मेरी हजुरआमा बिहान सधैं चार बजे उठ्थिन्। घरको सरसफाइ गर्थिन् अनि नुवाइधुवाइ गरेर दैलोमा चामलको पिठोले रेखी हालेर दैलो सजाउँथिन्। दैलोमा बत्ती बाल्थिन्। तामाको दियोमा बालिएको प्रकाशले घर नै उज्यालो हुन्थ्यो। नित्यकर्म, पूजापाठ, भजनका कारण घर नै संगीतमय हुन्थ्यो।
उठ छिटो उठ, डुब्न लाग्यो घाम
दिनै बित्न लागि सक्यो, कहिले गर्छौ काम
कति आलस्य भएको यो शरीर
ध्यान गरी भगाऊ
धैरै काम गर्नु छ
व्यर्थ समय बिछ्यौनामा नबिसाऊ
बिहानीपख यो लय गीत गुनगुनाउँदै आमाले सबैलाई उठ्न झकझकाउँथिन्। उनी सामान्य पढेकी महिला थिइन् र रैथाने कि छोरी। उनको विचार आकाशजस्तै खुला थियो।
उनी भुसेचुल्होमा भुस भरेर आगो सल्काउँथिन्। तातो पानी र चिया सबैलाई दिन्थिन्। परिवार पनि सानो थिएन, र पनि पूरै परिवार उनको मुठीमा थियो।
आमाले एकसरो चोखो कपडा लगाएर शाकाहारी खाना बनाउँथिन्। सबैलाई खान दिन्थिन् र सबैले खाएपछि आफूले खान्थिन्। चुलोचौको सकेर कार्यालय पनि जान्थिन्। उनी सरकारी कार्यालयकी कर्मचारी थिइन्। कार्यालय पनि समयमा नै पुग्थिन्।
अहिले सानी मुमा ८० वर्षकी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘म कति काम गर्थें। चार बजे उठ्थें। घरको चुलो चौकोदेखि आफ्नो काम सबै भ्याउँथें र कार्यालय पनि जान्थें। म त्यति बेला बालमन्दिरमा काम गर्थें। साँझसम्म र घर आएपछि पनि आफ्नो दैनिकी सबै सिध्याउँथें।
उनी भन्छिन्, ‘यति मात्र कहाँ हो र ? सासूससुरा सबैलाई मिलाउँथें। मैले चोखो खाने भएकाले भान्साको काम आफैं नै गर्थें। छोराछोरी सबैलाई उनीहरूले चाहेको परिकार बनाउँथें। विद्यालय पनि पठाउँथें। त्यतिबेला छोरीलाई पढाउन हुँदैन भन्थे तर मैले मेरी छोरीलाई महेन्द्रभवन विद्यालयमा पढाएँ।’
जुन बेला बाथरुम, धारा पनि घरदेखि धेरै टाढा हुन्थे। दाउरा बालेर खाना बनाइन्थ्यो। भुस, दाउरा, कोइला चिसो हँुदा खाना बनाउन पनि धौधौ पथ्र्यो। त्यो अवस्थामा पनि हरेक काम सहज हुन्थ्यो। लुगा धोबीले धोएजस्तै गरी बिहानै झिसमिसेमै धोइन्थ्यो। समयमा नै रुचिअनुसारको खाना पाक्थ्यो। परिवारका लागि धेरै समय हुन्थ्यो।
समयको महत्व हुन्थ्यो। फुर्सद भए पात गाँसिन्थ्यो। बत्ती काटिन्थ्यो, धूप बाटिन्थ्यो। सिर्जनशील काम धेरै हुन्थ्यो। आपसी रमाइलो पनि धेरै गर्थे। धेरै आमा–हजुरआमाहरू यसका उदाहरण छन्। न त उनीहरूलाई मर्निङ वाकको जरुरत पथ्र्यो, न त कुनै व्यायाम सेन्टर नै जानुपथ्र्यो। त्यतिबेला पनि उद्यमी शिक्षित महिलाहरूको कमी थिएन। उनीहरूले परिवार तथा सामाजिक दायित्व पूर्ण रूपले निभाएको पाइन्छ।
त्यतिबेलाको संकुचित सोच, लोग्नेमान्छेले घरका जुठा भाडा र चुलोचौको गर्नुहुँदैन भन्ने मानसिकता थियो। त्यही पुरुषप्रधान समाजको फेरो समातेर अघि बढ्ने अवसर धेरैले खोजे र पूरा पनि गरे। साँघुरो परिस्थितिमा पनि धेरै महिला अघि बढे। न उनीहरूले आफ्नो कामप्रति कुनै विरोध गरे, न त कसैलाई बाधा पुर्याए, न काममा चलाखी नै गरे।
अहिले सबै थोकको सुविधा छ। हरेक महिला भाग्यमानी छन्। प्रविधिसँगै अघि बढ्दै छन्। घरघरमा प्राविधिक पहुँचका ठुला ठुला मेसिन छन्। हरेक काम सहज बनेका छन् तर पनि घर भने लथालिंग देखिन्छ। भुसेचुल्होदेखि इन्डक्सनसम्म आइपुग्दा पनि भ्याइनभ्याई छ महिलाहरूलाई। बिहानको नित्य कर्म पनि समयमा गर्न सकिरहेका छैनौं। साच्चै भन्ने हो भने आफ्नै बच्चालाई पनि राम्ररी समय दिन भ्याइएको छैन।
