७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

इङ्ल्यान्ड प्रशिक्षकद्वारा स्टोक्सको प्रशंसा

इङ्ल्यान्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलुमले टेस्ट टोलीको नयाँ युगको सुरुआतका लागि अलराउन्डर बेन स्टोक्स असर गर्ने नेतृत्वकर्ता भएको बताएका छन्।

तत्कालीन कप्तान जो रुटले राजीनामा दिएपछि इङ्ल्यान्ड क्रिकेट बोर्डले स्टोक्सलाई टेस्ट टोलीको कप्तानीको जिम्मेवारी दिएको थियो। म्याक्कुलुमलाई भने केही महिनाअघि मात्र इसिबीले इङ्ल्यान्ड टेस्ट टोलीको प्रशिक्षक नियुक्त गरेको थियो। रुटको कप्तानीमा इङ्ल्यान्डको प्रदर्शन बिर्सनलायक थियो। यस क्रममा इङ्ल्यान्डले १७ खेलमा मात्र एक खेल जितेको थियो। इङ्ल्यान्डले आगामी साताबाट न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखला खेल्दै छ।

न्युजिल्यान्डका पूर्वकप्तान म्याक्कुलुमले टेस्ट टोलीको प्रशिक्षण सम्हालेको यो पहिलो पटक हो।

‘यो मेरा लागि पनि नयाँ सुरुआत हो,’ म्याक्कुलुमले भने, ‘इङ्ल्यान्डको खराब लयमा पूर्णविराम लगाउने नै मेरो पहिलो लक्ष्य हो। टोलीमा क्षमतावान् खेलाडी छन् र टोलीको तयारी पनि राम्रो छ। स्टोक्स इङ्ल्यान्डलाई सफलतामा पुर्‍याउने क्षमता राख्छन्। उनी उत्कृष्ट कप्तान बन्न सक्छन्। उनी निकै आक्रामक खेल्छन्, जसले गर्दा अन्य खेलाडीलाई सोही प्रकारको प्रदर्शन गर्न प्रेरणा मिल्नेछ। टोलीलाई स्वाभाविक लयमा फर्कनेमा म विश्वस्त छु।’ म्याक्कुलमले इङ्ल्यान्ड टोली स्वाभाविक लयमा फर्कनु समग्र टेस्ट क्रिकेटकै लागि फलदायी हुने पनि बताए।

‘हामीलाई स्वाभाविक लयमा फर्कने केही समय लाग्न सक्छ तर हामी सधैं खराब लयमै हुन्छौं भन्नु गलत हो,’ म्याक्कुलुमले भने।

इङ्ल्यान्डले जुन दुईबाट न्युजिल्यान्डविरुद्धको तीन टेस्ट खेलको शृंंखला खेल्नेछ। इङ्ल्यान्ड हाल विश्व टेस्ट च्याम्पियनसिपको अन्तिम स्थानमा छ। इङ्ल्यान्ड टोलीसँग चार वर्षको सम्झौता गरेका म्याक्कुलुमले आफ्नो टोली विश्व टेस्ट च्याम्पियनसिपको शीर्ष स्थानमा फर्कने क्षमता राख्ने बताए। ‘कुनै दिन हामी शीर्ष स्थानमा फर्कन सक्छौं।

अस्ट्रेलियाविरुद्धको एसेस शृंखलामा पनि आफूलाई अब्बल टोलीका रूपमा उभ्याउन सक्छौं,’ म्याक्कुलमले भने, ‘हामीले अझ लामो यात्रा तय गर्न बाँकी छ। म यो चुनौतीलाई अवसरका रूपमा लिन्छु। म उत्साही पनि छु। अहिलेको इङ्ल्यान्ड टोली निकै बलियो छ। क्षमतावान् खेलाडीले भरिएको छ। हामी आफ्नो लक्ष्य प्राप्तिमा विश्वस्त छौं।’

प्रकाशित: १५ जेष्ठ २०७९ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App