७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

बेलको लयले पेज दंग

वेल्सका प्रशिक्षक रोबेर्टो पेजले गारेथ बेल लयमा फर्कनु विश्वकप छनोट २०२२ को क्रममा रहेको आफ्नो टोलीका लागि सुखद संकेत भएको बताएका छन्।

तत्कालीन प्रशिक्षक जिनेदिन जिदान रियाल मड्रिडको प्रशिक्षक रहँदा बेल गत सिजन लोनमा आफ्नो पूर्वक्लब टोटेनह्याम आएका थिए। नयाँ सिजनसँगै सान्टियागो बर्नाबेउ फर्किएका बेलले आइतबार लेभान्टेसँग ३–३ को बराबरी भएको खेलमा गोल गरेका थिए। सन् २०१९ सेप्टेम्बरपछि बेलले स्पेनिस ला लिगामा गरेको त्यो नै पहिलो गोल थियो।

बेल गोलको लयमा फर्किएसँगै पेज राष्ट्रिय टोलीमा उनको उपस्थितिलाई लिएर उत्साही भएका हुन्। वेल्सले आगामी महिना फिनल्यान्डविरुद्ध मैत्रीपूर्ण खेलका साथै विश्वकप छनोट चरणअन्तर्गत बेलारुस र इस्टोनियाको सामना गर्नेछ।

मार्चमा सम्पन्न छनोट चरणअन्तर्गतको अवे खेलमा वेल्स बेल्जियमसँग ३–१ ले निराश भएको थियो। यता छनोट चरणकै होम म्याचमा भने चेक रिपब्लिकलाई १–० ले हराएको थियो।

‘बेल लयमा फर्किएका छन् र यो राष्ट्रिय टोलीका लागि सुखद संकेत हो,’ पेजले भने, ‘विगतमा उत्कृष्ट खेल्दाखेल्दै पनि बेल प्रशिक्षकको रोजाइमा पर्न सकेका थिएनन्। युरोपियन च्याम्पियनसिप २०२० मा गरेको प्रदर्शनका साथै प्रि सिजन भ्रमणमा गरेको प्रदर्शनले पनि उनले नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई प्रभावित पार्न सफल भए। 

त्यसैले यस सिजन उनले टोलीमा धेरैभन्दा धेरै अवसर पाउनेमा कुनै दुबिधा छैन। बेलले अवसर पाउनु भनेको उनको लयले निरन्तरता पाउनु हो, जुन अन्ततः राष्ट्रिय टोलीका लागि फाइदाजनक हुनेछ।’ बेलसँगै अर्का स्टार एरोन राम्से पूर्ण रूपमा फिट रहनुका साथै लयमा समेत भएका कारण पेज दंग छन्। सन् २०१९ नोभेम्बरमा हंगेरीलाई पराजित गर्दै युरोपियन च्याम्पियनसिपमा छनोट भएयता बेल र राम्सेले विश्वकप छनोट चरणमा एकसाथ खेलेका छैनन्।  

‘उनीहरूले एकसाथ सधैं उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र हालै सम्पन्न युरोपियन च्याम्पियनसिपमा पनि उनीहरूले आफूलाई प्रमाणित गरिसकेका छन्,’ पेजले भने, ‘बेल र राम्सेकै प्रदर्शनमा टोलीले युरोपियन च्याम्पियनसिपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। उनीहरूको उच्च लय वेल्स टोली र त्यसका समर्थकका लागि सुखद पक्ष हो।’

प्रकाशित: ९ भाद्र २०७८ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App