१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

लिजेन्डसँग तुलना नगरौं: ड्रेसेल

टोकियो ओलम्पिक २०२० मा ५ वटा स्वर्ण जितेका अमेरिकाका पौडीबाज केलेब ड्रेसेलले आफूलाई ओलम्पिकका लिजेन्ड माइकल फेलिप्स र मार्क स्प्रिट्जसँग तुलना नगरिदिन आग्रह  गरेका छन्।साथै ड्रेसेलले आफूलाई उनीहरूसँग तुलना गरिदिएकै कारण धेरै तनावबाट गुज्रन परेको खुलासा समेत गरेका छन्। ड्रेसेलले आइतबार ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमानसहित र ४ गुणा १ सय मिटर मिड्ले रिलेमा स्वर्ण जित्दै टोकियो ओलम्पिक २०२० को सुखद अन्त्य गरेका थिए। ड्रेसेल एकै ओलम्पिकमा ५ स्वर्ण जित्ने पाँचांै पौडी खेलाडी हुन्।  

२४ वर्षे ड्रेसेलले सन् २०१६ को रियो ओलम्पिकमा समेत रिलेमा दुई स्वर्ण जितेका थिए। गत संस्करणमा रिलेमा पाएको सफलताले टोकियो संस्करणमा पनि ड्रेसेललाई रिलेतर्फकै स्वर्ण दाबेदारका रूपमा हेरिए पनि व्यक्तिगत स्पर्धामा समेत उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जित्न सफल भए। ड्रेसेलले आफूलाई प्रमाणित गर्ने लक्ष्य लिए पनि फेलिप्स र स्प्रिट्जको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यले टोकियो ओलम्पिक २०२० मा नहोमिएको बताए। ड्रेसेलले पुरुष १ सय मिटर फ्रिस्टाइल, १ सय मिटर बटरफ्लाई, ४ गुणा १ सय फ्रिस्टाइल, ५० मिटर फ्रिस्टाइल र ४ गुणा १ सय मिटर मिड्ले रिले गरी कुल ५ स्वर्ण जितेका थिए।

‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्नु थियो, त्यसमा म सफल भएँ,’ ड्रेसेलले भने, ‘तर मेरो सफलताको माइकल फिलिप्स र मार्क स्प्रिट्जको कीर्तिमानसँग कुनै सम्बन्ध छैन। म उनीहरूको कीर्तिमानका कारण चरम दबाबमा थिएँ। म यहाँ कसैको कीर्तिमान तोड्नभन्दा पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आएको थिएँ । त्यसमा म सफल भएँ।’ ड्रेसेलले ओलम्पिक आफूले सोचेभन्दा कठिन रहेको बताए।

‘ओलम्पिकमा गरिने प्रतिस्पर्धा अन्य प्रतिस्पर्धाको तुलनामा भिन्न छ,’ उनले भने, ‘एउटा यस्तो अवस्था आउँछ, जहाँ तपाईं चरम दबाबबाट गुज्रनुपर्नेछ। तपाईंको खेलजीवनको सफलताको कडी त्यही २० अथवा ४० सेकेन्ड बनिदिन्छ। यो ओलम्पिकको रोचक पक्ष हो। अहिले मैले ५ स्वर्ण जितें, यसले सहजै मेरो सफलता झल्काउँछ तर मैले पार गरेका चरणहरू निकै कठिन थिए।

सन् २०२४ को पेरिस ओलम्पिकको बारेमा सोधिएको प्रश्नमा ड्रेसेलले भने, ‘मेरो पहिलो प्राथमिकता भनेको केही समय विश्राम लिने र परिवारसँग समय बिताउने हो। मैले टोकियो ओलम्पिकमा बटुलेको अनुभव पेरिसका लागि फदलायी बन्न सक्छ।’

प्रकाशित: १८ श्रावण २०७८ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App