१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

मानेको बहिर्गमनमा लिभरपुललाई कति क्षति?

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुल डार्विन नुनेजलाई कीर्तिमानी रकममा अनुबन्धन गर्न पाउँदा निकै खुसी भएको हुनु पर्दछ। तर, साडियो मानेको ६ वर्ष एन्फिल्ड बसाइँको अन्त्यमा पनि लिभरपुल दुखी हुन सक्छ।

मानेले एन्फिल्ड बसाइँ पूर्णविराम लगाउँदै नयाँ गन्तव्यको रूपमा जर्मन बुन्डेस लिगाको महारथी बायर्न म्युनिख रोजे। माने लिभरपुलको इतिहासमा सर्वाधिक सफल मध्येका एक खेलाडी हुन्। जसले दुई सय ६९ खेलमा १ सय २० गोल गरेका छन्। लिभरपुलले पछिल्ला ६ वर्षमा जितेको सबै प्रमुख उपाधिमा मानेको मुख्य भूमिका थियो। यस सिजनको अन्त्यतिर मानेसँगै मोहम्मद सलाह र रोबेर्टो फिर्मिनोको लिभरपुल बसाइँबारे धेरै चर्चा भयो। सबैको चासो यी तीन खेलाडी सन् २०२३ पछि पनि एन्फिल्डमै हुन्छन् वा हुँदैनन्?

रियाल मड्रिडविरुद्ध च्याम्पियन्स लिग फाइनलअघि सलाहले सम्झौता अवधिमा बाँकी रहेको एक वर्षका लागि एन्फिल्डमै रहने घोषणा गरेका थिए। मानेले भने च्याम्पियन्स लिगको फाइनलपछि यस विषयमा निर्णय लिने बताए। यससँगै मानेको एन्फिल्ड बसाइँ दुबिधामा परेको थियो। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले एन्फिल्ड भित्रिएपछि क्लबमा अनुबन्धित गरेका माने पहिलो खेलाडी थिए। क्लोपको प्रशिक्षणमा नै लिभरपुलले युरोपियन फुटबलमा आफ्नो गिरेको साख फर्काउन सफल भयो। माने सन् २०१६ मा ३४ मिलियन युरोमा साउथहमटनबाट लिभरपुलमा अनुबन्धन भएका थिए।  

पहिलो सिजनमा मानेले टोलीका लागि १३ गोल गरेका थिए। सो सिजन लिभरपुल दुई वर्षको अन्तरपछि च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको थियो। त्यसको दुई वर्षपछि लिभरपुलले च्याम्पिन्स लिगको उपाधि जित्यो। सन् २०१९–२० सिजनमा प्रिमियर लिगको उपाधि सफलता पनि पायो। जुन, लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगमा हात पारेको पहिलो सफलता थियो। लिभरपुल दुई पटक च्याम्पियन्स लिगको उपविजेता बन्यो भने प्रिमियर लिगमा पनि दुई पटक नै उपविजेतामा खुम्चियो। २०२१–२२ सिजनमा भने लिभरपुलले एफए कप र इङ्लिस लिग कपको उपाधि जित्यो।

माने अनुबन्धित भएपछि सलाहा र फिर्मिनो लिभरपुल भित्रिए, जसले क्लोपको अग्रपंक्ति थप बलियो बन्यो। जुन अग्रपंक्तिले पछिल्ला पाँच सिजनमा सबैखाले प्रतियोगिता गरी ३ सय ३८ गोल गर्‍यो। लिभरपुलले माने, सलाह र फिर्मिनोसँगको सम्झौता नवीकरण गर्नु अघि नै बलियो अग्रपंक्ति कायम राख्न डिएगो जोटा, लुइस डियाजलाई अनुबन्धन गरेको थियो। जसमा फुलहमका फाबियो कार्भाल्हो थपिएका छन्। सरुवा बजार बन्द हुनुभन्दा अघि नुनेजको एन्फिल्ड यात्रा लिभरपुलको अर्को चलाखीपूर्ण निर्णय हो। सन् २०२१–२२ सिजन माने उत्कृष्ट लयमा थिए। उनी भियारियालविरुद्ध च्याम्पियन्स लिगको सेमिफाइनलको दुवै लेगमा गोल गर्न सफल भए।

उनकै गोलमा लिभरपुल अप्रिलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक खोस्न सफल भएको थियो। मानेकै गोलमा लिभरपुलले एस्टन भिल्लाविरुद्ध तीन अंक जोड्दै उपाधि सम्भावना कायम राखेको थियो। तर, प्रिमियर लिग सकिए लगत्तै मानेले एन्फिल्ड यात्रामा पूर्णविराम लगाउने संकेत गरे। च्याम्पियन्स लिगको फाइनलपछि नयाँ गन्तव्यको घोषणा गर्ने बताए। त्यसको केही दिनपछि सेनेगलबाट अफ्रिका कप अफ नेसन्समा सहभागी भैरहँदा उनले आफ्नो एन्फिल्ड बसाइँ कायम रहने वा अन्त्य हुने निर्धारण सेनेगलका नागरिकले गर्ने घोषणा गरे।

यद्यपि, उनले आफ्नो उद्देश्य लिभरपुलका समर्थकलाई निराश बनाउने नभएको भन्दै माफी मागेका थिए।

प्रकाशित: ७ असार २०७९ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App