६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

फुटबल एवं प्यारापिट निर्माणको म्याद चैतसम्म

परिषदले रकम निकासामा ढिलाईले काम प्रभावित–कम्पनी

बेरुजू देखिएकोले रकम निकासा गर्न अप्ठ्यारो–परिषद

धेरैको अपेक्षा र विश्वास थियो एकवर्षमा नयाँ प्यारापिटसहितको फुटबल मैदान बन्छ। शिलान्यास गरियो। शिलान्यासको ठ्याक्कै तीन वर्ष पुग्यो। चार महिनामै सकिने शिलान्यास गर्दै घोषणा गरिएको थियो। शिलान्यासमै तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले घोषणा गरेका थिए–‘फटाफट नटबोल्ट कस्ने हो। प्यारापिट चारमहिनामै तयार हुन्।’  

पोखरा फुटबल मैदान तथा प्यारापिटको शिलान्यास २०७५ फागुन २६ गते गरिएको थियो। शिलान्यासको तीन वर्ष वित्दा प्यारापिट निर्माणले अझै पूर्णता पाउन सकेको छैन। पटक पटक म्याद थपिएको छ। अन्तिम म्याद आगामी चैत मसान्तसम्म छ। २०७६ मंसिरमा नेपालमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गरियो। महिला फुटबल पोखरा रंगशाला फुटबल मैदानमा सम्पन्न गरिएको थियो। हतारमा फुटबल मैदान तयार गरिएको थियो।

 प्यारापिट आधामात्रै तयार गरिएको थियो । एथलेटिक्स ट्रयाक समेत तयार थियो। एथलेटिक्स ट्रयाक राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरिसकिएको छ। फुटबल मैदानको पनि काम सकिएको छ। दर्शक प्यारापिटको काम बाँकी छ। प्यारापिट र फुटबल मैदान वरिपरी सडक कालोपत्रे गर्ने काम बाँकी छ।  

‘चैत मसान्तसम्ममा सबै काम टुंग्याएर निस्कन्छौं।’ भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजेर दिपक बरालले भने, ‘म्यादपनि चैत मसान्तसम्मको लागि थपिएको छ।’ उनका अनुसार प्यारापिट र सडक निर्माणको काम बाँकी छ। उनले प्यारापिटको आन्तरिक काम बाँकी रहेको बताए। राष्ट्रिय खेलकुद परिषदले पैसा निकासा नगर्दा काममा ढिलाई भएको उनको गुनासो थियो। उनले कति रकम बाँकी छ भन्ने विषयमा खुलाउन चाहेनन्। तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सकिएको चार महिनापछि कोभिड–१९ को लहर शुरु भएसँगै निर्माण कार्य प्रभावित भएको थियो। लकडाउनदेखि विभिन्न भेरियन्टको असरले कामलाई प्रभावित बनाएको उनले सुनाए। ‘काम सकिन्थ्यो। तर कोरोनाले गर्दा ढिलाई भयो,’ उनको भनाई थियो।  

राष्ट्रिय खेलकुद परिषदले पनि कम्पनीको बेरुजू देखिएकोले रकम निकासा हुन सकेको प्रष्ट पारेको छ। ‘बेरुजू देखिएको छ। बेरुजू फस्र्याैट भएपछि रकम निकासा हुन्छ,’ राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापाले भने, ‘बेरुजू देखिएकै कारण परिषदले रकम निकासा नगरेको हो। मिलानपछि नै रकम निकासा हुन्छ।’ उनले बेरुजू देखिएको रकमबारे स्पष्टसँग खुलाएनन्।  

प्यारापिटको दर्शक क्षमता १८ हजार ५ सय छ। थप ३ हजार ५ सय थप्न सकिन्छ। परिषदले १ अर्ब २८ करोड २२ लाखको लागतमा सम्झौता गर्दै कम्पनीलाई निर्माणको जिम्मेवारी दिएको थियो। परिषदले यसैसाता निर्माणाधिन पोखरा रंगशाला फुटबल मैदान एवं प्यारापिटको अनुगमन गर्ने जनाएको छ। ‘मन्त्रीसहित परिषदको टोली अनुगमनमा आउदैं छ। यसै साता अनुगमन हुन्छ।’ निमित्त सदस्य सचिव थापाको भनाई थियो।

फुटबल मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई छ। प्यारापिट स्टिल मोडुलर सिष्टमको छ। जुन नेपालमै पहिलो रहेको कम्पनीको दावी छ। कम्पनीले हस्तान्तरण गरेसँगै संरक्षणको चुनौती परिषदलाई थपिने छ।  

प्रकाशित: २३ फाल्गुन २०७८ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App