२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इपिएलः चल्न सकेन अफ्रिदीको जादु

समर्थकलाई सम्बोधन गर्दै काठमाडौं किंग्स–११ का साहिद अफ्रिदी। तस्बिर : नागरिक

एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करणकै सबैभन्दा ठूला स्टार साहिद अफ्रिदीको टोली काठमाडौं किंग्स–११ ले शनिबार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।  

बलिङ मात्रै गर्ने अवसर पाएका अफ्रिदीको जादु चल्न सकेन र उनी विकेटविहीन रहे। तर, उनको टोली काठमाडौंले जिम्बाब्वेका रयान बर्ल र अफगानिस्तानका रहमानउल्लाह गुर्बाजको अर्धशतकीय प्रेरणाबाट उद्घाटन खेलमा ललितपुर प्याट्रियोट्समाथि सात विकेटको जित निकाल्दै सुखद सुरुआत ग¥यो। १ सय ५८ रनको लक्ष्य काठमाडौं किंग्स–११ ले ३४ बल बाँकी छँदा नै मात्र तीन विकेटको क्षतिमा पूरा गर्‍यो। बलिङमा राम्रो साथ दिएका रयानले ३४ बलमा ७३ रनको अविजित इनिङ अलराउन्ड प्रदर्शन गरे। दुई विकेटसमेत लिएका रयान म्यान अफ दी म्याचसमेत भए।  

उनले स्पिनर ललितनारायण राजवंशीको एउटै ओभरमा चार छक्का र एक चौकासहित २९ रन बटुले। रयानको इनिङमा सात छक्का र तीन चौका रह्यो। त्यसअघि काठमाडौंले १.२ ओभरमा दुई विकेट नै रनआउटका रूपमा गुमाउँदै खराब सुरुआत गर्‍यो। शंकर रानाले ओपनर सुवास खकुरेललाई शुन्यमा र अमित श्रेष्ठलाई ४ रनमा रनआउट गर्दै ललितपुरलाई राम्रो सुरुआत दिलाए। तर, ललितपुरका बलर रहमानउल्लाह र रयानसामू निरिह भए। गुर्बाजले ३६ बलमा ५९ रन बनाए। उनले ४/४ चौका र छक्का हिर्काए। उनले तेस्रो विकेटका लागि रयानसँग ७६ रनको साझेदारी गरे। पवन सर्राफले सन्दुन विराक्कोडीद्वारा स्टम्पिङ गराउँदै यो साझेदारी तोडे।

यो नै ललितपुरका लागि एक मात्र विकेट रह्यो। ललितपुरका बलर महँगा साबित हुँदा स्पिनर ललितनारायणले दुई ओभरमा नै ४८ रन बेहोरे। तीव्र गतिका अर्का बलर रसिद खानले पनि तीन ओभरमा ३६ रन खर्चिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर प्याट्रियोट्सको सुरुआत पनि राम्रो हुन सकेन। काठमाडौंका तीव्र गतिका बलर जितेन्द्र मुखियाले इनिङको पहिलो ओभरमा नै दुई लिँदै ललितपुरलाई दबावमा पारे। काठमाठौंले खाता नखोल्दै लयमा रहेका कप्तान कुशल भुर्तेल आउट भए। सोही ओभरको अन्तिम बलमा ललितपुरका अर्का ओपनर सन्दुन विरोक्कोडी पनि २ रनमै पवेलियन फर्किए।  

लगत्तै दोस्रो ओभरमा नै ललितपुरले तेस्रो विकेट गुमायो। गुल्सन झाको बलमा ओसदा फर्नान्डो एलबिडब्लु हुँदा ललितपुर १.३ ओभरमा ७/३ विकेटको नाजुक अवस्थामा पुग्यो। तर, अलराउन्डर पवनले सर्राफले आक्रामक ब्याटिङसहित अर्धशतक बनाउँदै ललितपुरको इनिङ समाले। काठमाडौंको छैटौं ओभर र अफ्रिदीको पहिलो ओभरमा नै पवनले १/१ चौका र छक्कासहित १३ रन बटुले। काठमाडौंका कप्तानसमेत रहेका अर्का स्पिनर सन्दीप लामिछानेविरुद्ध पनि पवन हाबी भए। पवनले चौथो विकेटका लागि शंकर रानासँग ५६ रनको साझेदारी गर्दै ललितपुरको इनिङ उकासे।

तर, जितेन्द्रले शंकरलाई १४ रनमै पवेलियन फर्काउँदै उक्त साझेदारी तोडे। पवनले पाँचौं विकेटका लागि पनि योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारी गरे। १७औं ओभरको पहिलो र दोस्रो बलमा क्रमशःपवन र योगेन्द्र हुँदा ललितपुरको इनिङ ठूलो योगफल बनाउनबाट टाढियो। काठमाडौंका अलराउन्डर रयानले पवनलाई ६१ रन र योगेन्द्रलाई ३३ रनमा लगातार आउट गरे। ४४ बल खेलेका पवनले पाँच चौका र चार छक्का हिर्काए। योगेन्द्रको इनिङमा तीन छक्का रह्यो।  

त्यसपछि भुटानी क्रिकेटर मिक्यो दोर्जीले नटआउट १७ रन नारायण जोशीले १२ रनको योगदान गर्दै ललितपुरको इनिङलाई १ सय ५० रनको योगफल पार गराए। काठमाडौंका बलिङमा जितेन्द्रले चार विकेट लिँदा गुल्सन र रयानको नाममा २/२ विकेट रह्यो। रयान र जितेन्द्रबाहेक कप्तान सन्दीप, अफ्रिदी र गुल्सन निकै महँगा साबित भए। समान चार ओभर बलिङ गरेका अफ्रिदीले ३२ रन, सन्दीपले ४४ रन र गुल्सनले ३५ रन खर्चिए। यस इपिएलमा अफ्रिदीले दुई खेल मात्र खेल्नेछन्।

प्रकाशित: १० आश्विन २०७८ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App