१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

आज मर्स्याङ्दी नदी सुसाइरहेछ

नेपाली जनमानसमा पहिलोपटक राष्ट्रकविको पदवी पाएका कवि माधव घिमिरे भौतिक रूपमा अब रहेनन्।  

कविवर माधव घिमिरे २०११ सालमा नुवाकोटको बाटो भएर लमजुङबाट काठमाडौं आएका थिए। काठमाडौंसँग त्यस समयदेखि जोडिएको उनको साइनो र स्मृति मंगलबार साँझ ५ः५५ मा अन्त्य भएको छ।  

कविवर घिमिरेलाई साहित्यिक वृत्तमा गीतकारको परिचय मास्टर रत्नदास प्रकाशको संगीत र स्वरले दिएको हो, उनको त्यो पहिलो गीत थियो–  

झमझम पानी प-यो असारको रात,  
बारीबाट बज्न थाल्यो मकैको पात...।

मास्टर रत्नदास प्रकाशको भाषामा यो पहिलो आधुनिक गीत हो, यही गीतबाट उनी श्रोताका माझ सम्मानका साथ पूजनीय गीतकार हुन पुगे।  

असारसँग जोडिएको उनको गीतकारिताको इतिहास भदौ महिनामा गएर टुंगिएको छ। असोज ७, १९७६ सालमा जन्मेका उनले लमजुङको पुस्तुन गाउँसित जोडेको साइनोले एक शताब्दी पूरा गरेको छ।

पिता गौरीशंकर शर्मा घिमिरे र माता द्रौपदीदेवी घिमिरेका सुपुत्रका रूपमा जन्मेका घिमिरेले सर्वदर्शनमा शास्त्री गरेका थिए। उनको पहिलो रचना ‘ज्ञानपुष्प’ शीर्षकको कविता गोरखापत्रमा प्रकाशित भएको थियो।  

कविवर घिमिरेले सुरुमा ‘मधुश्री’ उपनामबाट लेख्न सुरु गरेका थिए भने महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा स्थापित काव्य प्रतिष्ठानमा उनी कोषाध्यक्ष रहे। यही समय उनी महाकवि देवकोटा, निबन्धकार शंकर लामिछाने र श्रीप्रकाश घिमिरेका साथ भारत भ्रमणमा गएका थिए, यो भ्रमणको समयमै उनलाई भारतका प्रसिद्ध कवि, लेखकसित भेट्ने संयोग मिल्यो।  

इन्द्रेणी काव्य प्रतिष्ठानमा रहँदा देवकोटाको संसर्गमा उनी बालकृष्ण सम, टंकप्रसाद आचार्य, भवानी भिक्षु, स्वयम्भूलाल श्रेष्ठ आदिसित निकट हुन पाए।  

२०१३ सालमा भारतका प्रसिद्ध कवि डा. हरिवंश राय बच्चन नेपाल भ्रमणमा आएका थिए। बच्चनसँग अन्य अग्रज कविका साथमा घिमिरेले कविता वाचन गरेका थिए। उनको नाम र स्मृति बच्चनले आत्मकथा ‘बसेरे से दूर’मा सगर्व उल्लेख गरेका छन्।  

कविवर घिमिरेले आफ्नो जीवनकालमा बीसभन्दा बढी कृति लेखेका छन्, २१औँ कृति पूरा गर्ने तयारीमा उनी थिए। घिमिरेले आफ्नी जेठी पत्नी गौरीको स्मृतिमा २०१५ सालमा लेखेको ‘गौरी’ खण्डकाव्य नेपाली साहित्यिक समाजमा स्मरणीय मानिन्छ। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले मञ्चन गरेका दुई गीति नाटक ‘शकुन्तला’ र ‘मालती मंगले’का निम्ति उनी सर्वाधिक चर्चामा रहे।  

२०३९ सालमा लिखित गीतिनाटक ‘मालती मंगले’लाई प्रतिष्ठानले २०४२ मा मञ्चन गर्दा केही ऐतिहासिक घटना सिर्जना भएका थिए। अर्थात् यो गीति नाटकले नेपाली रंगमञ्चमा सांगीतिक घटनाको महत्वपूर्ण पाटो खोलिदिएको थियो। ‘मालती मंगले’मार्फत कविवर घिमिरेले गायक नारायणगोपाल र संगीतकार अम्बर गुरुङको लामो समयको शीतयुद्धको अन्त्य गरेर मिलन गराइदिए, यसलाई नेपाली संगीतको एउटा ऐतिहासिक घटनामा कविवर घिमिरेको महत्वपूर्ण योगदान मानिन्छ।  

