४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तिम ओभरमा चार विकेट

स्थानीय नायक जेसन होल्डरले अन्तिम ओभरमा चार विकेट लिएपछि वेस्ट इन्डिजले अन्तिम तथा पाँचौं ट्वान्टी–२० क्रिकेटमा सोमबार इङ्ल्यान्डलाई १७ रनले हराउँदै शृंखला ३–२ ले जितेको छ।

किन्सिङ्टन ओभलमा भएको निर्णायक खेलमा वेस्ट इन्डिजले जित निकाल्दै सोमबार पाहुना टोली इङ्ल्यान्डविरुद्धको शृंखला जितेको हो। वेस्ट इन्डिजको जितमा करियरकै उत्कृष्ट प्रदर्शन गरेका अकिल हुसेनले चार विकेट लिँदा ३० खर्चिए। अन्तिम ओभर बलिङ गर्दा ‘घरेलु ब्वाई’ होल्डरले सनसनी मच्चाउँदै चार विकेट चट्काए। आफ्नो जन्मस्थानमा होल्डरले यादगार प्रदर्शन गर्दै शृंखला दिलाउन मद्दत गरे। इङ्ल्यान्डका लागि जेम्स भिन्सले ५५ रनको सर्वाधिक व्यक्तिगत स्कोर गरे।

क्यारेबियन स्पिनर अकिल हुसेनले भिन्सलाई पवेलियन फर्काउँदा इङ्ल्यान्डको पाँचौं विकेट पतन भयो। भिन्स आउट भएपछि इङ्लिस टोली समालिनै सकेन। अन्तिम ओभरमा होल्डर बलिङ गर्न आउँदासम्म इङ्ल्यान्डको जित सम्भावना थियो। १ सय ८० रनको लक्ष्य पछ्याएको पाहुना टोलीलाई जितका लागि २० रन आवश्यक हुँदा चार विकेट हातमा थियो।

तर, अलराउन्डर होल्डरले आफ्नो गृहस्थान बारबाडोसमा सनसनी मच्चाए। नो बलबाट डेथ ओभर सुरु गरे पनि होल्डर समालिए र लगातार चार विकेट लिन सफल भए।

नो बलमा दुई रन खर्चिएका होल्डरले अर्को बलमा कुनै रन दिएनन्। त्यसपछि दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा क्रमशःक्रिस जोर्डन, साम बिलिङ्स, आदिल रासिद र सकिब महमुदलाई पवेलियनको बाटो देखाए।

साथै उनी लगातार चार बलमा चार विकेट लिने चौथो खेलाडी भए। यसअघि श्रीलंकाका लासिथ मालिङ्गा, अफगानिस्तानका रासिद खान र आयरल्यान्डका कर्टिस काम्फेरले ट्वान्टी–२० अन्तर्राष्ट्रियको चार बलमा चार विकेट लिएका छन्। करियरकै उत्कृष्ट प्रदर्शन गरेका होल्डरले कार्यवाहक कप्तान मोइन अलीलाई पनि आउट गरेका थिए। कुल २.५ ओभर बलिङ गरेका उनले ५÷२७ को प्रदर्शन गरे।

‘आफैंसँग गर्व महसुस भएको छ। किनकि नो बलबाट मैले जुन सफलता पाएँ, त्यसप्रति निकै खुसी छु ,’ होल्डरले भने। वेस्ट इन्डिजका पूर्वकप्तानसमेत रहेका होल्डर म्यान अफ दी म्याच र म्यान अफ दी सिरिज घोषित भए। उनले पाँच खेलमा कुल १५ विकेट लिए। ‘म उत्साहित भएको छु। यहाँ क्रिकेट खेल्न मलाई मन पर्छ,’ उनले भने, ‘मेरा लागि क्रिकेट खेल्न विश्वकै सबैभन्दा राम्रो ठाउँ यही हो ।’ साम बिलिङ्सले २८ बलमा ४१ रन बनाए पनि इङ्लिस टोलीको जितका लागि पर्याप्त भएन र १९.५ ओभरमा १ सय ६२ रनमै समेटियो।

त्यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा मात्र चार विकेट गुमाउँदै १ सय ७९ रन जोड्यो। कप्तान काइरन पोलार्डले सर्वाधिक ४१ रन बनाउँदा रोभमन पावलले ३५ रन, बे्रन्डन किङले ३४ र काइल मायर्सले ३१ रनको योगदान दिए। घरेलु टोलीका ब्याट्सम्यानले ससानो योगफल बनाउँदै जितका लागि राम्रो लक्ष्य प्रस्तुत गरेका थिए। बलिङमा पनि राम्रो साथ पाएपछि उक्त लक्ष्य रक्षा पनि गर्‍यो।

प्रकाशित: १८ माघ २०७८ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App