४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरा स्पोर्टस् अवार्डः को होला सर्वाेत्कृष्ट खेलाडी?

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना हुँदैछ। विश्व खेलकुद दिवसको अवसर पारेर मञ्चले छैठौं पोखरा स्पोर्टस अवार्ड–२०७८ आयोजना गर्न लागेको आयोजक खेलकुद पत्रकार मञ्चले बताएको छ। विभिन्न ७ विधामा अवार्ड वितरण गरिने मञ्चले जनाएको छ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष, वर्ष सर्वोत्कृष्ट खेलाडी महिला, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र  वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड वितरण गर्नेछ। मञ्चले चार वटा विधामा नोमिनेसन सार्वजनिक गरिसकेको छ। जस अनुसार सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ उत्कृष्ट ३ मा विधान अधिकारी (ब्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का (टेनिस) परेका छन् । त्यस्तै, सर्वोत्कृष्ट वर्ष खेलाडी महिलामा अरुणा शाही (भलिवल), मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) परेका छन्।

यसैगरी, वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा दर्शिल श्रेष्ठ (टेनिस), श्रृष्टि जैशी (क्रिकेट) र शाहिल लिम्बु (बक्सिङ) उत्कृष्ट ३ मा परेका छन। वर्ष उत्कृष्ट प्रशिक्षकमा रिजन प्रजु (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र निरज थापा (टेनिस) उत्कृष्ट ३ को मनोनयन सूचिमा परेका छन्।

उत्कृष्ट ३ मध्ये एक जनालाई उत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए। गत वर्षभरीको खेलहरुमा खेलाडीले जनाएको सहभागिता, पाएको उपलब्धी र देखाएको पर्फमेन्सका आधारमा निर्णायक कमिटीले गरेको आधारमा अवार्ड प्रदान गरिने उनले बताए।

यसैबीच, मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड यस वर्ष अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गर्ने जनाएको छ। बाँकी दुई विधा उत्कृष्ट खेल संघ र  वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने अवार्ड समारोहमा एकैपटक घोषणा गरेर अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।

पोखरा स्पोर्टस अवार्ड अन्तर्गत सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुष र महिलालाई टेल–जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ। त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई अवार्डसहित नगद पैंतीस–पैंतीस हजार रुपैयाँ प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए। यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्डबाट अवार्डेड हुने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ।  उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई पनि मनोनयन अवार्ड र प्रमाणपत्र प्रदान गरिने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: १७ असार २०७९ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App