‘मालती मंगले’ मञ्चनका समय घिमिरे प्रज्ञा प्रतिष्ठानका उपकुलपति थिए भने संगीतकार अम्बर गुरुङ प्रतिष्ठानका संगीत निर्देशक थिए, यसै कारण उनको यो साहसिक काम सफल भएको मानिन्छ।  

‘मालती मंगले’मार्फत नारायणगोपाल पुनः गायनको चामत्कारिक युगमा फर्के भने संगीतकार अम्बर गुरुङ, गायिका तारादेवी, नृत्यनिर्देशक वसन्त श्रेष्ठ, नायक हरिबहादुर थापा, नायिका लक्ष्मी श्रेष्ठ पनि ख्यातिको चर्चामा पुगे।  

कविवर घिमिरेको निबन्ध संग्रह ‘आफ्नै बाँसुरी आफ्नै गीत’ सर्वाधिक लोकप्रिय मानिन्छ भने २०३३ सालमा प्रकाशित गीतिसंग्रह ‘किन्नर–किन्नरी’का गीत अझै पनि गाइँदै छन्। यस कृतिमा रहेका गीत नातिकाजीदेखि अहिले पछिल्लो पुस्ताका गायक अरुण कार्कीले सम्म गाएका छन्।  

‘अरुणा लामा सहयोग साँझ’ आयोजना गरेर मौनयुद्धमा परेका दुई दिग्गज संगीतधर्मी अम्बर गुरुङ र नारायणगोपाललाई सहकार्य गराउन कविवर घिमिरे स्वयं नारायणगोपालको निवास मिलिजुली टोल महाराजगन्ज पुगेर गायक नारायणगोपालसित यसरी निवेदन गरेका थिए, ‘नारायणगोपालज्यू, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति माधव घिमिरे सांस्कृतिक संस्थानको महाप्रबन्धक नारायणगोपाल गुरुवाचार्यलाई भेट्न आएको होइन, एउटा गीतकारले तपाईंको स्वर माग्न आएको हो। त्यो पाऊँ, बाँकी जे छ, म गर्नेछु।’  

संगीतकार नातिकाजीले आफ्नै संगीतमा गाएको घिमिरेको ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ बोलको गीत सर्वाधिक लोकप्रिय मानिन्छ। उस्ताद गोविन्दलालले संगीत गरेको जनार्दन सम, कोइलीदेवी र साथीहरूले गाएको ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ अझै पनि चर्चाको शिखरमा रहेको गीत मानिन्छ।  

कविता र गीतमा छुट्टै प्रयोग गर्न सक्ने घिमिरेलाई २०६० सालमा तत्कालीन सरकार प्रमुख ज्ञानेन्द्र शाहको हातबाट राष्ट्रकवि उपाधि दिइएको थियो। पश्चिमी जगत्मा ‘पोयट लरेट’ नामबाट दिइने यो उपाधि पाउने नेपालमा उनी नै पहिलो कवि थिए। भारतमा मैथिलीशरण गुप्तलाई यो सम्मान मिलेको छ भने अंग्रेजी कविमा डायलन थोमस, रोबर्ट फ्रस्टलाई यो उपाधिले सम्मान गरिएको छ।  

राष्ट्रकवि घिमिरे ‘मालती मंगले’का निम्ति राजा वीरेन्द्रबाट नगद पुरस्कार पाएका थिए भने २०२२ सालमा एकेडेमी विशिष्ट पदक, २०३१ मा शुभाराज्यभिषेक पदक र २०३३ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार पाएका थिए। उज्ज्वल कीर्तिमय राष्ट्रदीप (दोस्रो) पाएका घिमिरेलाई नेपाली सेनाका तर्फबाट उच्च सम्मानका साथ ब्रिगेडियर जनरलको सम्मान पनि दिइएको छ।  

