२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

धन्न फूल भएकीले आँखाभरि बसेकी छौ प्रिय!

मुक्तक

१) मुक्तक

तिम्रा हररहरमा साझा बनाए हुन्छ

सुमधुर मन भित्रको राजा बनाए हुन्छ

अन्त कतै मिल्दैन भने मलाई प्रिय!

तिमी बस्ने घरको दरबाजा बनाए हुन्छ।

२) मुक्तक

चन्दन भए तिलक बनाउँदा खिएर सकिने थियौ

वरदान भए तपस्वीलाई दिएर सकिने थियौ-

धन्न फूल भएकीले आँखाभरि बसेकी छौ प्रिय!

सरावहुँदि हौ त हरदिन पिएर सकिने थियौ।

३) मुक्तक

कतै छलिएर अप्सरा नै यो धरतीमा पसेझैं लाग्छ

पूर्णिमापछि जूनका टुक्राहरू यतै खसेझैं लाग्छ

अँधेरी रातमा झिलमिल जुन्किरी चम्केको देख्दा

तिमी नै सुटुक्क मेरो छेउमै आएर बसेझैं लाग्छ।

४) मुक्तक

कहिले छिनछिन गर्ने चुरी लिएर आउँछ

कहिले तिरिरी बज्ने बाँसुरी लिएर आउँछ

तिमीलाई स्पर्श गर्ने पवनले साथैमा प्रिय,

मनै प्रसन्न पार्ने मीठो माधुरी लिएर आउँछ।

५) मुक्तक

साक्षात ऐश्वर्य गुणकी अवतरित लीला हौ

मेरो कल्पना लोककी अवर्णनीय सुशीला हौ

कस्ले भन्छ तिमीलाई स्थूल वदन मात्र हौ भनेर?

तिमी त मेरो मनभित्र बहने अन्त-सलिला हौ।

६) मुक्तक

प्रमुदित छौ, प्रकृतिले सौन्दर्य दियो भनेर

छियाछिया पार्यौ त यो दिल मैले चासो लियो भनेर

म कसरी उजुरी सावित गर्न सक्छु र प्रिय?

तिम्रो आँखामै धारिलो तलवार थियो भनेर।

७) मुक्तक

हंसचाल देखेर कतिको मन सगसगाउँछ होला

सधै हिंड्ने बाटोभरि हावा पनि मगमगाउँछ होला

तिम्रो एक नजरले सारा जन्ती बेहोस हुन्छन् रे रुपसी

थोरै मुस्कुरायौ भने त यो धरतीनै डगमगाउँछ होला।

८) मुक्तक

फूलका बोटहरूमा अलिकति छेकिएकी थियौ

तैपनि मेरो मनमा त छापा जस्तै लेखिएकी थियौ

मुसुक्क नहाँसेको भए कसरी छुट्टिने थियो र खै?

तिमी र सूर्यमुखी उस्तै उस्तै देखिएकी थियौ।

९) मुक्तक

चारु चन्द्रको शीतल आभा घसेकी जस्ती

झरनासँगै झरी सुटुक्क एक्लै बसेकी जस्ती

चौपट्टै सुशील देखिएकी छौ तिमी त प्रिय!

देवलोकबाट कतै झुक्किएर खसेकी जस्ती।

१०) मुक्तक

साँवा र ब्याज बुझाउन खुद आफैं फिर्नेछु

वफादारीको सबुद प्रमाणपत्र भिर्नेछु-

अलिक मायाको बिन्दु लगानी गरन प्रिय!

म यही जुनीमा सूद समेत फिर्ता तिर्नेछु।

( मुक्तकमणिका सारवत मुक्तकसंग्रहमा सङ्गृहीत।)

प्रकाशित: १० भाद्र २०८१ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App