१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ब्याडमिन्टनको पुरुष सिंगल्स: रामविनय सेमिफाइनलमा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका रामविनय श्रेष्ठ बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्समा आइतबार सेमिफाइनलमा प्रवेश  गरेका छन्।

सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा रामविनयले नागरिक लगानी कोषका पुरुषोत्तम पौडेललाई २१–१५ र २१–८ को सोझो सेटमा पराजित गरे। त्यसअघि रामविनयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका रामबहादुर तामाङलाई २१–११ र २१–१८ को सीधा सेटमा हराएका थिए। सोही स्पर्धामा कृषि विकास बैंकका टक्कर कुँवरले नेपाल विद्युत् प्राधिकरणका सरोज तामाङलाई ११–२१, २१–१६ र २१–१८, विद्युत्का टेकबहादुर बुढाले राष्ट्रिय वाणिज्य बैंकका गोरखबहादुर शाहीलाई २१–१ र २१–१३ तथा वाणिज्यका गुप्ता केसीले विद्युत्का रत्न श्रेष्ठलाई ११–२१, २१–१९ र २१–१० ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे।  

महिला सिंगल्समा बिमा संस्थानकी सविना श्रेष्ठले वाणिज्यकी पुष्पाकुमारी खनाललाई १५–२१, २१–१३ र २१–११ तथा वाणिज्यकी दुर्गाकुमारी कँडेलले नेपाल वायु सेवा निगमकी सविना बस्नेतलाई २१–१५ र २१–१८ ले पन्छाउँदै सेमिफाइनल यात्रा तय गरे। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगितामा रामविनय पुरुष भेट्रान ४५ वर्षमाथि डबल्समा पनि सेमिफाइनलमा पुगेका छन्। रामविनयले जनक भारतीसँग मिलेर वाणिज्यका विश्वप्रसाद दाहाल र लालबहादुर थापाको जोडीलाई १८–२१, २१–१८ र २१–१८ को सेटमा पन्छाए। उक्त स्पर्धामा एभरेस्ट बैंक लिमिटेडका सन्तोष भट्टराई र पुष्पराज उप्रेती तथा विद्युत्का उमेशकुमार भण्डारी र विष्णु मास्केको जोडीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे।  

पुरुष डबल्समा मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल/प्रेम थापा तथा विद्युत्का भूपेन्द्र बिसी/प्रितम बस्नेत, विष्णु मास्के/सरोज तामाङ र राजु महर्जन/लोकेन्द्रबहादुर साउदको जोडीले आआफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान बनाए। प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गर्दै कर्पोरेट क्षेत्रले खेलकुदको विकास र विस्तारमा ठूलो टेवा पुर्‍याउन सक्ने धारणा व्यक्त गरे। पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी विगतमा विविध खेल समावेश गर्दै बृहत् प्रतियोगिता आयोजना गर्ने गरेकोमा यसपटक ब्याडमिन्टन मात्रको प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगितामा १२ संस्थाका ७० खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन्। सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख २२ हजार रूपैयाँ रहेको छ। प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

 

प्रकाशित: १३ वैशाख २०७८ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App