६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

महतन्त्रमा मह जोडीः सफलतामै फुर्सद छैन, कुरा किन काट्नु

कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को जोडी नयाँ होइन। उनीहरूको जोडी जमेको ४४ वर्ष भइसक्यो।

उनै मह जोडी अर्थात् मदनकृष्ण र हरिवंश शुक्रबार पोखरा फेवाताल किनारमा गफिँए। 

११औं लिटरेचर फेस्टिबलको महतन्त्र सत्रमा गफिए। कार्यक्रम अवधिभर मदनकृष्ण र हरिवंशले एक अर्काको सम्मानमा शब्द खर्चिए। मदनकृष्ण र हरिवंशको सहकार्य चार दशक नाघे पनि हालसम्म उनीहरुबीच न खोट देखिन्छ न खटपट नै। अझै पनि उनीहरू सधैं भन्ने गर्छन्, ‘मह जोडी भन्ने नामलाई जीवनको अन्त्यसम्म कायम राख्ने हो।’

ठट्यौली शैलीमा प्रस्तुत भएका हरिवंशले आफू बिरालो र मदनकृष्ण दूध भएको बताए। ‘मदनलाई बिरालो भनौं भने चित्त दुखाउनुहुन्छ होला। मदन दाइ दूध हो। म बिरालो हो। अनि दूधको साथी बिरालो,’ उनले भने।

फेवा किनारमा गफिँदै मदनकृष्णले हरिवंशलाई बदलाको भावना नलिने गरेको बताउँछन्। ‘५–७ वर्ष उमेर कान्छो छ। म उसलाई एकदमै सम्मान गर्छु। म गुरु जस्तो व्यवहार गर्छु हरिवंशलाई। कहिले गुरु, कहिले छोरा त कहिले भाइजस्तो मायालु व्यवहार गर्छाै हामी,’ हरिवंशलाई हेरेर मुस्कुराउँदै मदनकृष्णले भने, ‘एक आपसमा बदलाको भावना कहिले लिएनौ। मैले पनि जे सुकै गरोस् हरिवंशसँग बदलाको भावना लिँदैन भन्ने मेरा अठोट छ।’

कामका क्रममा इगो आउँदैन भन्ने प्रश्नमा मदनकृष्णले काममा इगो आए एक मनलाई अर्को मनले सम्झाउने गरेको बताए। ‘इगो आउँछ हो। आए पनि एउटा मनलाई अर्को मनले सम्झाउँछ। हरिवंशले मदनकृष्णलाई कसैले केही भन्दा आफ्नो चित्त दुख्ने बताए।

उनले पनि मदनकृष्णलाई फुर्काउँदै भने ‘म त चोर्छु पनि झुट पनि बोल्छु। सबैलाई माया गरेर साध्य पनि हुँदैन। गाली पनि गर्छु कतिलाई चित्त पनि बुझाउँछु। तर, मदन दाइको कहिले पनि चोर्दिनँ। र उहाँको हृदय मेरो जस्तो छ। कसैले केही भन्दियो भने मलाई चित्त दुख्छ। मैले पनि मदनलाई मै सम्झिन्छु।’

एकले अर्कोलाई सफलताको कारण जस दिने गरेको मदनकृष्णले बताए। मदनकृष्णको मित्रतापछि आफूहरूलाई फलिफाप भएको हरिवंशले बताए। 

‘म मदन दाइ किन इमानदार हुन्छ भने मेरो आफ्नो स्वार्थले पनि हो। म स्वार्थी पनि छु। मदन दाइसँग मित्रता गरेर फलिफाप भएको छ। घाटा केही पनि छैन,’ उनले भने।

सहकार्यपछि कहिले पछाडि फर्केर हेर्नु नपरेको हरिवंशले बताए। उनले भने, ‘यस्ता चाहिँ पेसागत स्वार्थ पनि छ। सबैभन्दा ठुलो स्वार्थ भनेको पेसागत स्वार्थ। हामी दुई जना मिलेर सहकार्य गरेपछि कहिले पनि पछाडि फर्केर हेर्नुपरेन।’

प्रकाशित: ४ फाल्गुन २०८० १७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App