१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

दुई घण्टा २५ मिनेटमा ५३ किलोमिटर लिगलिगे साईकल दौड

लिगलिगकोटमा आयोजना गरिएको साईकल दौडमा सहभागी। तस्बिरः नरहरि/नागरिक

गोरखाको पालुङटारदेखि सिरानचोक, लमजुङको राईनासहुँदै लिगलिगकोटसम्म आयोजना गरिएको खुल्ला साईकल दौडमा सुरज राना पहिलो भएका छन्। ५३ किलोमिटर दुरी दुई घण्टा २५ मिनेट ४८ सेकेण्डमा पारगर्दै एपिएफमा आवद्ध सिन्धुपाल्चोकका राना पहिलो भएका हुन्।

यस्तै गोरखाका प्रकाश थापाले दुई घण्टा २५ मिनेट ५० सेकेन्ड र धादीङका लक्ष्मण मल्लले दुई घण्टा २५ मिनेट ५१ सेकेण्डमा उक्त दुरी पूरा गर्दै दोस्रो र तेस्रो भए। दोस्रो हुने थापा भारतीय सेनामा कार्यरत छन् भने तेस्रो हुने मल्ल एपिएफमा आवद्ध छन्। मेन ईलिट तर्फको यो प्रतियोगितामा ३७ जना सहभागी भएको देवेन्द्र बस्नेतले बताए।

महिला तर्फ ६ जना सहभागी मध्येबाट त्रिभुवन आर्मी क्लवमा आवद्ध गोरखाकी उषा खनाल पहिलो भइन्। निर्धारित दुरी दुई घण्टा ५५ मिनेट ५८ सेकेण्डमा खनालले पूरा गरिन्। तीन घण्टा ११ मिनेट १७ सकेन्डमा दुरी पार गर्दै मञ्जुकुमारी खड्का दोस्रो भइन्। तीन घण्टा १७ मिनेट ४५ सेकेन्डमा दुरी पार गर्दै इन्द्रकला नेम्वाङ तेस्रो भइन्।

मेन मास्टर विधा तर्फ तीन घण्टा चार मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै नयन मानन्धर पहिलो भए। तीन घण्टा पाँच मिनेट ५९ सेकेन्डमा दुरी पूरा गर्दै विदेशी नागरिक जोस्चोन स्टेवार्ड दोस्रो भए भने तीन घण्टा १५ मिनेट पाँच सेकेन्डमा दुरी पूरा गर्दै विकास महर्जन तेस्रो भए। यो विधामा ९ जना सहभागी थिए।

विभिन्न विधामा बिजेताहरुले ट्रफि, मेडल, प्रमाण पत्रको साथ क्रमस २५, २०, १५ हजार पुरस्कार पाए। प्रतियोगितामा १० औँ स्थानसम्म हाँसिल गरेकालाई पुरस्कारको व्यवस्था रहेको आयोजक लिगलिग भेलेज स्पोटर्सका अध्यक्ष सञ्जिव राना मगरले बताए। विजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले पुरस्कार वितरण गरेका थिए।

गण्डकी प्रदेश भित्र तर्फबाट प्रकाश थापा मगर पहिलो भए। हिक्मत बिके दोस्रो र खुसीमान घर्ती तेस्रो भए। गण्डकी तर्फ महिलामा उसा खनाल पहिलो, केसरी थापा दोस्रो भइन्। पालुङटार नगरपालिका भित्रका मध्येबाट सुरज रानाभाट पहिलो भएभने प्रभात रोका दोस्रो भए।

विभिन्न विधामा गरी ५२ जना सहभागी रहेको आयोजक सदस्य बसन्त बस्नेतले बताए। १० वर्षका पूर्णराज तामाङले पनि सहभागीता जनाएका थिए। विजेताहरुलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले साईकल रेसले लिलिगकोटको पहिचान गर्न र नयाँ इभेन्टको रुपमा विकास गर्न मद्दत पुग्ने बताए।

चेपे दोभानदेखि लिगलिगकोटसम्म दौडेर राजा हुने परम्परा रहेको त्यहाँ साईकल रेस प्रतियोगिताले पालुङटारको पहिचान अझै बढ्ने पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले बताए। नेपालमा प्रख्यात र व्यवशायिक रुपमा साईकल रेस गर्ने खेलाडीहरु आउने भएकाले स्थानीयको आयस्रोतमा सकारात्मक प्रभाव पर्ने अपेक्षा नगरपालिकाको छ।

लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले ‘दोस्रो लिगलिगे साईकल दौड’ गरिएको लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष संजिव राना मगरले बताए। ‘एकदिन हामीले कार्यक्रम आयोजना गरेर वर्षभरि साईकलयात्री यहाँ आउन र यहाँको आर्थिक गतिविधि बढोस् भन्ने उद्देश्य छ’ अध्यक्ष राना मगरले भने।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोक गुरुङ, सिरानचोक गाउँपालिका प्रमुख राजु गुरुङ लगायतको सहभागीता रहेको थियो। पालुङटार नगरपालिकाको सहयोग र नेपाल साइकल संघको सहकार्यमासाइकल दौडको आयोजना भएको हो। राजिष्ट्रेशनका लागि नेपाली र विदेशी सबैलाई दुई हजार रुपैयाँ मात्र शुल्क निर्धारण गरिएको थियो।

प्रतियोगितामा सहभागीलाई दुई रात बसोबासको व्यवस्था गरिएको थियो। दौडका लागि पालुङटार नगरपालिबाट पाँच लाख रुपैयाँ, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशले दुईलाख रुपैयाँ उपलब्ध गराएको र बाँकी रकम संघ संस्था र व्यक्तिहरुबाट संकलन गरिएको आयोजक संस्थाका प्रतिनिधि विजय पाण्डेले बताए।

प्रकाशित: ४ चैत्र २०७८ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App