मेरी दिदीकी सासूआमा भन्छिन्, ‘राति लगाएको कपडाले भगवान्लाई नछोऊ, बिहान नौ बजे भगवान्लाई घन्टी नबजाऊ, लाज हुन्छ, पितृ भाग्छन्। घरमा लच्छिन पनि हुँदैन। आइमाई घरकी लक्ष्मी हुन्। झिसमिसेमा नै बढारकुँढार गरेर कपडा फेरेर पूजा पाठ गर्नुपर्छ। बिहान चाँडो उठ्नुपर्छ। चोखो लुगा लगाएर भगवान्लाई बत्ती बाल्नुपर्छ।’
नातिहरूले राम्ररी खाएर स्कुल पढ्न जान पनि भ्याएनन् भन्नेमा उनको दुखेसो छ। एक पाइला चाँडो उठेको भए सबै काम भ्याइन्थ्यो तर अहिलेका छोरीबुहारीहरू अबेरसम्म सुत्नाले सबै काममा हतार हुन्छ। अहिलेको यो कुरा सासूआमालाई चित्त बुझ्दैन। उनी भन्छिन्, ‘रातभरि मोबाइल हेरेर बस्छौ। यही मोबाइलले तिमीहरूलाई बिताएको छ। संस्कार भन्ने बुझेकै छैनौ। सधैं भान्सा फोहोर र जुठो भाँडाकुँडा, सबै लथालिंग। तीन दिन भइसक्यो पकाएको भाँडा नमाझेको।’
भनिन्छ– कुरा सुन्नु बुढाको, आगो ताप्नु मुढाको। सासूको कुरालाई सायद दिदीले मनन गरेकी भए स्कुटरबाट लड्ने थिइनन्, नाबालक छोराको स्कुल बस सधैं छुट्ने थिएन, श्रीमान्को गाली खानुपर्ने थिएन।
यस्ता धेरै प्रतिनिधि पात्र छन्, आधा रातसम्म स्माट मोबाइल हेर्ने, आवश्यकताभन्दा बढी मोबाइलमा चाहिने नचाहिने दृश्य हेर्ने। मोबाइलको यस्तो लत लागेको छ कि हातबाट मोबाइल छोड्नै मन लाग्दैन। यही मोबाइलले रात बितेको र दिन बितेको पत्तै पाउन छोडिसकेको छ। धेरैलाई भ्याइनभ्याइ बनाएको छ आज यही मोबाइलले। आज इन्टरनेटको पहुँच जताततै फैलिएको छ। संसार बेरङ भएका खबर हेर्दा समय बितेको पत्तै पाइँदैन।
सूचनासञ्चार प्रविधिको विकाससँगै फेसबुक, मेसेन्जर, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालको दुनियामा समाज द्रुत गतिमा दौडिएको छ। आज सामाजिक सञ्जालको प्रयोग चाहेर पनि कसैले रोक्न सक्ने स्थिति छैन। यसकै प्रयोगले धेरैको व्यवहार बिग्ररिएको छ। यसमा धेरै महिला नराम्ररी फसेका छन्।
‘आज छोरालाई खाजा मम अर्डर गरिदिएँ, मेरो त शनिबार दिउँसोभरि मोबाइल नै हेरेर बित्यो, खाना नै बनाउन जाँगर चलेन, वासिङ मेसिनमा कपडा हालें अनि मोबाइलमा दिदीसँग कुरा गरेर नै बसें दिउँसोभरि,’ दिदीबहिनीहरूबिच यस्तै गफ चल्छन्।
यसको असर हामी आफैंलाई परिरहेको छ भन्ने कुरा भुलिरहेका छौं। सञ्चार माध्यममार्फत हामीले परम्परा तोडिरहेका छौं। घरमा मान्यजनहरू छन्, नाबालक बच्चा पनि छन्, श्रीमान् छन् भन्ने पनि भुलेर मोबाइलमा भुलेका छौं। आज बालबच्चाहरू जंक फुडमा नै रमाएको देखिन्छ। बालबच्चा पनि परिवारसँग भन्दा मोबाइलमा नै रमाएको देखिन्छ।
प्रविधिको विकाससँगै आजभोलि हामीले सँगै बसेर कुराकानी गर्नसमेत बिर्सेका छौं। आफ्नालाई मिठो बनाएर खान दिन बिर्सेका छौं। कुनै समय हाम्रो उपस्थितिमा कोही खुसी हुन्थे भने आज त्यही उपस्थितिमा मन खिन्न पार्नेहरू धेरै छन्। हामी सामाजिक सञ्जालमा यसरी बाँधिएका छौं कि अनिवार्य पूरा गर्नुपर्ने कर्तव्यसमेत भुल्दै छौं।
प्रविधिले हामीलाई धेरै कुरा सिकाए पनि हामीलाई कर्तव्यबाट च्यूत बनाउँदै छ। हामीले आज पश्चिमी शैलीको रहनसहन खोजिरहेका छौं। हामीले हाम्रा पुर्खाले दिएको संस्कार बिर्संदै छौं। उनीहरूको नालीबेली पछ्याउन छोडेका छौं। पुर्खाले बनाएको विज्ञानप्रति हामीमा विश्वास छैन।
सामाजिक सञ्जालका चुनौती र अवसर दुवै छन्। यसबाट कसरी सुविधा लिने भन्ने कुरा मात्र हो। जे भए पनि उपयोग गर्न जान्यो भने यसले सही गन्तव्य तय गर्छ तर यही सामाजिक सञ्जालमा मग्न भएर घरपरिवारलाई लथालिंग पार्नु, आफ्नो उत्तरदायित्व बिर्सनुचाहिँ साच्चै गलत हुन जान्छ।
प्रकाशित: १३ माघ २०८० ०१:०१ शनिबार