१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रुटको अविजित शतकमा इङ्ल्यान्ड विजयी

पूर्व कप्तान जोए रुटको अविजित शतकीय इनिङ योगदानमा इङ्ल्यान्डले न्युजिल्यान्डसँगको पहिलो टेस्ट आइतबार पाँच विकेटले आफ्नो पक्षमा पारेको छ।

लर्ड्समा जितसँगै इङ्ल्यान्डको पहिलो पटक कप्तानी गरेका बेन स्टोक्सले पनि सुखद सुरुआत गर्ने अवसर पाएका छन्। ६४ खेलको कप्तानी गरेका रुट पाँच वर्षपछि गत अप्रिलमा सो जिम्मेवारीबाट हटेका थिए। तथापि क्रिकेटको जन्मथलो लर्ड्समा रुटले शतक प्रहार गर्दै आफू अझै पनि उत्कृष्ट ब्याट्सम्यान रहेको साबित गरे।

इङ्ल्यान्डले विश्व टेस्ट च्याम्पियनसिपको साबिक विजेता न्युजिल्यान्डमाथि एक दिनअगाडि नै सफलता निकाल्दै तीन खेलको शृंखलामा १–० को अग्रता लियो। २ सय ७७ रनको लक्ष्य इङ्ल्यान्डले पाँच विकेटको क्षतिमा २ सय ७९ रन जोड्दै पूरा गर्‍यो।

यस क्रममा रुटले नटआउट १ सय १५ रनको शतकीय इनिङ पूरा गरे। घरेलु टोली ६९/४ को नाजुक अवस्थामा रहँदा रुटले शतकीय इनिङ योगदान गर्दै जित दिलाएका हुन्। उनलाई छैटौं विकेटका लागि विकेटकिपर बेन फोक्सले साथ दिए। यस क्रममा यो जोडीले १ सय २० रनको साझेदारी गर्‍यो।

बेन ३२ रनमा नटआउट रहे। चौथो दिन २१६/५ को अवस्थाबाट इङ्ल्यान्डले ब्याटिङ गरेको थियो। आइतबार रुट र बेन फोक्सले न्युजिल्यान्डको बलिङ निरास बनाउँदै जित दर्ता गराए। रुटले टेस्ट क्रिकेटमा २६औं शतक प्रहार गर्दै १० हजार रन पूरा गरे। उनी यो आँकडा पार गर्ने इङ्ल्यान्डका १४औं ब्याट्सम्यान हुन्।

टेस्टमा १० हजार रन पूरा गर्ने रुट संयुक्त रूपमा सबैभन्दा कान्छा खेलाडी पनि बने। यसअघि इङ्ल्यान्डकै पूर्वकप्तान एलेस्टर कुकले ३१ वर्ष १ सय ५७ दिनमा यो सफलता प्राप्त गरेका थिए। पाहुना टोली न्युजिल्यान्डले पहिलो इनिङमा १ सय ३२ रन जोड्दा इङ्ल्यान्डले पनि जबाफी १ सय ४१ रन मात्र बनाउन सकेको थियो।

तर, इङ्ल्यान्डका भरपर्दा ब्याट्सम्यान घरेलु टोलीलाई दरिलो साथ दिए। रुटको त्यो प्रदर्शनपश्चात् इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले कति राम्रो खेलाडी भन्दै तारिफ गरेका थिए। ‘जुन तरिकाले आज सामूहिक प्रयास गर्‍यौं। यस किसिमको टिम इफोर्ट मलाई निकै मन पर्छ,’ स्टोक्सले भने।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले इङ्लिस टोलीले जस्तै आफ्नो टोलीले पनि उत्तिकै संघर्ष गरेको उल्लेख गर्दै प्रदर्शन भने उनीहरूको केही राम्रो रहेको बताए। इङ्ल्यान्डले नयाँ प्रशिक्षक ब्रेन्डन म्याक्कुलमको नियुक्तिपछिको पहिलो खेलमा नै सफलता पायो। म्याक्कुलम न्युजिल्यान्डका पूर्वकप्तान समेत हुन्। यी दुईबीच दोस्रो टेस्ट शुक्रबारदेखि नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा हुनेछ।

प्रकाशित: २३ जेष्ठ २०७९ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App