१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

माल्दिभ्सविरुद्ध ऐतिहासिक जित

मनीष डाँगीको निर्णायक गोलबाट नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध ऐतिहासिक जित हात पारेको छ।

माल्दिभ्समा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको सुखद सुरुआत गर्ने क्रममा नेपालले पहिलो खेलमा साबिक विजेता माल्दिभ्सलाई १–० ले हराएको हो। ८६औं मिनेटमा मनीषले काउन्टर अट्याकमा गरेको गोलमा नेपालले माल्दिभ्समाथि साफ च्याम्पियनसिप इतिहासमै पहिलो जित हात पारेको हो। 

उमेरसमूहमा नेपालले माल्दिभ्सलाई हराएपनि सिनियर टोलीले माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो। नेपालका मुख्य प्रशिक्षक अल्दुल्लाह अल्मुताइरीले पहिलो हाफमा दबावमा खेले पनि दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको बताए।

‘पहिलो हाफ हामीले दबाबका बावजुद माल्दिभ्सलाई गोलरहित बराबरीमा रोक्यौं,’ अल्मुताइरीले भने, ‘दोस्रो हाफमा पनि उनीहरूले हामीलाई दबाबमा राखेका थिए।तर पाएको अवसर सिर्जना गर्न नसक्दा माल्दिभ्स पनि दबाबमा परेको थियो। 

हामीले खेलको सुरुआतबाटै काउन्टर अट्याकको रणनीति लिएका थियौं। अन्ततः माल्दिभ्स दबाबमा पर्दा हामी त्यसको फाइदा उठाउन सफल भयौं।’ मनीष डाँगीले प्रशिक्षकले आफूलाई विश्वास गरेर तिमीले नै गोल गर्न सक्छौ भनेर पठाएको उल्लेख गरे। 

साफ च्याम्पियनसिपको १३औं संस्करणसम्म नेपालले पहिलो खेल जितेको यो तेस्रो पटक हो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा सात पटक हार बेहोर्दा तीन पटक बराबरी खेलेको थियो। नेपालले साफमा आफ्नो पहिलो खेलमा माल्दिभ्सविरुद्ध खेलेको यो तेस्रो पटक हो।

यसअघिका दुई खेलमा नेपाल र माल्दिभ्सले १–१ को बराबरी खेलेका थिए।पहिलो हाफ अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध दबाबमा खेलेको थियो। छैटौं मिनेटमा माल्दिभ्सका खेलाडीको प्रहार दिनेश राजवंशीले क्लियर गर्दै नेपालको संकट टारेका थिए।

१२औं मिनेटमा नेपालले अग्रता लिने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन। नेपालका नवयुग श्रेष्ठको पासमा रोहित चन्द गोल गर्न चुके। १९औं मिनेटमा नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले माल्दिभ्सको अली फासिरको प्रहार विफल पारेका थिए।

त्यसको ४ मिनेटपछि नेपालले पुनः अग्रता लिने अवसर पाए पनि नवयुगको हेडर माल्दिभ्सका गोलकिपर फैसलले सहजै नियन्त्रणमा लिएका थिए। यसअघि शुक्रबारै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। 

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार श्रीलंका, असोज २४ मा भारत र असोज २७ मा बंगलादेशको सामना गर्नेछ। नेपाल र आयोजक माल्दिभ्ससहित भारत, बंगलादेश र श्रीलंका गरी ५ टोलीको सहभागिता रहेको प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्।

प्रकाशित: १६ आश्विन २०७८ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App