३१ चैत्र २०८१ आइतबार
image/svg+xml १६:१७ अपराह्न
कला

नियति

लघुकथा

‘चना,आलु, प्याज, चिनी ,दूध,चिया रङ सबैको खर्च कटाएर पैतिस सय नाफा भयो बुढा।’   

मौसम बिग्रेर चिसो बढेसँगै उनका पसलमा घुइँचो हुन्छ। ट्वाक्क जिब्रो फड्कार्दै अचार, चिउरा तरकारी ,स्वादिष्ट चिया पिउन सानो रकमले पेट भर्नेलाई बजेटमैत्री छ उनको पसल।

‘के गर्छौ त बुढी? बाआमाले खोजेकालाई अस्वीकारेर म दुखियालाई साथ दियौ। कहिले दुखबाट मुक्त गराउने होला तिमीलाई।’ भावुक भयो नरेश।

‘सुखदुख भन्ने कुरा भौतिक सुविधामा जोखिन्न नरेश। हाँसोमा चाहिने साथ र दुखमा चाहिने काँध पाएकी छु तिमीबाट।’

‘आफूले पो कहाँ सुख काटेका छौ र? बिहानको तीनै बजेदेखि कुदेका छौ। जाडो, गर्मी, थकाइ, बिमार भन्न पाएको छैन।’

‘आफ्नै भ्यान जोडियो यसको किस्ता चुक्ता गरेपछि त दुखका दिन सकिइहाले नि। थरिथरिका ताजा तरकारी ल्याएर अरूले भन्दा पाँच रुपैयाँ सस्तोमा दिएपछि ग्राहक हाम्रै पसलमा झुत्तिएको  बुझेकी छौ नि? देख्नेहरू जल्न थालेका छन्। अरूको ईर्ष्या गर्नेलाई देखाइदिन पाइयोस्। दिन चैं नलागोस् हे प्रभू।’ पुकार्यो नरेशले।

दशैं मनाउन बाआमालाई शहरमै बोलाइसकेका थिए। कोठा साँघुरो हुनाले तीन कोठाको फ्ल्याटमा सरेको दुई हप्ता हुँदै थियो।

परिवारमा हाँसोखुसी थियो। दुईचार दिन पानी पर्ने मौसम विज्ञान विभागले घोषणा गरेकाले एक हप्तालाई पुग्ने तरकारी ल्याउँछु। ‘के निहुँ पाउँ मूल्य बढाउँ भा’ का व्यापारीहरूका मुखिन्जेल पहिलेकै भाउमा ताजा तरकारी उपलब्ध गराएर ग्राहकको मन जित्ने सुनौलो अवसर हो यो।’ खुशी हुँदै हिंड्यो नरेश।

निर्मला होटेल चलाउँथिन् तरकारी पसल सम्हाल्थ्यो नरेश।

भ्यानभरि तरकारीको भारी लगाएर बाटो लागिसकेको खबर गरेको थियो निर्मलालाई।  च्यारच्यार झरी बढ्दै थियो। बाटो हेरेर बसेकी उनले फोन गरिन् ,सम्पर्क भएन।

सधैं त यति अबेला हुँदैनथ्यो, टेलिभिजन खोलिन्।

ब्रेकिङ न्यूज थियो, धादिङबाट तरकारी बोकेर थानकोटतर्फ आउँदै गरेको बा ६५ च ३१६१ नम्बरको भ्यान  झ्याप्लेभिरको पहिरोबाट निकालिए पनि चालक भनें जीवित रहेनन्।

प्रकाशित: १५ आश्विन २०८१ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App