६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

प्रेमका कुरा

प्रेम दुई प्रेमीबीच होस्। बाबुआमा, छोराछोरीबीच होस्, साथीभाइबीच प्रेम होस् र प्रेममय समाज बनोस्। आहा संसार कति सुन्दर हुने थियो। हुन त यी सब भावनाका कुरा हुन् तर भावना यति गहिरो छ कि यो मानव समाजको व्यवहारसँग पनि जोडिन्छ।

प्रेम दिवस भनेर मनाइने ‘भ्यालेन्टाइन्स डे’ जतिजति नजिक हुँदै छ, उति नै प्रेमका परिभाषा, व्याख्या, खिल्ली, हाँसो मजाकका तरंग पनि बढिरहेका छन्, सामाजिक सञ्जालदेखि मिडियासम्ममा। तेस्रो शताब्दी अनि भ्यालेन्टाइनका बारेमा पढ्दा भने प्रेमविरुद्ध युद्ध अनि प्रेम दिवसको र्सिजना भएको भन्ने देखिन्छ। जेहोस् आतंक, हत्याबाट साम्राज्य खडा हुन सक्छ तर प्रेम होइन। ‘भ्यालेन्टाइन्स डे’लाई लिएर प्रेमका कैयौं विचार फैलाउन मद्दत पुग्छ नै।

समाचारमा आए अनुसार, नेपालले ‘भ्यालेन्टाइन्स डे’लाई लक्षित गरेर दुई लाख थानभन्दा बढी गुलाबका फूल आयात गर्दै छ। केही दिनदेखिका वातावरणीय प्रभावले स्वदेशमै भएका गुलाबले जम्मा १० प्रतिशत मात्रै माग पूरा हुनेछन् र बाँकी आयात गर्नुपर्नेछ। थाहा छैन, यसपालि कति जोडीले फूल दिएर माया दर्शाउने हुन्!

हालसालै सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा मृत्यु भयो। उनी यस्ती जादुमयी स्वर भएकी गायिका थिइन्। यही कारण भारतले दुई दिनसम्म उनको मृत्युको शोक मनायो। लताले सुरिलो स्वरमा सयौँ प्रेमका गीत गाएकी छन्। प्रेममा पर्ने वा वियोग भोग्ने सबैले लताको स्वरका विभिन्न गीत गुनगुनाउँछन्। तर, लताको जीवनमा प्रेम? कतै पढियो– लताले जसलाई प्रेम गर्थिन्, ऊसँग विवाह हुने सम्भावना भएन, त्यसैले उनी र उनका प्रेमीले आजीवन अविवाहित बसेर एकअर्कालाई प्रेम गरिरहे।

मेरा एक फेसबुक मित्रले प्रश्न गरे– प्रेम परिधि हो कि स्वतन्त्रता? सायद उनलाई पनि जान्नु थियो, वास्तवमा प्रेम के हो? म यो प्रश्नमा खासै डुबेकी रहिनछु र मैले हल्का जवाफ फर्काएँ– प्रेम कुनै परिधि पनि होइन र स्वतन्त्रता पनि होइन, यो एउटा भावना हो।

म देख्छु किशोर किशोरी एकअर्काको प्रेममा चुर्लुम्म डुबेर हात समातेर हिँडिरहेको। कतै सुन्छु, प्रेममा ब्रेकअप भयो भनेर हातनाडी काटेर रगताम्मे भएको अनि डिप्रेसनमा परेको।

कोही प्रेम हुनुभन्दा पहिले उही सपनाको गहिराइमा पुग्छन्– प्रेमी या प्रेमिका यस्तो होस् उस्तो होस् भनी कल्पना गर्छन्। यति पढेको, यति धनी, यस्तो रूप, यति खान्दानी, यति मायालु आदि कल्पना गरिबस्ने र वास्तविकतामा पनि यस्तै विशेषता खोज्ने जमात पनि नभएका होइनन् हाम्रो समाजमा।

म आफैं एक महिला, म पनि सोचिबस्थेँ– मेरो विचार, वर्ग, भावनाको कदर गर्ने मान्छे हुनुपर्छ। मैले आफ्ना कतिपय कुरा हुनेवाला जीवनसाथीलाई राखेकी पनि थिएँ। संयोगवश हामी दुईको विचार, व्यवहार, कुरो मिल्यो र हामी एकसाथ वैवाहिक जीवनको १९ वर्षमा हिँड्दै छौं। सम्बन्ध हार्दिकतापूर्वक र प्रेमपूर्वक नै बितिरहेछ।

प्रेमले आनन्द महसुस गराउँछ। प्रेममा परेपछि हामीले गीत सुन्छौँ, घुम्छौँ, डुल्छौँ अर्थात् आफूलाई खुसी राख्छौँ। यो गहिरो महसुस हो। प्रेममा त्याग हुन्छ, बलिदान हुन्छ, न कि इष्र्या र घमण्ड अनि थिचोमिचो। एक युगल जोडी प्रेममा छन् भने उनीहरूले जीवनका साझा उद्देश्य पनि बनाउनुपर्ने हुन्छ र सोही अनुसार जीवन अगाडि लैजानुपर्ने हुन्छ।

चर्चित दार्शनिक ओशोका अनुसार, प्रेम जहिले पनि झुक्न राजी हुन्छ। अहंकार कहिले पनि झुक्न चाहँदैन। अहंकारसँग मितेरी लाउन गयौ भने अहंकारले आफ्नो हात अझ माथि गर्दछ। किनभने अहंकारले आफू बराबर कसैलाई हुनै दिँदैन। जसरी हामी जीवन जिउँछौं, प्रत्येकलाई यो अनुभव भएको होला कि सायद जीवनको केन्द्रमा प्रेम हुन्छ।

