६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

श्रीलंकाको पराजयले बाहिरियो अस्ट्रेलिया

बेन स्टोक्सको अविजित ४२ रनको मद्दतमा इङ्ल्यान्ड शनिबार श्रीलंकालाई चार विकेटले स्तब्ध बनाउँदै आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

ग्रुप वानबाट न्युजिल्यान्ड समूह विजेताको रूपमा सेमिफाइनल पुगिसकेको छ। समूह उपविजेता बन्ने होडमा साबिकको विजेता अस्ट्रेलियासँगै इङल्यान्ड दौड थिए। शुक्रबार अस्ट्रेलियाले अफगानिस्तानमाथि चार रनको जितसहित सेमिफाइनल सम्भावना कायम राखेको थियो। शीर्ष स्थानको न्युजिल्यान्डसँगै इङ्ल्यान्ड र अस्ट्रेलियाको समान पाँच खेलमा समान सात अंक नै भए पनि नेट रनरेटमा अस्ट्रेलिया पछाडि पर्‍यो। अस्ट्रेलियालाई उपाधि रक्षाको लक्ष्यमा कायम रहन इङल्यान्डले श्रीलंकालाई नतिजा सम्पिएको कामना गर्नुपर्ने थियो।

तर, श्रीलंकामाथि इङल्यान्डको जितसँगै अस्ट्रेलियाको लक्ष्य पूरा हुन सकेन। नेट रनरेटमा अस्ट्रेलियालाई पछि पार्दै इङ्ल्यान्ड समूह उपविजेताको रूपमा अन्तिम चारमा पुग्यो। इङ्ल्यान्डसँग वर्षाका कारण खेल रोकिँदा अंक बाँड्नु र पहिलो खेलमा न्युजिल्यान्डलाई ८९ रनको नतिजा सुम्पिनु अस्ट्रेलियाका लागि महँगो साबित भयो। श्रीलंकाले प्रस्तुत गरेको एक सय ४२ रनको लक्ष्य इङ्ल्यान्डले दुई बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर जस बटलर र एलेक्स हेल्सले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्दै इङ्ल्यान्डलाई गतिलो सुरुआत दिलाए।

बटलरले २३ बलमा दुई चौका र एक छक्कासहित २८ रन जोडे। हेल्सले ३० बलमा सात चौका र एक छक्का मद्दतमा ४७ रन जोडे। यी दुवैलाई वानिडु हसरंगा डी सिल्भाले पवेलियनको बाटो देखाए। स्टोक्सले ३६ बलमा दुई चौका प्रहार गरे। श्रीलंकाका हसरंगा, धनञ्जय डी सिल्भा र लाहिरू कुमाराले समान दुई विकेट लिए। त्यस अघि टस जितेर ब्याटिङका लागि आएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रनको मध्यम योगफल खडा गर्‍यो।

श्रीलंकाका ओपनर पाथुम निसंका र कुशल मेन्डिसले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरे। मेन्डिसले १४ बलमा एक चौका र १ छक्का मद्दतमा १८ रन जोडे। निसंकाले ४५ बलमा दुई चौका र पाँच छक्का मद्दतमा ६७ रन जोडे।

त्यस्तै भानुका राजापक्षले २२ बलमा तीन चौकासहित २२ रन बनाए। इङ्ल्यान्डका मार्क वुडले तीन विकेट लिँदा बेन स्टोक्स, क्रिस वक्स, साम कुरान र आदिल रसिदले समान एक विकेट निकाले। श्रीलंकाले सन् २०१४ पछि इङ्ल्यान्डलाई ट्वान्टी–२० विश्वकपको कुनै पनि खेलमा हराउन सकेको छैन।

प्रकाशित: २० कार्तिक २०७९ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App