७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

प्रेरणाको स्रोत बन्ने सन्की खेलाडीको लक्ष्य

मोटो शरीर अनि सार्वजनिक कोर्टमा टेनिस र्‍याकेट बोकेर टेनिस खेल्ने चाहना, यस्तैगरी बितेको थियो निक किर्गियोसको बाल्यकाल। जो आइतबार विम्बल्डनको उपाधि जित्न सके शरीरको कारणले अपहेलनामा परेको बालबालिकालाई समेत यस खेलमा लाग्न प्रेरित गर्नेमा विश्वस्त देखिन्छन्।

अस्ट्रेलियाका किर्गियोसले अहिलेसम्म कुनै पनि ग्रान्ड स्लाम जितेका छैनन्। आइतबार ६ पटकका विम्बल्डन च्याम्पियन नोभाक जोकोभिचलाई हराउँदै उपाधि जित्न सके उनी सम्भवत् अल इङ्ल्यान्ड क्लबका अहिलेसम्मकै सबैभन्दा विवादस्पद विजेता बन्नेछन्। जोकोभिच पनि २१औं ग्रान्ड स्लामको खोजीमा छन्। पहिलो ग्रान्ड स्लाम उपाधिको संघारमा रहेका किर्गियोस विश्व नम्बर एक जोकोभिचविरुद्धको फाइनल अघि निद्रासमेत नलागेको बताउँछन्। कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडाल पेटमा चोटका कारण सेमिफाइनलबाट नाम फिर्ता लिन बाध्य भए।

त्यसपछि सहजै किर्गियोसको फाइनल यात्रा पक्का भएको हो। फाइनलको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जालमा आफ्नो बाल्यकालको तस्बिर सार्वजनिक गरेका छन्। जसमा मोटो शरीर भएका एक बालक टेनिस र्‍याकेट हातमा लिएर बसेको देखिन्छ।

‘मलाई लाग्छ, यो आफ्नो क्षमतामै दुबिधा राख्ने बालबालिकाका लागि बलियो सन्देश हुन सक्छ। हामी अघि बढिरहनुपर्छ। त्यो तस्बिर हेर्नुस्। साच्चै म ‘मोर्डन फेमिली’ नामक अमेरिकी कमेडी सिरियलको एक पात्र म्यानी जस्तै देखिएको छु। म क्यानबेरामा हुर्किएँ,’उनले भने, ‘मैले प्रशिक्षण गर्ने कोर्ट स्तरीय थिएन र निकै अव्यवस्थित थियो। अहिले म विम्बल्डनको फाइनलमा प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छु। म धेरै  बालकालिका लागि प्रेरणाको स्रोत बन्न सक्छु,जो विभिन्न बाहानामा अपहेलनामा परेका छन्।’

किर्गियोसको खेलजीवनमा निकै आरोह अवरोहपूर्ण रह्यो। विशेष गरी विपक्षी खेलाडी, खेल पदाधिकारी र समर्थकप्रति खराब व्यवहारका कारण समेत उनी विवादमा आइरहन्छन्। उनले यसअघि दुई पटक मात्र ग्रान्ड स्लामको क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका छन्। उनी पछिल्ला पटक सन् २०१५ मा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनल प्रवेश गरेका थिए।

विम्बल्डनमा भने उनको पहिलो सहभागिता सन् २०१४ मा रहेको थियो। १४४औं वरीयताका किर्गियोसले वाइल्ड कार्डमार्फत विम्बल्डनमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए। जहाँ उनले चौथो चरणमा राफेल नाडाललाई स्तब्ध पारेका थिए। त्यो दिन उनले विश्वभर चर्चा बटुले।

‘कुनै दिन यस्तो पनि आयो। जहाँ मलाई टेनिसप्रति नै घृणा लाग्थ्यो,’किर्गियोसले भने, ‘तर पनि म यो खेलबाट टाढा जान सकिनँ। म आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी हुँ।’ स्टेफानोस सितसिपासविरुद्धको खेलमा दर्शकदीर्घातर्फ फर्कदै थुकेको भन्दै उनीमाथि १४ हजार डलर जरीवाना गरिएको थियो। तर, पनि उनले समर्थकको माया भने गुमाएनन्। विम्बल्डनको उपाधि जितेमा किर्गियोस जोकोभिच, राफेल नाडाल र रोजर फेडेररका मुख्य प्रतिस्पर्धी बन्न सक्छन्। ‘कृपया मलाई जोकोभिच, फेडेरर र नाडालसँग तुलना नगरिदिनु होला। उनीहरूको जस्तो क्षमता विरलै मात्र देख्न पाइन्छ,’किर्गियोसले भने।

प्रकाशित: २६ असार २०७९ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App