प्रेमलाई ठीक तरिकाले बुझ्नु जरुरी हुन्छ। जब प्रेम सफल हुन्छ, जीवन सारपूर्ण लाग्छ। जब प्रेम असफल हुन्छ, तब जीवन उद्देश्यविहीन जस्तो लाग्न थाल्छ। मानिसहरू जीवनभर प्रयास गर्छन्। जस्तो युद्ध प्रेमकै वरिपरि लडिन्छ। धन प्रेमकै वरिपरि जम्मा गरिन्छ। वैभवको भर्‍याङ प्रेमकै लागि पार गरिन्छ। संन्यास प्रेमकै लागि लिइन्छ। घरबार प्रेमकै लागि बसाइन्छ।

जीवनको समस्त चक्र प्रेमकै सागरबाट निस्कन्छ। प्रेमको आकांक्षा एक हुने आकांक्षा हो। प्रेमको मौलिक भाव एकता खोज्नु नै हो। तर शरीरको माध्यमबाट एकता खोज्दा कहिल्यै मिल्दैन। प्रत्येक अणु दोस्रो अणुबाट भिन्न हुन्छ र यो भिन्नता निरन्तर रहिरहन्छ, त्यसैले पदार्थमा प्रेम खोज्नु निरर्थक छ भन्ने भाव ओशोको प्रेम दर्शनमा पाइने रहेछ। खासमा मानिसले गर्ने हर उद्देश्यमूलक कार्य प्रेमकै लागि गरेको हुन्छ तर एकतामा समाहित हुन खोज्नु तर असम्भव हुनु नै प्रेमको चरित्र रहेछ कि!

प्रेमभावका वैज्ञानिक कुरा कति होलान्, पक्कै पनि गहिरो भावनाका अनेक् कारण होलान् ! समाज विज्ञानको व्याख्याबाट पक्कै पनि प्रेमको परिभाषा पूर्ण नहोला। डोपामाइन, नोरपाइनफ्रिन आदि हर्मोनले हाम्रो दिमागदेखि मुटुसँग गर्ने प्रतिक्रियाबारे वैज्ञानिक खानतलासी गर्नुपर्ने हुन्छ।

आफूले आफैँलाई स्वीकार गर्नु, आफ्ना भावनालाई स्वीकार गर्नु, जसका लागि भावना बनाइन्छ, उसको अस्तित्व पनि स्वीकार र सम्मान गर्नु र प्रेमकै भावनालाई लिएर जिन्दगीको उद्देश्यमा रमाउनु नै साँचो अर्थमा प्रेम रहेछ।

आफ्ना हिस्साका काम, कर्तव्य पूरा गर्नु, सहयोग भाव राख्नु र सहयोग गर्नु, आत्मसम्मान पनि प्रेम नै रहेछ। जोरजबर्जस्ती त बिल्कुल प्रेम होइन रहेछ। प्रेमको नाममा हत्या, हिंसा, बलात्कार पनि प्रशस्तै भएका छन् हाम्रो समाजमा। इतिहासमा लेखिएका कथा त झन् प्रेम हो कि नरसंहार हो जस्ता देखिन्छन्। रामायणमा शुपर्णखाले प्रेम प्रस्ताव राख्दा नाक काटिएका कथालाई के मान्ने? प्रेमको भावना पनि उसको रूप, जात, रंगले भिन्नाभिन्नै बनाउन खोजिन्छ। प्रेमका लागि योग्य भएका र प्रेमिल रंगमा डुबिरहेकालाई भन्नुपर्नेछ–प्रेम जबर्जस्ती लादिने र प्रेममा झुकाइ मात्रै हुन्छ भन्ने पनि होइन।

प्रेम जीवनको उद्देश्य हो, एक गहिरो भावना पनि हो। प्रेमले आत्मीयता बढाइदिन्छ, आत्मसन्तुष्टि पनि दिन्छ। प्रेमले अलग अस्तित्व, व्यक्तित्वलाई सम्मान गर्दछ। ढकमक्क फुलिरहेका फूलबाट पनि सिकौं न प्रेमका कुरा– कुनै इष्र्याबिना एउटै बगैंचामा पनि लटरम्म हाँस्दै फुलिदिन्छन् फूल। त्यसैले प्रेम ऊर्जा रहेछ, जसले हाम्रो परिवार समाज अनि समुदायलाई नै सकारात्मक दिशातिर पो लाने रहेछ। के हामी यस्तो प्रेमको कल्पना गर्न सक्छौं?

प्रेम पारस्परिक बुझाइले बढाउँछ अनि बफादारिता पनि प्रेमको निरन्तरताका लागि आवश्यक छ। एकपटक नकारात्मकताले भरिँदै गएका हाम्रा आनिबानी र अभ्यासलाई प्रेमको नजरले हेरौं– युगल प्रेममा रहेका प्रेमीले पनि र समाजका जिम्मेवार भूमिकामा रहेका हरेकले। 

हाम्रा ब्रेनबाट उत्सर्जन हुने प्रेमिल हर्मोन बढाउनतिरै लागौं, जसले मानवता मिश्रित प्रेम बढाओस्। प्रेम दुई प्रेमीबीच होस्। बाबुआमा, छोराछोरीबीच होस्, साथीभाइबीच प्रेम होस् र प्रेममय समाज बनोस्। आहा संसार कति सुन्दर हुने थियो। हुन त यी सब भावनाका कुरा हुन् तर भावना यति गहिरो छ कि यो मानव समाजको व्यवहारसँग पनि जोडिन्छ। न्याय, समानता, समता, शिक्षा, सभ्यता, मानवता झाँगिए मात्रै प्रेमिल संसार पनि झाँगिन्छ।

प्रकाशित: २९ माघ २०७८ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App