३ चैत्र २०८१ आइतबार
image/svg+xml १८:५८ अपराह्न
कला/संस्कृति

आमाभन्दा बरु कुकुर प्यारो गरी पाल्नेहरू!

मुक्तक

१) मुक्तक

बरु म चिहानमाथि नै बसूँ, चिहानसँग डर लाग्दैन,

मानवताबिनाको मान्छेको घर, मलाई त्यो घर लाग्दैन।

यहाँ मरेकाहरूले कसलाई, के नै पो गरेका छन् र,

पाप, अपराध जिउँदाले गर्छन्,मलाई जिउँदा मान्छेको भर लाग्दैन।

२) मुक्तक

मेरो मुटुमा बसेर मुटु नै, रेटेर जानेलाई,

सिउँदोमा हालेको सिन्दुर, मेटेर जानेलाई।

बधाई छ लाखौं लाख, जिन्दगानी फुलोस् फलोस्,

मभन्दा धनी मान्छे, भेटेर जानेलाई।

३) मुक्तक

ठुलै गल्ती गरें मैले, जन्मभूमिको माटो छोडेर,

पुर्खाहरूले देखाएको, असल त्यो बाटो छोडेर।

बल्ल बुझें अहिले शरीर, रोगको भारी भएपछि,

अर्को गल्ती गरें मैले, ढिँडो अनि आँटो छोडेर।

४) मुक्तक

कति रहेछन् उनका प्रेमी, गनेर साध्य भएन,

कति सम्झाउँ कति बुझाउँ, भनेर साध्य भएन।

हार खाएरै मैले उनको, बाटो खुल्दा गरेको हुँ,

उनी सधैं आगो, म पानी, बनेर साध्य भएन।

५) मुक्तक

आमा जिउँदै हुँदाखेरि, हेला गरी फाल्नेहरू,

आमाभन्दा बरु कुकुर, प्यारो गरी पाल्नेहरू।

कुन्नि किन ढर्रा पार्छन्, आमा मरी गएपछि,

आमा भन्दै पुराण लगाई, देख्छु बत्ती बाल्नेहरू।

प्रकाशित: १९ फाल्गुन २०८१ १३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App