९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

कुनै बाह्रै महिना हरियो देखेर चिप्लिए!

मुक्तक

१) मुक्तक

हिमाल जस्तो उच्च विशाल वक्ष भयो भने

इमानदार राष्ट्रवादी पक्ष-विपक्ष भयो भने

विकासमा वास्तुको अड्चन नहोला साथी

चट्टान समान मजबुत लक्ष भयो भने।

२) मुक्तक

सुन्दर फूल वा नक्कली थमाउ

चारैतिर आफ्नो रवाफ जमाउ

चिन्ता नगर प्रिय म तिम्रै न हुँ

अँगालोमा बेर या हात समाउ।

३) मुक्तक

कतै छलिएर अप्सरा नै यो धरतीमा पसेझैं लाग्छ

पूर्णिमापछि जूनका टुक्राहरू यतै खसेझैं लाग्छ

अँधेरी रातमा झिलमिल जुन्किरी चम्केको देख्दा

तिमी नै सुटुक्क मेरो छेउमै आएर बसेझैं लाग्छ।

४) मुक्तक

जँघार तार्न आउँला खोला तरेर आउने भए

भरिया बन्न आउँला झोला भरेर आउने भए

भन न प्रिय तिमी कुन बाटो आउन लागेकी छौ!

छातीभित्र सजाउँला बसाइँ सरेर आउने भए।

५) मुक्तक

राहत बाँडे दुनो थापेँ अलिकति पातमा लाग्यो

बराबरी बाड्न खोजें धेरैजसो हातमा लाग्यो

चाट्न थाले केटाकेटी नियालेर हेरी बसेँ,

जाबो पित्को के हुन्थ्यो र आँतमा होइन दाँतमा लाग्यो।

६) मुक्तक

व्यस्त होटलको जुठो थाल जस्तो

बाह्रमासे जुवाडेको खाल जस्तो

वाक्क लाग्न थालेछ राजनीति मलाई अचेल

ज्वरो आएको बखत पिएको दाल जस्तो।

७) मुक्तक

वसन्तले नयाँ पालुवा लिएको हुन सक्छ

बेजोड आँधीले खसाली दिएको हुन सक्छ

झरेको पात भन्दैमा कुल्चेर नहिँड साथी!

डालीमै छँदा शीतल छहारी दिएको हुन सक्छ।

८) मुक्तक

हरियो सागसब्जीमा कीटनाशीको कहर छ

दुधको भाउमा किनेको पानीमा जहर छ,

हरेक वस्तुमा रसद्रव्य पाइन्छ प्रभु! अचेल

निन्द्रामा शुद्ध सपना देख्न समेत रहर छ।

९) मुक्तक

न म कसैको थैलीमा छु, न गोजीमा छु

जीवन्त जीवन आफैं जिउने रोजीमा छु

खानतलासी लिएर कतै नखोज मलाई

म त एउटा मौलिक मनको खोजीमा छु।

१०) मुक्तक

कुनै निदान विनाको विधान लेखेर चिप्लिए

कुनै बाह्रै महिना हरियो देखेर चिप्लिए

भाँतीभाँतीका चिप्ल्याइँ हुँदा रहेछन् यो लोकमा

विचरो तीर्थे केराको बोक्रोमा टेकेर चिप्लिए।

(तीर्थराज अधिकारी ‘मुक्तकमणि’ का मुक्तकसंग्रह ‘सारवत’मा सङ्गृहीत।)    

प्रकाशित: ९ कार्तिक २०८१ १०:११ शुक्रबार

# Muktak # Laghukatha # Story # Kabita # Slips and turns # Muktakasangraha 'Saravat' # Green vegetables # Some twelve months slipped by seeing green!