२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

बन्द प्रशिक्षण बुधबारदेखि

चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो चरणको बन्द प्रशिक्षण बुधबारबाट सुरु गर्ने भएको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार बन्द प्रशिक्षणको उद्घाटन गर्दै सदस्यसचिव टंकलाल घिसिङले जेठ २४ गतेदेखि असार २३ गतेसम्म प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिए।

यही वर्ष चीनमा आयोजना हुने भनिए पनि प्रतियोगिता कोभिड–१९ महामारीका कारण स्थगित भएको छ। यद्यपि प्रतियोगिताको लागि भने राखेपले २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ। त्यसैअन्तर्गत सबै खेलको प्रशिक्षण सुरु भएको जनाएको हो।

स्थगित प्रतियोगिताको नयाँ मिति सार्वजनिक नभए पनि राखेपले तयारीस्वरूप खेलहरूको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय लिएको हो। प्रशिक्षण गर्ने निर्णय भएसँगै खेलाडी उत्साहित भएका छन्। खेलाडीको प्रतिनिधित्व गर्दै एथलेटिक्सकी सन्तोषी श्रेष्ठले बन्द प्रशिक्षण खेलकुद प्रतियोगिता सम्मुखमा भन्दा पनि १२ महिनै भए खेलाडीका लागि राम्रो हुने बताइन्।

‘आउँदै गरेको एसियन गेम्सका लागि राखेपले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा निकै खुसी लागेको छ। प्रतियोगिताको मिति अनिश्चित हुँदाहुँदै पनि प्रशिक्षणमा बोलाउनुले खेलाडीको मनोबल बढ्छ,’ एथलेटिक्स खेलाडी सन्तोषीले भनिन्, ‘यस्तै प्रशिक्षण केही महिनाका लागि भन्दा पनि १२ महिनै भए राम्रो हुन्थ्यो। पदक ल्याउनका लागि निरन्तरको प्रशिक्षणले धेरै सहयोग गर्छ।’

प्रशिक्षकको तर्फबाट भारोत्तोलन खेलका प्रशिक्षक राम पौडेलले बन्द प्रशिक्षणले खेलाडी र प्रशिक्षकमा ऊर्जा थपिएको बताए। बन्द प्रशिक्षणमा २३ खेलबाट ५ सय १४ खेलाडी सहभागी हुनेछन्। जसमा २ सय ३० पुरुष र २ सय ८४ महिला खेलाडी सहभागी छन्।

राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीले गरेको सिफारिसको आधारमा प्रशिक्षण सुरु गरिएको हो। पहिलो चरणको प्रशिक्षण जेठ २५ देखि असार २५ सम्म आयोजना हुनेछ। दोस्रो चरणमा असार २४ देखि २७ गतेसम्म खेलाडी छनोट गरिनेछ। असार २८ देखि ३० सम्म आन्तरिक मूल्याङ्कन हुने राखेपले जनाएको छ।

यस्तै बन्द प्रशिक्षणको उद्घाटन पछि बोल्दै राखेपका सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय टिमलाई बलियो र व्यवस्थित बनाउन विशेष प्रशिक्षणको सुरुआत गरिएको र ३६५ दिन नै खेलाडीलाई प्रशिक्षणमा सामेल गराउन परिषद्ले तयारी गरिरहेको बताए।

उनले एसियाली खेलकुद मात्र नभई प्रशिक्षण अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई पनि सहज हुने बताउँदै खेलाडीकै उपलब्धिका कारण खेलकुदको निकाय मात्र नभई सिंगो राज्यले गर्व महसुस गर्ने वातावरण बनेको धारणा व्यक्त गरे।

एसियन गेम्स भने अनिश्चितकालका लागि स्थगित भइसकेको छ। प्रतियोगिताको नयाँ मिति घोषणा भएको छैन। तर, हाइ पर्फमेन्स कमिटीले प्रतियोगिताका लागि तयारीलाई अघि बढाउन राखेपसमक्ष प्रस्ताव गरेको हो।

नेपालले एसियन गेम्समा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्यान्डबल, भलिबल, क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागिता जनाउनेछ।

प्रकाशित: २५ जेष्ठ २०७९ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App