७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

रियाललाई कीर्तिमानी उपाधि

स्पेनिस क्लब रियाल मड्रिडले इङ्लिस प्रिमियर लिग क्लब लिरभपुलमाथि शनिबार १–० को रोमाञ्चक जित निकाल्दै युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि उचाल्दा ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरको गोल निर्णायक बन्यो।

ला लिगा च्याम्पियन रियालले चार वर्षअघिको फाइनलमा लिभरपुलविरुद्ध निकालेको नतिजालाई दोहोर्‍याउँदै रियाल मड्रिडले च्याम्पियन्स लिगमा कीर्तिमानी १४औं उपाधि जितेको छ। युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा चार वर्षअघि २०१८ मा पनि रियालले फाइनलमा लिभरपुललाई ३–१ को नतिजामा निराश पारेको थियो। लिभरपुललाई अर्को एउटा निराशा बनाउन रियालले पेरिसमा सम्पन्न खेलमा १–० को विजयी नतिजा निकालेको हो।

सुरक्षाका कारण करिब आधा घण्टा गरी सुरु भएको खेलमा ब्राजियन खेलाडी भिनिसियसले ५९औं मिनेटमा गरेको गोल नै पर्याप्त भएको थियो। फेडेरिको भाल्भेर्डेको क्रसलाई भिनिसियसले सदुपयोग गर्दै गोलमा परिणत गर्दा रियाल नयाँ इतिहास रच्न सफल भएको हो। भिनिसियर जुनियरको जारी सिजनको च्याम्पियन्स लिगमा यो चौथो गोल हो।

उनको चौथो गोल नै टोलीलाई उपाधि दिलाउन पर्याप्त भएको हो। च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने सन् २००० यता जन्मिएको पहिलो खेलाडी बन्ने कीर्तिमान पनि भिनिसियस जुनियरले यो गोलसँगै आफ्नो नाममा लेखाए। यसै गरी रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीको नाममा पनि नयाँ कीर्तिमान रह्यो। एन्सेलोट्टीको चार पटक च्याम्पियन्स लिगको उपाधि जित्ने एक मात्र प्रशिक्षक बन्न सफल भएका छन्।

चार वर्षअघि किभमा भएको फाइनलमा भोगेको हारको बदला लिने लिभरपुलको उद्देश्यमा पुनः ठेस लागेको छ। योर्गान क्लोपको टोलीको सातौं च्याम्पियन्स लिग उपाधि जित्ने प्रतीक्षा थप समयका लागि लम्बिएको छ। च्याम्पियन्स लिगको इतिहासमा रियालले सर्वाधिक १४ पटक उपाधि जितेको छ भने सात पटक उपाधि जितेको इटालियन क्लब एसी मिलान दोस्रो स्थानमा छ। लिभरपुललाई निराश बनाउन रियालका गोलकिपर थियाबाउट कोर्टवाको प्रदर्शन निकै उत्कृष्ट रह्यो।

रियालका गोलकिपर थियाबाउटले ९ वटा लिरभपुलबाट भएका बाम्बारका प्रहारलाई उत्कृष्ट बचाउ गर्दै विपक्षीलाई निराश बनाएका थिए। उनकै उत्कृष्ट प्रदर्शनमा लिग कप र एफए कप जितिसकेको लिभरपुल एकै सिजनमा तीन उपाधि जित्ने कीर्तिमान बनाउनबाट पनि चुक्यो। निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी सुरु भएको खेलमा लिभरपुलका मोहम्मद सालाहका दुई प्रहार विपक्षी गोलकिपर कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए।

यसैगरी १७औं मिनेटमै साडियो मानेको प्रहार पोस्टमा लागेर फर्किंदा कोर्टवाले नै नियन्त्रणमा लिएका थिए। बारम्बारको प्रयासमा रहेको लिभरपुलका लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, लुइस डियाज, थियागो अल्कान्टारा, फाबिन्हो र जोर्डन हेन्डरसनका प्रहार पनि रियालका गोलकिपर कोर्टवा उत्कृष्ट बचाउन गर्दै विफल पारेका थिए।

प्रिमियर लिगको पनि उपाधि उचाल्ने होड अन्तिम खेलमा पुग्दा निराश भएको लिभरपुल च्याम्पियन्स लिगमा पनि निराश भएको हो।

‘लिभरपुलले समग्र सिजन निकै राम्रो खेल्यो। चारमध्येका दुई प्रतियोगितामा नतिजा हाम्रो पक्षमा आउन सकेन। हामीले सामान्य अन्तरमा उपाधि गुमाउन पुग्यौं,’ लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले भने।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ४४औं मिनेटमा रियालका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले गरेको गोलले अफसाइड भएको थियो। यद्यपि सम्हालिएको प्रदर्शन गर्दै उपाधि उचाल्न सफल भएको रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले बताए।

‘निकै सन्तुलित खेल प्रदर्शन गर्दै खेल्न सक्यौं। टोलीले निकै स्तरीय खेल देखाउन सक्यो,’ रियालका प्रशिक्षक एन्सोलोट्टीले भने, ‘पछिल्लो वर्ष टोली सम्हाल्न आउँदा म विश्वस्त थिएँ। सँगै हाम्रो सिजन पनि फलदायी बन्यो। क्लबले कुनै पनि पक्षमा कमी हुन दिएन। सोही कारण टोली मानसिक तथा शारीरिक हिसाबमा बलियो बन्यो। जसको नतिजा आज प्राप्त भएको छ।’

उपाधि जितेको स्पेनिस क्लब रियाल मड्रिडका डिफेन्डर मार्सेलोको लागि च्याम्पियन्स लिगको उपाधि क्लब बसाइ अन्तिम रह्यो। खेल सकिएसँगै ब्राजिलियन डिफेन्डर मार्सेलोले रियल छाड्ने पुष्टि गरेका छन्। मार्सेलोको रियालसँगको सम्झौता जुनबाट सकिँदै छ। ३४ वर्षीय डिफेन्डर मार्सेलो २००७ मा रियाल आएका थिए। रियालका लागि उनले २५ उपाधि जितेका छन्। जसमा ५ च्याम्पियन्स लिग रहेको छ।

प्रकाशित: १६ जेष्ठ २०७९ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App