६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

कालापानीमा स्रष्टा घरको शिलान्यास: शैलुङमा सापस कविता यात्रा

साहित्यिक पत्रकार संघले २०३९ सालमा थालेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो।

शैलुङ सांस्कृतिक आन्तरिक पर्यटनका लागि कविता यात्रा उद्देश्य सहित २०८० पुस ४ देखि ६ गतेसम्म संघले दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेको ‘तीन दिने कविता यात्रा-२०८०’ पुस ६ गते शुक्रबार शैलुङ, भैसेस्थित शारदा माविमा सम्पन्न भएको छ।

काठमाडौबाट गएका स्रष्टा र कलाकारहरूलाई पहिलो दिन चरिकोटमा नेपाल उद्योग वाणिज्य संघ, दोलखा र भानु-विद्यापती साहित्य प्रतिष्ठान, दोलखाले चरिकोटमा स्वागत गरेको थियो।

सोही दिन जेष्ठ नागरिक सेवा भवन, चरणावती धाममा स्रष्टाहरूलाई विशेष स्वागत कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त अवसरमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जेष्ठ नागरिक सेवा भवन, चरणावतीका अध्यक्ष गुणबहादुर बुढाथोकी लगायतले मन्तव्य दिएका थिए।

दोस्रो दिन बिहान समाजसेवी एवं गीतकार शोभित उप्रेतीको पहरीखर्क, भैंसेस्थित घरमा स्वागत एवं चियापानको आयोजना गरिएको थियो भने सोही दिन शैलुङ गाउँपालिका वडा ८ ले गाउँपालिका भवनमा विशेष स्वागत सम्मानको कार्यक्रमको आयोजना गरेको थियो।

सो अवसरमा गाउँपालिका अध्यक्ष धनबहादुर तामाङ, वरिष्ठ कलाकर मदनदास श्रेष्ठ, सापसका अध्यक्ष राधेश्याम लेकाली सहितले मन्तव्य राखेका थिए। यसअघि स्रष्टाहरूले चरणावती धामका विभिन्न धार्मिक एवं पर्यटकीय स्थानको अवलोकन गरेका थिए।

दोस्रो दिन नै कविता यात्राका सहभागी स्रष्टाहरूले ५३४ मिटर उचाइ रहेको शैलुङकाे थुम्कामा काव्य वाचन गरेका थिए।

काव्य वाचन गर्ने कविहरूमा क्रमशः  कवि नरेन्द्रबहादुर श्रेष्ठ, रामप्रसाद पन्त, प्राडा गोविन्दमान सिंह कार्की, सुभाषचन्द्र पौडेल भीमफेदीया, विनोद नेपाल, नन्दु उप्रेती, डा. बुनु दाहाल, नीता श्रेष्ठ, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, नरहरि प्रेमी र सापसका अध्यक्ष राधेश्याम लेकाली लगायतले आआफ्नो रचना वाचन गरेका थिए।

सबै कविले देशबारे लेखिएका कविता वाचन गरेका थिए। सोही दिन कलाकार रन्जना थपलियाले सोही स्थानमा नृत्य प्रस्तुत गरेका थिए। दोस्रो दिन स्रष्टाहरू कालापानीमा बास बसेका थिए।

तेस्रो दिन साहित्यिक पत्रकार संघको विशेष प्रस्तावमा कालापानीमा समाजसेवी शोभित उप्रेतीले उपलब्ध गराएको ५ आना जग्गामा “स्रष्टा घर“ निर्माणका लागि शिलान्यासको कार्यक्रम सम्पन  भएको थियो।

सो शिलान्यासको विधिवत् कार्य वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र अध्यक्ष राधेश्याम लेकालीले गरेका थिए भने कवि मुरारि सिग्देलले विधि पूरा गराएका थिए।

उक्त अवसरमा वडाध्यक्ष धनबहादुर तामाङ, निवर्तमान वडाध्यक्ष भरतप्रसाद दुलाल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, एसएस फाउन्डेसन, दोलखाका संयोजक नवराज खड्का राजाबाबु, समाजसेवी रुद्र थपलिया लगायतले आआफ्नो मन्तव्य राखेका थिए।

उक्त दिन स्रष्टाहरूलाई शैलुङ गाउँपालिका वडा ८ ले भैंसेमा पन्चे बाजाले स्वागत गर्दै बजार परिक्रमा गराएको थियो। सो अवसरमा अतिथिहरूलाई शारदा माविका विद्यार्थीहरूले ताली बजाएर तथा अभिवादन गरेर स्रष्टाहरूको स्वागत गरेका थिए।

कविता यात्राको अन्तिम दिन र अन्तिम कार्यक्रमको रूपमा शारदा माविको प्राङ्गणमा विशेष काव्य वाचन र सांस्कृतिक कार्यक्रमको आयोजना भएको थियो।

शैलुङ गाउँपालिका ८ का वडाध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले शैलुङकाे महत्व र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यात्राको उद्देश्य र महत्वबारे आआफ्नो मन्तव्य राखेका थिए।