कविवर घिमिरेको ‘गौरी’, ‘राजेश्वरी’, ‘राष्ट्रमाता’, ‘अश्वत्थामा’जस्ता कृति नेपाली पाठकले बिर्सनै नसक्ने कृति हुन्। नेपाली कथानक चलचित्र ‘मनको बाँध’का निम्ति गायिका तारादेवीले गाएको गीत ‘फूलको थुंगा बहेर गयो गंगाको पानीमा’ एक अजरअमर गीत मानिन्छ, प्रकाश थापाद्वारा निर्देशित ‘मनको बाँध’पछि उनले कुनै नेपाली चलचित्रमा गीत लेखेनन्। तर, करिब ३० वर्षपछि उनको एउटा रचना ‘मितिनी’ नामक फिल्ममा प्रयोग गरिएको थियो।  

शाही नेपाल चलचित्र संस्थानको बोर्ड सदस्यका रूपमा रहेका घिमिरेले संस्थानबाट निर्मित पहिलो फिल्म ‘मनको बाँध’का निम्ति नातिकाजी शिवशंकरको संगीतमा नारायणगोपाल, तारादेवी, कृष्णा सिंहको स्वरमा कलकत्तामा रेकर्ड भएको ‘बसी राम्रो देउराली त’ बोलको अर्को गीत यादगार मानिन्छ।  

कवि, निबन्धकार, भाषाशास्त्री घिमिरेलाई नारायणगोपालले गाएको ‘आजै र राति के देखँे सपना मै मरी गएको’ बोलको गीतले एक अब्बल गीतकारका रूपमा झल्झली सम्झाउँछ। यही गीतबाट उनले नदी मस्र्याङ्दीलाई पनि जनमानसमा चर्चामा ल्याए–  

मस्र्याङ्दी नदी नरमाइलो सुसाइरहेको,  
कहाँ हो कहाँ बादलभित्र म रोइरहेको...।

गीतमा उद्धृत मस्र्याङ्दी कविको जन्मस्थानको निकटवर्ती नदी मानिन्छ, यो नदी तरेर आएको दश वर्षपछि उनले आफ्नो डेरामा लेखेको यस गीतको रचनागर्भ अनौठो छ। उनकी पत्नी महाकालीले सपनामा आफू बितेको कुरा बिहान कविजीलाई सुनाइन्, आफ्नी सहधर्मीको सपनामा मृत्यु भएको कुराले उनी आहत हुन पुगे र लेख्न बसे गीत–  

वारि र पारि घाम र छाया माझैमा पियार,  
संसारमा जन्म दिएर ईश्वर बैंसमा नमार।  

नेपाली आधुनिक संगीतका निर्मातामध्ये एक नातिकाजी श्रेष्ठले यस गीतमा संगीत गरेपछि गाउने पात्र छानिए– स्वरसम्राट नारायणोपाल गुरुवाचार्य।  

गीत रेकर्ड हुनुअघि काठमाडौंमा जन्मे–हुर्केका गायक नारायणगोपाल मस्र्याङ्दी नदी हेर्न लमजुङ पुगेको घटना राष्ट्रकविका निम्ति अविस्मरणीय  बन्न पुग्यो। एउटा गायकले आफ्नो गीतप्रति गरेको न्यायलाई उनले सदा सम्मान गरिरहे।  

नारायणगोपालले गाएका उनका अन्य लोकप्रिय गीतमा–  
‘बसी राम्रो देउराली त, हेरी राम्रो हिउँ।  
मुखै देख्दा माया लाग्ने, प-यो कस्तो जिऊ।
(मनको बाँध)  

शिरको टोपी भुइँमा राखी म गर्छु बिनती,
गाउँले भाइ हो, शरणमा छाडेँ एक्ली मालती।

०००  

ढोका खोल मालती, ढोका खोल हो,  
ढोका खोल्नु पहिल्यै बोल–बोल हो।’
(मालती मंगले)  

