६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

विजेता फुटबलरलाई जनही ४ लाख

सरकारले थ्री नेसन्स कप विजेता राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी र प्रशिक्षकलाई जनही नगद ४ लाख रूपैयाँ प्रदान गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले २३ खेलाडी र प्रशिक्षण टोलीका ३ सदस्यलाई जनही नगद ४ लाख प्रदान गरेका हुन्।

 गत चैतमा नेपालमै आयोजना भएको थ्री नेसन्स कपको उपाधि जितेसँगै सरकारले सो पुरस्कार रकमको घोषणा गरेको थियो। कतार विश्वकप छनोट चरणअन्तर्गत घरेलु मैदान दशरथ रंगशालामा आयोजना हुने खेलहरू कोरोना भाइरसको दोस्रो लहरका कारण स्थगित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यु–२३ टोली सम्मिलित गरी थ्री नेसन्स कपको आयोजना गरेको थियो।

फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो। फाइनल खेलमा ओली प्रमुख अतिथिका रूपमा मैदानमा उपस्थित थिए। जहाँ खेलाडीहरूले ‘केपी बा ! वी लभ यु’ भन्ने नारा लगाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले साफ च्याम्पियनसिप आयोजनाको अवसर आएपछि नहट्न र त्यसको तयारी थाल्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिप आयोजनाको अवसर पाएको खण्डमा पछि नहट्न निर्देशन दिएका हुन्।

‘साफ च्याम्पियनसिप सहभागिताका लागि मात्र नभएर उपाधि जित्नैका आयोजनाको स्वीकृति प्रदान गरिएको हो,’ ओलीले भने। साफ च्याम्पियनसिप २०२० बंगलादेशमा आयोजना हुनुपर्ने भए पनि कोरोना भाइरस महामारीका कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको थियो। प्रतियोगिता सेप्टेम्बरमा आयोजना हुने तालिका छ। भुटानले सेप्टेम्बरमा साफ च्याम्पियनसिपको आयोजना भएको खण्डमा प्रतियोगितामा सहभागिता जनाउन नसकिने जानकारी  गराइसकेको छ।

यता पाकिस्तानमाथि फिफाले प्रतिबन्ध लगाइसकेको छ। त्यसैले प्रतियोगितामा बंगलादेशसहित, नेपाल, भारत, श्रीलंका र माल्दिभ्स गरी कुल ५ टोलीको मात्र सहभागिता रहनेछ। नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी सुरु गरिसकेको छ।

प्रकाशित: २८ असार २०७८ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App