१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सदस्यसचिव घिसिङ र डा.सब्रिनाबीच भेटवार्ता

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र चार पटक ओलम्पिकमा सहभागी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरबीच शुक्रबार भेटवार्ता भएको छ।

त्रिपुरेश्वरस्थित राखेप सदस्यसचिवको कार्यकक्षमा यी दुईबीच भेटवार्ता भएको हो। अस्ट्रियाकी सब्रिनाले बेइजिङ, लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न उनी नेपाल आएकी हुन् र गत मे १६ मा उनले सगरमाथाको सफल आरोहण गरिसकेकी छन्। सदस्यसचिव घिसिङले सब्रिना र उनको भ्रमण दलमा रहेका अन्तर्राष्ट्रिय जुडो महासंघ (आइजेएफ) का मिडिया डाइरेक्टर निकोलसलाई मायाको चिनो प्रदान गरे। सब्रिना पनि आइजेएफको कमिटीमा आबद्ध छिन्।

सो अवसरमा घिसिङले सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा सब्रिनालाई बधाई दिँदै खेलाडीले खेलका साथै अन्य चुनौतीपूर्ण कार्य पनि गर्न सक्छन् भन्ने सन्देश दिन सफल भएको धारणा राखे। सब्रिनाले आफ्नो यात्राबारे सदस्यसचिव घिसिङलाई जानकारी गराइन्। सगरमाथा आरोहण यात्रा सब्रिनाले पश्चिम बंगालको डिघास्थित समुद्री सतहको जिरो लेभलबाट सुरु गरेकी थिइन्। त्यहाँदेखि बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकलका साथै पैदल यात्रा गरेकी थिइन्।

उनलाई १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णविजेता साइक्लिस्ट लक्ष्मी मगर र अर्का साइक्लिस्ट हर्कबहादुर तामाङले उनलाई सहयोग गरेका थिए। सदस्यसचिव घिसिङले उनीहरूलाई पनि मायाको चिनो प्रदान गरे। विश्व च्याम्पियनसिपमा दुई कांस्य जितेकी सब्रिना युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा दुई पटक आफ्नो स्पर्धामा च्याम्पियन नै भइन्। सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन्। सब्रिना जुन ८ मा स्वदेश फर्किंदैछिन्।

प्रकाशित: २१ जेष्ठ २०७९ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App