१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पूर्ण शर्माको टोलीलाई उपाधि

प्रोफेसनल गल्फर पूर्ण शर्मा नेतृत्वको टोलीले आइतबार सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम उपाधि जितेको छ।

पार–७२ को गोकर्ण गल्फ क्लबमा पूर्णको टोलीले १५३ स्कोरसहित प्रो–एमको उपाधि आफ्नो बनाएका हुन्। उक्त टोलीमा एमेच्योर गल्फर महेन्द्र फगामी, समीर आचार्य र काश्मिरा शाह थिए। व्यक्तिगत रूपमा पूर्णले ४४ स्कोर, महेन्द्रले ३८ स्कोर, समीरले ३६ स्कोर र काश्मिराले ३५ स्कोर योगदान गरे। प्रो. गल्फर सञ्जय लामाको टोली कुल १४२ स्कोरसहित उपविजेतामा खुम्चियो। सञ्जयले ३८, एमेच्योर गल्फर विकास शाहले ३५, बाबु शेर्पाले ३५ र प्रताप बोहराले ३४ स्कोर गरे।

त्यस्तै प्रो.गल्फर रवि खड्का, एमेच्योर गल्फर आङडेन्डी, चन्द्र लिम्बु र किशोर लिम्बु सम्मिलित टोली तेस्रो भयो। यो टोलीले कुल १४० स्कोर बटुले। काश्मिरा शाहले महिलातर्फ सर्वाधिक स्कोरकर्ताको (३५ स्कोर) ट्रफी प्राप्त गरिन्। दावा शेर्पाले लंगेस्ट ड्राइभ र आरतीराज्यलक्ष्मी राणाले क्लोजेस्ट टु दी पिनको ट्रफी पाए। स्टेबलफर्ड तीन बाई चार ह्यान्डिक्याप फरम्याटमा सञ्चालित प्रतियोगितामा २४ प्रो. गल्फरसहित कुल एक सय १३ गल्फरले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका विजेतालाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर रविकुमार रायवरम, पूर्वडाइरेक्टर अभिमन्यु पोदार, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेलगायतले पुरस्कृत गरेका थिए। सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सूर्य नेपाल गल्फ प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि सुर हुँदै छ, जहाँ ४३ प्रो.र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५५ हजार र तेस्रो हुने गल्फरले एक लाख १० हजार पाउनेछन्।

प्रकाशित: ९ जेष्ठ २०७९ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App