५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

पारसले लिजेन्ड्स लिग क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले विश्वका चर्चित क्रिकेटर सम्मिलित लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन्।

लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) ले आइतबार आफ्नो सामाजिक सन्जालमार्फत पारससहित विश्वका चर्चित क्रिकेटरले दोस्रो संस्करणमा खेल्ने पुष्टि गरेको हो। न्युजिल्यान्डका इयान बट्लर, मिचेल म्याकक्लेनघन, जिम्बाब्वेका इल्टन चिगुम्बरा, क्रिस्टोफर एमपोफु, श्रीलंकाका धमिका प्रसाद, चामिन्दा दास, भारतका लक्ष्मीरतन शुक्ला र नेपाली क्रिकेटका पारस खड्कालाई दोस्रो सिजनका लागि थपिएको हो। पारसले गत वर्ष मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए।

उनको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक ट्वान्टी २० विश्वकप खेलेको थियो भने एकदिवसीय मान्यता पनि प्राप्त गर्‍यो।

गत हप्ता मात्र आयोजकले दक्षिण अफ्रिकाका डेल स्टेन, ज्याक कालिन, भारतका एस बद्रीनाथ, वीरेन्दर सेहवाग, इर्फान पठान, युसुफ पठान, प्रवीण ताम्बे, नमन ओझा, स्टुआर्ट बिन्नी, मोन्टी पानेसर, श्रीलंकाका लिजेन्ड मुरलीथरन र अफगानिस्तानका अस्गर अफगानले पनि लिजेन्ड क्रिकेट खेल्ने जनाएको थियो। लिजेन्ड क्रिकेट भारतमा सेप्टेम्बरदेखि अक्टोबरसम्म आयोजना हुनेछ।

शनिबार मात्र आयोजकले प्रतियोगितालाई ओमानबाट भारतमा सारिएको घोषणा गरेको हो। लिगमा चार टोलीमा कुल एक सय १० खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा १५ खेल हुनेछन्। लिजेन्ड क्रिकेटका सहसंस्थापक तथा सिइओ रमन राहेजाले विश्वका अन्य चर्चित क्रिकेटर पनि समावेश भएपछि क्रिकेट समर्थकका उत्साह बढेको प्रतिक्रिया दिए। ‘क्रिकेटका धेरै समर्थक रहेको भारतमा लिजेन्ड क्रिकेट हुँदै छ। पहिलो सिजनमा पनि हामीले राम्रो प्रतिक्रिया पायौं। त्यसैले आगामी सिजन सेप्टेम्बरदेखि भारतमा नै गर्ने निर्णय गरेका हौं,’ जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ श्रावण २०७९ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App