१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

‘नतिजा प्राप्त गर्न सुविधा बढाउनुपर्छ’

रमा सिंह

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पहिलो कप्तान रमा सिंहले साफ च्याम्पियनसिपमा उपाधि जित्नका लागि महिला खेलाडीलाई हौसलासँगै सेवासुविधा दिनुपर्ने बताएकी छिन्।

नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै फुटबलकी पहिलो महिला कप्तान र सञ्चारकर्मी रमा सिंहले नेपालमा आयोजना हुन लागेको छैटौं संस्करणको साफ च्याम्पियनसिपका लागि अहिले हौसला आवश्यक रहेको बताएकी हुन्।

अघिल्ला केही संस्करणमा नेपाल फाइनलमा प्रवेश गरे पनि भारतसँग पराजित भई उपविजेतामा सीमित हुँदै आएको थियो। पछिल्लो पटक विराटनगरमा सम्पन्न प्रतियोगितामा पनि नेपाल भारतसँग पराजित भएको थियो। सिंहले नेपाली खेलाडीलाई आवश्यक पर्ने सेवासुविधा विगतभन्दा धेरै भए पनि सफलता प्राप्त गर्न लागि अझै सेवासुविधा थप्नुपर्ने बताएकी हुन्।

तेस्रो पक्षबाट भारतीय फुटबल संघमा हस्तक्षेप गरेपछि प्रतिबन्धमा परेको अवस्थामा नेपालको साफ उपाधि उचाल्ने सम्भावना भएको भन्दै महिला खेलाडीलाई हौसला आवश्यकता भएको औंल्याएकी हुन्। ‘अहिले भारतको फुटबल प्रतिबन्धमा परेको छ। नेपाली महिला टोली पटकपटक फाइनल प्रवेश गरे पनि उपाधि उचाल्न सकेको छैन,’ महिला फुटबलर रमा सिंहले भनिन्, ‘यस संस्करणमा नेपाली महिला टोलीलाई अवसर छ। उनीहरूलाई हौसलाको खाँचो छ।’

छैटौं संस्करणको साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुँदै छ। अन्तरक्रिया कार्यक्रममा पूर्वकप्तान सिंहले खेलजीवनको आफ्नो अनुभव बाँडेकी थिइन्। उनले नेपालीको सुरुआती दिनका फुटबल र वर्तमान फुटबलको तुलना गर्न भ्याइन्।

‘उतिबेला बलको अभावले कुदेर मात्र पनि अभ्यास पूरा गरेका थियौं। कतिपय अवस्थामा बुट हुँदैनथ्यो। पहिलो अन्तर्राष्ट्रिय खेलमा पनि केही खेलाडी बुटबिनै पुगेका थिए,’ उनले भनिन्, ‘तर, अहिले फुटबलको स्तर केही राम्रो भएको छ। खेलाडीले सेवासुविधा पाउन थालेका छन्। चर्चा पनि हुने गर्छ। भत्ता र होस्टल लगायतको व्यवस्था छ। केही राम्रा खेलाडीको तारिफ पनि हुने गरेको छ। उनीहरूलाई अझ प्रोत्साहन गर्न जरुरी छ।’

फुटबल करियरलाई बिट मार्दै अमेरिका बस्दै आएकी सिंह अहिले नेपाल फर्किएकी हुन्। उनले अब आफू नेपालमा बसेर फुटबल र टेलिभिजन अनुभव सेयर गर्दै टेलिभिजन विकासमा लागिपर्ने बताइन्।

प्रकाशित: ३ भाद्र २०७९ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App