंमा शालीन र कोमल हुने भएकाले कविताको कित्ताकाट गर्न नहुने कुरामा उनको जोड थियो।

कविलाई सीमामा बाँध्नु उचित नहुने उल्लेख गर्दै उनले कविता पढ्ने मन त्यति सुन्दर हुनुपर्छ जति भीरमा फुलेको फूल हेर्ने आँखा सुन्दर चाहिन्छ। नेपाली कवितामा अमृतको उपस्थिति निकै भरोसालाग्दो बनेर उभिएको बताउँदै उनका कवितामा जीवन र समाजको सुन्दर प्रतिबिम्ब आएको बताए।

समारोहमा बोल्दै कवि तीर्थ श्रेष्ठले सूत्रात्मक अभिव्यक्तिमा कविता बुन्न कवि अमृतले कुशलता देखाएको बताए। कविता आफैंमा छोटो अभिव्यक्ति भएकाले यसलाई अनावश्यक शब्दको बोझ बोकाउनु उचित नहुने कुरामा उनले विशेष जोड दिए।

कार्यक्रममा अतिथिका रूपमा बोल्दै कवि सरस्वती श्रेष्ठ ‘सरू’ले कवि अमृत पछिल्लो समय निकै क्षमतावान् बनेर उदाएकोमा आफूलाई खुसी मिलेको बताइन्।

कृतिको समीक्षा गर्दै समीक्षक सञ्जीव पौडेलले कविता संग्रहमा कवि अस्तित्ववादी, विसंगतिवादी, प्रकृतिप्रेमी, देशभक्तिको भावना प्रमुख रूपमा मुखरित भएको बताए। उनले बहुविषयमा आधारित रहेर कोमल अभिव्यक्ति दिने कार्यमा कवि अमृत संग्रहमा सफल रहेको सुनाए।

कवितामा कोमलता हराउँदै गएको वर्तमान अवस्थामा अमृतले त्यसलाई फेरि जगाउने कार्य गरेको भन्दै उनका कवितामा दार्शनिकता प्रमुख विशेषता बनेर उपस्थित भएको कुरा व्यक्त गरे। कृतिले कोमल, शिक्षित र बौद्धिक पाठकको अपेक्षा गर्ने समेत बताए। अमृतका कवितामा शहरीकरणको रुखोपन, आमाको महानता, राजनीतिक विकृतिमाथिको शालीन विद्रोह, वैदेशिक रोजगारका व्यथा आदि विषय र स्वर प्रमुख रूपमा अभिव्यक्त भएको बताए।

समारोहमा कवि अमृतले आफ्ना कविताका रचनागर्भ र जीवनका अनुभूतिहरू सुनाए। कार्यक्रममा कवि ईश्वरमणि अधिकारी, दीपक समीप, चन्द्रवीर तुम्बापो, मीना श्रेष्ठ, मोहन भण्डारी लगायतले शुभकामना दिएका थिए।

प्रकाशित: ३० फाल्गुन २०७८ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App