६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

उपमेयर फुटबलबाट बाहिरियो पोखरा

पोखरा उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट बाहिरिएको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा शुक्रबार भएको खेलमा वीरेन्द्रनगर नगरपालिकासँग ४–१ गोलअन्तरले पराजित भएसँगै पोखरा उपमहानगरपालिका जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै बाहिरिएको हो।

उता जित निकालेको वीरेन्द्रनगरले भने सुखद सुरुआत गरेको छ। सुरुआतबाट नै दबाब दिएर खेलेको वीरेन्द्रनगरले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै ४–१ को जित निश्चित गरेको थियो।

वीरेन्द्रनगरको जितमा सुमित्रा योन्जनले दुई गोल गरिन्। सुमित्राले ३७औं र ७२औं मिनेटमा गोल गरेकी थिइन्। यस्तै कप्तान सम्झना शर्माले ३१औं मिनेटमा गोलको खाता खोल्दा सुस्मिता तामाङले खेल सकिन दुई मिनेट बाँकी रहँदा चौथो गोल गर्दै टोलीको जित निश्चित बनाएकी थिइन्।

पोखराकी झरना चाम्लिङ राईले ३८औं मिनेटमा गरेको गोल पोखराका लागि सान्त्वना बनेको थियो। जितसँगै वीरेन्द्रनगरले पहिलो खेलबाट ३ अंक जोडेको छ। जितले वीरेन्द्रनगरलाई नकआउट चरणमा पुग्ने आशा बलियो भएको छ। लगातार दोस्रो हार व्यहोरेको पोखरा भने बाहिरिएको हो।

प्रतियोगिताअन्तर्गत शुक्रबारै सम्पन्न अर्को खेलमा तुलसीपुर नगरपालिकाले हेटौडा उपमहानगरपालिकामाथि २–० को रोमाञ्चक जित निकाल्दै जारी प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए। पहिलो हाफभन्दा दोस्रो हाफमा फरक रणनीतिका साथ खेलेको तुलसीपुरले दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै छनोट प्रतियोगितामा सुखद सुरुआत गरेको हो। तुलसीपुरको जितमा ममता पुनमगरले ७७ औं र मेनुका आलेमगरले ७९औं मिनेट समान एक गोल गरेका थिए।

जितसँगै समूह एफको तुलसीपुरले ३ अंक जोडेको छ। यता हेटौडाले भने लगातार दोस्रो खेलमा नतिजा सुम्पिएर प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगितामा शनिबार दुई खेल हुनेछन्। पहिलो खेल बेदकोट नगरपालिका र गौरीगंगा नगरपालिकाबीच हुँदा दोस्रो खेल सुनकोसी र चौदण्डीगढी नगरपालिकाबीच हुनेछ। प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।

प्रकाशित: १३ कार्तिक २०७८ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App