६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

प्रदर्शनलाई समर्थन जनाएको भन्दै इरानी पूर्वफुटबलर गिरफ्तार

हिरासतमा रहँदा एक कुर्दिश युवतीको ज्यान गएको विषयविरुद्ध भएको प्रदर्शनलाई समर्थन जनाएको भन्दै पूर्वफुटबलरलाई त्यहाँको आधिकारिक निकायले गिरफ्तार गरेको इरानी सञ्चारमाध्यमले बताएका छन्।

हिजाब राम्ररी नलगाएको आरोपमा तेहरानबाट सेप्टेम्बार १३ तारिखमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको हिरासतमा रहँदा गत साता ज्यान गएको थियो। हिरासत कक्षमै अचेत भएपछि उनको मृत्यु भएको थियो।

अमिनीको टाउकोमा लाठी प्रहार गरिएको र प्रहरीको गाडीमा ठोक्काइएको विवरण सार्वजनिक भएका छन्। यद्यपि सरकारी अधिकारीहरूले भने त्यसको खण्डन गरिरहेका छन्। अमिनीको ज्यान गएसँगै इरानमा पछिल्लो समय प्रदर्शन चर्किंदै गएको छ। प्रदर्शन र झडपमा परी अहिलेसम्म ५० भन्दा बढीले ज्यानसमेत गुमाइसकेका छन् भने सयौं संख्यामा प्रदर्शनकारीलाई त्यहाँको सुरक्षा निकायले पक्राउ गरेको छ।

‘पर्सेपोलिस फुटबलका पूर्वखेलाडी हुसेन माहिनीलाई न्यायपालिकाको निर्देशनमा सामाजिक सन्जालमा समर्थन जनाएको भन्दै पक्राउ गरिएको छ,’ त्यहाँको प्रान्तीय समाचार संस्था आइआरएनएले भनेको छ।

प्रान्तीय सरकारले बिहीबार वारेन्ट जारी गर्दै पूर्वखेलाडीलाई नियन्त्रणमा लिन निर्देशन दिएको थियो। सामाजिक सन्जालमा प्रदर्शनलाई सघाउ पुग्ने किसिमका पोस्ट भएपछि उनलाई पक्राउको आदेश दिएको सञ्चार माध्यमले उल्लेख गरेका छन्। त्यहाँको अर्को समाचार संस्था आइएसएनएले समर्थन गरेको भरमा सार्वजनिक व्यक्तिलाई नियन्त्रण लिनु न्यायोचित नहुने उल्लेख गरेको छ।

माहिमीले उमेरसमूह हुँदै अहिले राष्ट्रिय टोलीका विभिन्न प्रतियोगिता खेलेका छन्। डिफेन्डर माहिमी इरानको फुटबल क्लब साइपाबाट फुटबल खेल्दै आइरहेका छन्। ३६ वर्षीय उनले इरानको यु–२३ टोलीबाट १२ खेल खेलेका छन् भने राष्ट्रिय टोलीबाट २३ खेल खेलेका छन्। हाल राष्ट्रिय टोलीभन्दा बाहिर रहेका माहिमी २०१४ को विश्वकप टोलीमा पनि अटाएका थिए। उक्त संस्करणमा इरान समूह ‘एफ’ मा रहेको थियो। समूहचरणका तीनमध्ये दुई खेलमा पराजित र एक खेल बराबरी खेल्दै टोली बाहिरिएको थियो।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परी ५० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। इन्टरनेटको पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप तथा इन्स्टाग्राम जस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई सरकारले बन्द गरेपछि आन्दोलनले झन् उग्र रूप लिएको छ।

इरानका महिलाहरू हिजाबले आफ्नो कपाल छोप्न र शरीर ढाक्न लामो तथा खुकुलो किसिमको लुगा लगाउन बाध्य छन्। टाउको छोपेको स्कार्फमुनि केही कपाल देखिएको आरोपमा गत सेप्टेम्बर १३ मा अमिनीलाई प्रहरीले तेहरानमा गिरफ्तार गरेको थियो।

कुर्दिश युवतीको ज्यान गएपछि इरानका अन्य खेलसम्बद्ध पदाधिकारीहरूले पनि आन्दोलनको समर्थन गरेका छन्। सँगै नायकनायिका, फिल्मी निर्माताहरूले पनि प्रदर्शनमा साथ दिएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मंगलबार भियनामा इरानको सेनेगलसँग खेल हुँदा इरानको देश झल्किने पोसाकका अलावा समग्र टोलीले कालो रंगको कपडा लगाउँदै विरोधसमेत जनाएका थिए।

प्रकाशित: १५ आश्विन २०७९ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App