६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

स्मिथ र फिन्च ट्वान्टी–२० टोलीमा

पूर्ण रूपमा फिट नभए पनि अस्ट्रेलियाले स्टिभ स्मिथ र एरोन फिन्चलाई बिहीबार ट्वान्टी–२० क्रिकेट विश्वकप टोलीमा समावेश गरेको छ। त्यस्तै विकेटकिपर ब्याट्सम्यान जस इङ्लिसले पहिलो पटक अस्ट्रेलियाली टोलीमा स्थान पक्का गरेका छन्।

कुइनोको चोटका कारण स्मिथले हालै सम्पन्न वेस्ट इन्डिज र बंगलादेश भ्रमणबाट नाम फिर्ता लिएका थिए। स्मिथले हालै मात्र आफू इङ्ल्यान्डविरुद्धको एसेस शृंखलाअघि पूर्ण फिट हुनका लागि ट्वान्टी–२० विश्वकप क्रिकेटसमेत गुमाउन तयार रहेको बताएका थिए। यसबाट स्मिथले सीमित ओभरका खेलभन्दा टेस्ट क्रिकेटलाई प्राथमिकतामा राखेको प्रस्ट हुन्छ।

तर पनि स्मिथ अक्टोवर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि घोषित अस्ट्रेलियाली टोलीमा स्थान बनाउन सफल भए। फिन्चले हालै मात्र स्मिथ पूर्ण रूपमा फिट हुँदै मैदान फर्कने क्रममा रहेको बताएका थिए। ‘मैले पछिल्लो पटक स्मिथसँग कुरा गर्दा उनले आफू फिट भएको बताएका थिए,’ फिन्चले भने, ‘उनी सकारात्मक छन्। स्मिथ अस्ट्रेलियाली टोलीका प्रमुख खेलाडी हुन्।’  

फिन्चले पनि गत साता मात्र घुँडाको शल्यक्रिया गराएका थिए। शल्यक्रियापछि उनले ट्वान्टी–२० क्रिकेट विश्वकप गुमाउने अनुमान गरिएको थियो। फिन्चले पनि वेस्ट इन्डिज र बंगलादेश भ्रमण गुमाएका थिए। अस्ट्रेलियाले भने फिन्चकै कप्तानीमा ट्वान्टी–२० विश्वकपका लागि टोली घोषणा गरेको हो।

यता तीव्र गतिका बलर एन्ड्य्रु टेएका साथै शीर्ष क्रमका एलेक्स केरी, मोइसिस हेनरिक्स, जस फिलिप र एस्टन टर्नर टोलीमा स्थान बनाउन असफल हुँदा विकेटकिपर ब्याट्सम्यान जस इङ्लिसले अप्रत्याशित रूपमा पहिलो पटक अस्ट्रेलियाली टोलीमा स्थान पक्का गरेका छन्। ‘जस उत्कृष्ट ब्याट्सम्यान हुन्। उनी क्षमतावान छन्,’ छनोट कमिटीका प्रमुख जर्ज बेल्लीले भने, ‘हामीले केही समयदेखि निरन्तर उनको खेल हेरिरहेका थियाैँ। उनको उपस्थितिले टोलीमा विशेष अर्थ राख्छ।’ 

अस्ट्रेलियाली टोलीमा मिचेल स्विपसन, एस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेल गरी ४ स्पिनर समावेश गरिएको छ। ‘युएईको पिच विशेष गरी स्पिनरका लागि फाइदा पुग्ने खालको छ,’ बेल्लीले भने, ‘त्यसैले हामीले स्पिनरलाई प्राथमिकतामा राखेका हाैँ।’ अस्ट्रेलियन टोली अहिले लगातार खराब लयबाट गुज्रिरहेको छ। वेस्ट इन्डिजविरुद्धको ट्वान्टी–२० शृंखला ४–१ ले गुमाएको अस्ट्रेलियाले बंगलादेशविरुद्धको ट्वान्टी–२० शृंखला पनि ४–१ ले नै गुमाएको थियो।

प्रकाशित: ४ भाद्र २०७८ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App