आदि पर्छन्। गायिका दावा ग्याल्मोले अशोक राईको संगीतमा गाएको ‘सयपत्री फूलै र फुल्यो बाबाको बारीमा, अचेलभरि हृदय मेरो डाँडाको पारिमा’ बोलको गीत पनि अर्को लोकप्रिय मानिन्छ। कविवर घिमिरेका गीत नारायणोपाल, तारादेवी, दावा ग्याल्मोबाहेक पुष्प नेपाली, रुबी जोशी, निर्मला श्रेष्ठ, अर्चना बास्तोला, अरुण कार्की आदिले गाएका छन् भने उनको बालगीत संग्रह ‘सुनपंखी चरा’बाट संगीतकार दिव्य खालिङले संगीत गरेका छन्।  

नेपाली जनता र राष्ट्रले उनलाई राष्ट्रकवि उपाधि दिए। उनले पनि धेरै कवि लेखकलाई आफ्नो विशाल हृदयबाट उस्तै सम्मान दिएका छन्। गीतकार प्रेमविनोद नन्दनलाई उनले नेपाली गीतका ‘गोलसिमल’ भनेका छन् भने संगीतकार दिव्य खालिङलाई ‘दिव्यता भएका संगीतकार’ भनेर सम्मान दिएका छन्। त्यस्तै, उनले ‘नेपाली आधुनिक संगीतका दुई निर्माता’ भनेर नातिकाजी श्रेष्ठ र अम्बर गुरुङलाई ठूलो श्रद्धा दिएका छन्। तारादेवीलाई ‘नेपालकी एक मात्र वाणीपुत्री’ भनेर तारिफ गरेका छन्। मास्टर रत्नदास प्रकाशलाई उनले आफूलाई गीत लेख्न सिकाउने ‘ट्युसन मास्टर’ भनेका छन्।  

संगीतकार नातिकाजीको निधन हुँदा उनले शोकपुस्तिकामा लेखेका थिए, ‘नेपालको झंकार हरायो।’  

नेपाली गीति लेखनका सगरमाथा मानिने घिमिरेलाई कुनै समय नेपाली साहित्यका विद्वान्ले ‘हिमाली कवि’, ‘झ्याउरे कवि’ भनेर उछितो काढे। पोखरेली कवि माधव वियोगीले ‘छन्द शिरोमणि भनेर सम्मान गर्नू’ भनेर आन्दोलन गरेपछि विसं २०५९ सालमा काठमाडौंस्थित होटल ब्ल्यु स्टारमा एउटा छलफल कार्यक्रम चल्यो। कार्यक्रमको विषय थियो, ‘माधव घिमिरे राष्ट्रकवि वा छन्द शिरोमणि ?’ यही छलफल कार्यक्रमबाट बहुमतले राष्ट्रकवि भनेर स्वीकृति दिएपछि सरकारी तवरबाट यसको पहल सुरु भयो।  

कवि गीतकार नगेन्द्र थापाको पहलमा २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा, सञ्चारमन्त्री कमल थापाको सक्रियतामा तत्कालीन राजा ज्ञानेन्द्रबाट उनलाई राष्ट्रकवि उपाधि दिइयो।  

उनलाई दिइएको राष्ट्रकवि उपाधि केही समय विवादास्पद र आलोचित भए पनि पछि उनी यसैका निम्ति शोभायमान भए।  

प्रतिस्पर्धाका रूपमा आफ्ना अग्रज लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समसित समदूरी बनाउँदै आएका घिमिरे आफ्नै पुस्तासित जोरी खेल्दै नयाँ पुस्तासम्म होस्टे–हैंसे गर्न सफल भए।  

कालिकताका हिसाबले घिमिरेको रचनामा समय र सत्य एकै स्वरमा गुञ्जिन्छन् भने आफ्नो जन्मस्थानका ठाउँ लुइँटेल भञ्ज्याङ, भुजेल गाउँ, मस्र्याङ्दी नदी, पुस्तुन, बाहुनडाँडा सधैँ चर्चामा रहिरहन्छन्। उनकै जन्मस्थान पुस्तुनको नाउँबाट प्रभावित भएर साहित्यकार कृष्णचन्द्र सिंह प्रधानले आफ्ना पुत्रको नाउँ नै पुस्तुन प्रधान राखे, यो एउटा नेपाली साहित्यको अद्वितीय घटना हो।

