१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बाँसगढीमाथि धनगढीको गोलवर्षा

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोट प्रतियोगिताअन्तर्गत मंगलबारका खेलमा सफलता निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा ललितपुरले शिवसताक्षी नगरपालिकालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

सुरुआतबाट नै हाबी ललितपुरले पहिलो हाफमा नै चार गोल गर्‍यो। त्यो नै जितका लागि पर्याप्त बन्यो। पाहिलो हाफमा लिएको अग्रतापछि ललितपुरले रक्षात्मक खेलेको थियो। ललितपुरकी कप्तान निर्मला बिकले ह्याट्रिक पूरा गरिन्। 

निर्मलाले छैटौं मिनेटमा गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाएकी थिइन्। २२औं मिनेटमा दोस्रो र ३५औं मिनेटमा व्यक्तिगत तेस्रो गोल थप्दै उनले ह्याट्रिक पूरा गर्दा शिवसताक्षी दबाबमा पर्‍यो।

अग्रता बनाएसँगै लयमा देखिएको ललितपुरले मनीषा शेनको गोलबाट अग्रता ४–० मा पुर्‍यायो। मनीषाले ४३औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो हाफमा फराकिलो अग्रता दिलाउन मद्दत गरिन्। त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन र ललितपुरले सुखद नतिजाका साथ अन्तिम चारमा स्थान पक्का गर्‍यो।

मंगलबारकै दोस्रो खेलमा धनगढी उपमहानगरपालिकाले बाँसगढी नगरपालिकामाथि गोलवर्षा गर्दै अन्तिम चारमा स्थान पक्का गर्‍यो।धनगढीले बाँसगढीमाथि १२–१को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

धनगढीले पहिलो हाफमा सात गोल गर्दा दोस्रो हाफमा पाँच गोल थप्यो। धनगढीका लागि चन्द्रा भण्डारी एक्लैले पाँच गोल र रेखा पौडेलले चार गोल गरे। यस्तै बिर्सना चौधरी,सरस्वती रोकाया र सुरक्षाकुमारी सिंहले समान १/१ गोल गरे। बाँसगढीकी अमिसा कार्कीले सान्त्वना गोल फर्काइन्। ललितपुरले फाइनल प्रवेशका लागि गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।यी दुई टोलीको भिडन्त बुधबार हुँदै छ।

दिनको पहिलो खेल गौरीगंगा नगरपालिका कैलाली र इलामको रोङ गाउँपालिका तथा गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुनेछन्।प्रतियोगिताको विजेता र उपविजेता टोली महिला राष्ट्रिय लिगमा छनोट हुनेछन्।

प्रकाशित: २४ कार्तिक २०७८ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App