५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

राउन्ड रोबिनमा नेपाल अपराजित

लिगमा अपराजित रहँदै नेपाली महिला टोलीले बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि उज्बेकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

ढाकाको मिरपुरस्थित सहिद सुहरावर्दी राष्ट्रिय इन्डोर स्टेडियममा सोमबार भएको राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जितसहित अपराजित टोली रहँदै फाइनलमा स्थान बनायो।

सोमबार नै उज्बेकिस्तानले पनि श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै नेपालसँग उपाधि भिडन्त पक्का गरेको हो। ६ राष्ट्र रहेको राउन्ड रोबिन लिगमा नेपाल पाँच खेलमा जित निकाल्दै विजेता बन्यो। उज्बेकिस्तानले भने चार खेलमा जित निकाल्दा नेपालसँग मात्र हार बेहोरेको थियो।

पहिलो खेलमा श्रीलंकामाथि ३–२ को संघर्षपूर्ण जित निकालेको नेपालले त्यसपछि दोस्रो खेलमा माल्दिभ्स, तेस्रो खेलमा बंगलादेश र चौथो खेलमा उज्बेकिस्तानमाथि समान ३–० को सोझो सेटमा जित निकाल्यो। यस क्रममा नेपालले पाँच खेलमा १४ अंक बटुल्यो। यता उज्बेकिस्तान र श्रीलंकाले समान पाँच खेलमा समान ११ अंक नै बटुले पनि श्रीलंका सेटमा पछि पर्दा उज्बेकिस्तानले उपविजेताका रूपमा उपाधि भिडन्त तय गर्‍यो।

बंगलादेशमा नै सम्पन्न पहिलो संस्करणमा माल्दिभ्समाथि सोझो सेटमा जित निकाल्दै नेपाललाई भलिबलमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण दिलाएका नेपाली चेली अर्को सफलता थप्ने तयारीमा छन्। नेपालले मंगलबार नै उपाधिका लागि उज्बेकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ।

पहिलो खेलमा संघर्ष गरे पनि त्यसयता रबाफिलो प्रदर्शन गर्दै आएको नेपाली महिला टोलीले किर्गिस्तानसँग पनि लय जारी राख्यो। नेपाली टोलीसामु किर्गिस्तान निरीह बन्यो। पहिलो सेटमा नेपालले एकपक्षीय प्रदर्शन गर्‍यो।

उक्त सेट नेपालले २५–८ ले सहजै आफ्नो बनायो। दोस्रो सेटमा भने किर्गिस्तानले केही सुधार गर्‍यो। यस सेटमा एक समय किर्गिस्तान १५–१२ ले मात्र पछि थियो। तथापि, लगातार अंक गुमाउँदा त्यो सेट पनि नेपालले २५–१४ ले आफ्नो बनायो।

तेस्रो सेट पनि नेपालले २५–१६ ले आफ्नो बनाउँदै किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्यो। जितपछि नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले कम अनुभवी किर्गिस्तानविरुद्ध सफलता मिलेको बताए। ‘उनीहरू राम्रो उचाइ भएका खेलाडी हुन्। खेल पनि राम्रो नै थियो। तर, अनुभवको कमी थियो।

हाम्रो डिफेन्समा केही समस्या देखिए पनि सर्भिस स्पाइकले राम्रो गर्दा सहज जित निकाल्यौं,’ प्रशिक्षक भट्टले भने, ‘श्रीलंकासँगको पुनरागमन जितले खेलाडीको मनोबल उच्च छ। त्यसयता सोहीअनुरूप राम्रो प्रदर्शन पनि गरेका छन्।’ साथै उनले उज्बेकिस्तानलाई फाइनलमा हराउँदै उपाधि जित्ने रणनीति पनि  बनाएको बताए।

‘उज्बेकिस्तानले श्रीलंकासँग उत्कृष्ट खेल खेलेको छ। उनीहरूले पनि धेरै सुधार गरिरहेका छन्। तर, लिगमा सोझो सेटमा जितेकाले उनीहरूमाथि सुरुबाटै दबाब बनाएर खेल्ने प्रयासमा छौं,’ भट्टले लक्ष्य सुनाए। यो हारसँगै किर्गिस्तानले पाँच खेलमा ६ अंक मात्र बनाउन सक्यो। आयोजक बंगलादेशले अन्तिम खेलमा माल्दिभ्सलाई हराउँदै पाँच खेलबाट तीन अंक बटुल्यो। माल्दिभ्स भने पाँचै खेलमा पराजित हुँदै अंकविहीन बन्यो।

प्रकाशित: १३ पुस २०७८ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App