७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

मेदभेदेभलाई उपाधि

रसियन स्टार ड्यानिल मेदभेदेभले सर्बियन स्टार नोभाक जोकोभिचलाई युएस ओपनको फाइनलमा स्तब्ध बनाउँदै उनको कीर्तिमानी यात्रामा पूर्णविराम लगाइदिएका छन्।मेदभेदेभले आइतबार राति भएको युएस ओपनको फाइनलमा विश्व नम्बर एक जोकोभिचलाई सोझो सेटमा नै हराउँदै पुरुष सिंगल्समा सर्वाधिक ग्रान्ड स्लाम विजेता बन्नबाट रोकेका हुन्।

विश्वको दोस्रो वरीयता प्राप्त मेदभेदेभले जोकोभिचमाथि ६–४, ६–४ र ६–४ को जित निकाल्दै करियरको पहिलो ग्रास्ड स्लामसमेत उचाले।  साथै उनले जोकोभिचलाई सन् १९६९ पछि वर्षको सबै ग्रान्ड स्लाम जित्नबाट पनि रोके। यसअघि रड लाभेरले सन् १९६९ मा वर्षको सबै ग्रान्ड स्लाम जितेका थिए। रोजर फेडेरर र राफाइल नाडाललाई पछि पार्दै सर्वाधिक ग्रान्ड स्लाम विजेता बन्ने जोकोभिचको योजनाले पनि पूर्णता पाउन सकेन।

यी तीनै पुरुष सिंगल्सतर्फ सर्वाधिक २० ग्रान्ड स्लाम विजेता हुन्। ‘उनी (नोभाक) इतिहास बनाउने अभियानमा थिए। त्यसैले उनका समर्थक र नोभाकसँग क्षमा माग्न चाहन्छु,’ मेदभेदेभले भने, ‘तिमीले आफ्नो करियरमा जुन सफलता प्राप्त गरेका छौ, त्यो मेरा लागि टेनिस इतिहासमा महान् खेलाडीले मात्र प्राप्त गर्न सक्छन्।’ तेस्रो पटक ग्रान्ड स्लाम फाइनल खेलेका मेदभेदेभले सन् २०१९ को युएस ओपनको उपाधिका लागि पनि प्रतिस्पर्धा गरेका थिए। यसै सिजनको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको फाइनलमा पनि दुईबीच प्रतिस्पर्धा भएको थियो, जहाँ जोकोभिचले सीधा सेटमा खेल आफ्नो पक्षमा पार्दै वर्षको सुखद सुरुआत गरेका थिए ।

‘बधाई ड्यानिल। आजको खेल उत्कृष्ट रह्यो,’ जोकोभिचले भने, ‘यदि यस समय कोही यो ग्रान्ड स्लामको हकदार थियो भने त्यो तिमी हौ,’ ८३ वर्षे रड लाभेरले पनि महान् खेलाडीलाई रोक्दै करियरको पहिलो ग्रान्ड स्लाम जितेकामा ड्यानिललाई बधाई दिएका छन्। उनका ठूला प्रतिद्वन्द्वी राफाइल नाडल र रोजर फेडेरर अनुपस्थित प्रतियोगितामा जोकोभिच चौथो पटक युएस ओपनको उपाधि जित्न चुके। नाडाल र फेडेरर दुवैले चोटका कारण यस प्रतियोगिता गुमाएका थिए। अर्को वर्ष यी दुवै जोकोभिचको प्रमुख प्रतिद्वन्द्वी बन्न सक्नेछन् ।

प्रकाशित: २९ भाद्र २०७८ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App