उक्त अवसरमा शारदा माविका विद्यार्थीहरू सुजित काफ्ले, सविना भण्डारी, मनिषा कार्की, रेखा अधिकारी र सविना थापा तथा शिक्षक शिव बुढाथोकीले शैलुङसम्बन्धी कविता वाचन गरेका थिए।

यसैगरी राजधानीबाट गएका कविहरू क्रमशः कवि मुरारि सिग्देल, नरेन्द्रबहादुर श्रेष्ठ, प्राडा गोविन्दमान सिंह कार्की, सुभाषचन्द्र पौडेल भीमफेदीया, विनोद नेपाल, नन्दु उप्रेती, डा. बुनु दाहाल, नीता श्रेष्ठ, प्रद्युम्न जोशी, श्रीबाबु कार्की, रुद्र अधिकारी, नरहरि प्रेमी, रितु कंडेल, राधेश्याम लेकाली लगायतले कविता वाचन गरेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा प्रसिद्ध गायकहरू नवीन पौडेल, रितु कडेल र नरहरि प्रेमीले दमदार गीतहरू गाएका थिए भने नृत्यकार रन्जना थपलियाले बेजोड नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा वाचन गरिएका कविताहरूले सामाजिक रूपान्तरण, देशको वर्तमान अवस्था, विकृति र विसंगति तथा वर्तमान राजनीतिक दूरावस्थाबारे व्यङ्ग्य गरेका थिए भने गायकहरूले गाएका गीतहरूमा देशमा व्याप्त भ्रष्टाचारविरुद्ध सामाजिक जागरणका गीतहरू गाएका थिए।

गायन भइरहँदा उपस्थित विद्यार्थी, शिक्षक र स्थानीयबासीहरूले स्वतस्फूर्त सामूहिक नृत्य गरेका थिए।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के, शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती थापा, शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरतप्रसाद दुलाल, शैलुङ गाउँपालिका वडा ८ का पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती ,वडा ६ का अध्यक्ष दीपक  बस्नेत, जेष्ठ नागरिक भवन, चरणावतीका अध्यक्ष गुणबहादुर बुढाथोकी, समाजसेवी केशव चौलागाईं, समाजसेवी नवीन शाहीकाे सहभागिता रहेकाे थियाे।

त्यस्तै शारदा माविका प्रअ मानबहादुर तामाङ, चण्डीका माविका प्रअ ढालबहादुर थापा, शैलुङ्गेश्वर आदर्श माविका खेलबहादुर श्रेष्ठ, वडा सदस्यहरू क्षेत्रकुमारी कार्की, सुन्तली  विक, एसएस फाउण्डेशन दोलखाको संयोजक नवराज खड्का, चेम्बर अफ कमर्स दोलखाका उपाध्यक्ष पुरुषोत्तम ठकुरी, पत्रकारहरू - गोकर्ण भण्डारी, जीवन लामा, पुष्पा थपलिया, हेम थपलिया, समाजसेवीहरू - रुद्र थपलिया, सविना शेरचन, श्रीमती रुद्र थपलिया लगायत दोलखाका पत्रकार, समाजसेवी, स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

दोस्रो चरणमा सांस्कृतिक कार्यक्रममा बालकलाकार रन्जना थपलियाको नृत्य, गायिका रितु कडेल, गायक संगीतकार नरहरि प्रेमीको गीत र गायक नवीन पौडेलको गीतले शैलुङ उचालिएको थियो।

कार्यक्रममा दायित्वका सम्पादक रामप्रसाद पन्त र पत्रकार पुष्पा थपलियाको सक्रिय सहभागिता रहेको थियो।

सर्जकहरूलाई देश दर्शन गराउन, मोफसल र केन्द्रका सर्जक बीच सम्बन्ध गराउन कविता यात्राको शुरूवात सापसले गरेको हो। यसपटकको शैलुङको यात्रा संस्मरण समेटेर किताब समेत प्रकाशन गरिने सापसका अध्यक्ष राधेश्याम लेकालीले बताएका थिए।

कविता यात्रामा सहभागी साहित्यकारहरूले चरिकोट, चरणावती धाम, राम पाइला, सीता चुलो, बौद्ध छ्योर्तेन, मुक्तेश्वर पत्थर, भिमानीथान, फलाम पोखरी, जुरेढुंगा, महादेव, ढाड खोस्याउने ठाउँ, गाईढुंगा, घुँडा दुख्दा दल्ने ढुंगा, बाघ ढुंगा, गङ्गटो ढुंगा, जोरधारा, बाघखोर, गङटो ढुंगा, शैलेश्वर महादेव, धर्मद्वार, गोदावरी फुल्ने ठाउँ, दाइँ गर्ने डाँडा, सयथुम्का, ग्रेटवाल, टावर, भिमसेनको तरवार, विज्ञानपार्क, भिमानीथान आदि ठाउँको जानकारी र भ्रमण गरेका थिए।

तामाकोशी, चरणावती, गोपी नदीको त्रिवेणी घाटमा पुगेर सर्जकहरूले जल सेचन गरी पुर्खालाई तर्पण गरेका थिए।

प्रकाशित: ९ पुस २०८० ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App