‘अरुणा लामा सहयोग साँझ’ आयोजना गरेर मौनयुद्धमा परेका दुई दिग्गज संगीतधर्मी अम्बर गुरुङ र नारायणगोपाललाई सहकार्य गराउन कविवर घिमिरे स्वयं नारायणगोपालको निवास मिलिजुली टोल महाराजगन्ज पुगेर गायक नारायणगोपालसित यसरी निवेदन गरेका थिए, ‘नारायणगोपालज्यू, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति माधव घिमिरे सांस्कृतिक संस्थानको महाप्रबन्धक नारायणगोपाल गुरुवाचार्यलाई भेट्न आएको होइन, एउटा गीतकारले तपाईंको स्वर माग्न आएको हो। त्यो पाऊँ, बाँकी जे छ, म गर्नेछु।’  

यसपछि घिमिरेले नै अम्बर र नारायणका बीचको दशवर्षे द्वन्द्वको अन्त्य गरिदिए। यो नेपाली संगीत समाजले बिर्सन नसक्ने एउटा अमूल्य घटना हो। यसका निम्ति नेपाली श्रोता समाज, सांगीतिक जगत् सदैव ऋणी हुनुपर्छ।  

नेपाली जनसमाजमा सय वर्षभन्दा बढी दीर्घायु पाएर आएका घिमिरे नेपाल प्रज्ञा प्रतिष्ठानको सह–सदस्यका रूपमा प्रवेश गरेर उपकुलपतिसम्म भए। उनले लैनसिंह बाङदेल, भूपी शेरचन, विजय मल्ल, नयराज पन्त, चूडामणि भट्टराई, यज्ञराज शर्मा, आदिसित सहकार्य गर्ने मौका पाए। प्रज्ञा प्रतिष्ठानको भ¥याङमा उनीसँगै उकालो–ओरालो गर्ने धेरै प्राज्ञ उनीअघि नै गइसके। घिमिरेको गीति नाटक शकुन्तलामा संगीत गर्ने चन्द्रराज शर्मा र मालती मंगलेमा संगीत गर्ने अम्बर गुरुङ पालैपालो पोहोर–परार गइसके।  

हरेक कार्यक्रममा उत्साहले पुग्ने घिमिरे पाटनस्थित ‘यलमाया केन्द्र’मा आयोजना हुने भाषा सञ्चार कार्यक्रममा सम्भाषण दिन होस् वा सारांश नेपालले आयोजना गरेको उनको कविता वाचनमा सानले पुग्थे।  

आफ्नो घरमा आउने पाहुनालाई गर्वका साथ भुइँतलाको आफ्नो फोटो भएको कक्षमा भेट्थे।  

कुनै पनि कार्यक्रममा पुग्छु भनेर वचन दिएपछि उनी समयमै पुग्थे। धनगढीमा २०५६ मा सम्पन्न भएको नेपाल–भारत लेखक सम्मेलनमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिँदा दुई राजदूत भेषबहादुर थापा र देव मुखर्जीका साथ उनी पनि हुनुपर्ने तर त्यहाँ पुग्न नसकेको कुरा उनी खिन्नताका साथ खुब सम्झन्थे।  

‘नागानन्द’ नाटकलाई नेपालीमा अनुवाद गरेका घिमिरेले ‘२५ वर्षका खण्डकाव्य’लाई सम्पादन गरेका छन् भने आफ्नो अन्तिम कृति महाकाव्य ‘ऋतम्भरा’को लेखनमा सक्रिय थिए, अन्तिम सर्ग बाँकी नै छाडेर उनले महायात्रा तय गरे।  

महायात्रामा जानुअघि उनका बारेमा धेरैपटक ‘होक्स् न्युज’ नआएका होइनन्, तर यसपालिको समाचारले मस्र्याङ्दी नदी साँच्चै नरमाइलोसँग सुसाइरहेको छ।  

सुसाइरहेको मस्र्याङ्दी नदीको खबर सामाजिक सञ्जालमार्फत विश्वभर फैलिँदा कविताको ‘एउटा युग’ अन्त्य भएको छ। गीति नाटकको एउटा परम्परा ध्वस्तन्यस्त भएको छ।  

ऋतम्भराले आफ्नो जन्म पर्खिरहेको छ।  
हार्दिक श्रद्धाञ्जलि एउटा युगलाई।  
०००

प्रकाशित: ३ भाद्र २०७७ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App