६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको सुखद अन्त्य

आइसिसी यु–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ। विश्वकप सम्भावना टरिसकेको अवस्थामा आयोजकसँग बुधबार भएको खेलमा नेपालले जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गरेको हो।

क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर मात्र ६१ रन मात्र बनाउन सक्यो। कसिलो बलिङ गरेका नेपाली बलरसामु मलेसियाका लागि एल्सा हन्टेरले सर्वाधिक २८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

यसबाहेक ऐनुर रिधवानले आठ, नुरहसिमा तजुद्दिनले सात र नुर अबेदुल समदले पाँच रनको पारी खेले। बलिङतर्फ नेपालकी कप्तान कृत्तिका मरासिनीले दुई विकेट लिँदा मनीषाकुमारी उपाध्यायको नाममा एक विकेट रह्यो। यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले पूरै २० ओभर खेल्दै सात विकेट गुमाएर ८६ रनको योगफल तयार गरेको थियो।

नेपालकी अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाउँदा आश्मा पुलामीले २६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। मलेसियाकी नुर अबेदुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए। जित निकाले पनि नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ।

यसअघि पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दा नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग भने १० विकेटले पराजित भएको थियो। यस्तै तेस्रो खेलमा भुटानविरुद्ध चार विकेटको जित निकालेको नेपाल चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो।

मलेसियाको आयोजनामा भएको प्रतियोगितामा नेपाल, युएई, थाइल्यान्ड, भुटान र कतारले सहभागिता जनाएका थिए। शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ विश्वकप खेल्ने प्रावधानअनुरूप युएईले थाइल्यान्डलाई पराजित गर्दै शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान बनाइसकेको छ।

प्रकाशित: २७ जेष्ठ २०७९ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App