६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

साहित्यकार ओममणि शर्मालाई धनमान कथा पुरस्कार

लघुकथा समाज नेपालले धनमान कथा पुरस्कार २०७८ साहित्यकार ओममणि शर्मालाई प्रदान गरेको छ। संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा उनकै निवास बखुण्डोल, पाटनमा आयोजित कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो।

संस्कृतिविद् सत्यमोहन जोशी, लघुकथा समाजको केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, महासचिव तुलसीहरि कोइराला, प्राडा. लक्ष्मण गौतम, नाटककार अशेष मल्ल र रामप्रसाद पन्तले संयुक्त रूपमा उक्त पुरस्कार हस्तान्तरण गरेका थिए।

कार्यक्रम सञ्चालनको क्रममा लघुकथा समाजका महासचिव तुलसीहरि कोइरालाले धनमान साहित्य पुरस्कार २०७५ सालदेखि दिंइँदै आएको बताए। उनले यसपटक कथा विधाको पुरस्कारको पालो परेको र ३० को दशकदेखि निरन्तर कथा तथा नाटक क्षेत्रमा साधनारत साहित्यकार ओममणि शर्मालाई प्रदान गरिएको बताए। कथा लेखनको संस्थागत विकासमा अमूल्य योगदान दिएबापत उनलाई सो पुरस्कार प्रदान गरिएको हो। उनलाई सम्मानपत्रसहित १५  हजार १ सय रुपियाँ नगदराशिले सम्मान गरिएको हो।

प्राडा लक्ष्मणप्रसाद गौतमले साहित्यकारद्वय पुरस्कार प्रदान गर्ने र पुरस्कृत हुनेहरूको कथायात्रा आफूभन्दा ७, ८ जेठो रहेको बताउँदै सो समयदेखि हालसम्म सिर्जनारत रहनुले गौरवको अनुभूति भएको बताए। शताब्दी पुरुष सत्यमोहन जोशीको यो आँगनीमा यो कार्यक्रम हुनु आफैंमा ऐतिहासिक रहेको पनि उनले बताए।

लघुकथा समाज नेपालका सल्लाहकार समेत रहेका नाट्यकर्मी अशेष मल्लले ओममणि शर्मा तिसको दशकदेखि कथा तथा नाट्य क्षेत्रमा कलम चलाउँदै आएको बताए। उनले भने, ‘शर्माको छाप’ कथा संग्रह साझा प्रकाशनबाट छापिएको छ। यस्तै उनका विभिन्न पत्रपत्रिकामा लघुकथाहरू छापिएका छन्।’

लघुकथा समाजका श्रीबाबु कार्कीले गर्मीमा शीतल अभिवादन भन्दै स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा धनमान श्रेष्ठकृत ‘धनमान श्रेष्ठः व्यक्ति एक आयाम अनेक’ पुस्तक पनि विमोचन गरिएको छ।

शताब्दी पुरुष सत्यमोहन जोशीबाट विमोचन गरिएको उक्त पुस्तक सिर्जना अभियान समाज भक्तपुरले छापेको हो। दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले विमोचित कृति निकै पठनीय रहेको बताए।

कथाकार धनमान श्रेष्ठले कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै स्वास्थ्यले साथ दिए नयाँ कृति लिएर नेपाली साहित्य देखापर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २९ फाल्गुन २०७८ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App