११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

आहा–रारा गोल्डकप चैत १७ देखि २८ गतेसम्म

पोखरामा हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताबारे जानकारी दिँदै आयोजक सहारा क्लवका पदाधिकारी । तस्बिर : उमेश पुन/नागरिक

पोखरामा हुने आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता यसवर्ष चैत तेश्रो सातादेखि हुने भएको छ । विश्वव्यापी कोरोना भाइरस महामारी जोखिमका बाबजुद पनि खेलकुद क्षेत्रलाई चलायमान बनाउन भन्दै आयोजक सहारा क्लवले प्रतियोगिता गर्ने तयारी थालेको हो ।  

यस वर्ष चैत १७  देखि २८ गतेसम्म प्रतियोगिता हुने आयोजकले जनाएको छ । स्वास्थ्य सचेतता अपनाएर कोरोना संक्रमणको जोखिम कम गर्दै एन्फाले अनुमति दिए अनुसार प्रतियोगिताको तयारी शुरु गरेको सहारा क्लवले जनाएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ हुने प्रतियोगितामा १२ टीम सहभागि हुने क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । तर कोरोनाका कारण तोकिएका टीम सहभागि हुन नसक्ने अवस्था आएमा सहभागि टीमको संख्या घट्न पनि सक्ने उनले स्पष्ट पारे । प्रतियोगितामा विदेशी टीमसहित नेपालका ए डिभिजन क्लवहरु, मोफसलका टीम र आयोजक सहारा क्लव सहभागि हुने उनले बताए ।  

प्रतियोगिता अन्तर्गतका खेलहरु दर्शकले प्रत्यक्ष हेर्न पाउनेछन् । तर रंगशालाको दर्शक प्यारापिटको क्षमता भन्दा आधा संख्यामा मात्र दर्शक राखिने क्लवका अध्यक्ष थापाले जानकारी दिए । प्रत्येक सिटमा दर्शक नराखी दुईजनाबीचको सिट खालि राखिने उनले बताए ।  

प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट १ करोड ३० लाख १ हजार संकलन गरेर २८ लाख २० हजार बचत गर्ने लक्ष्य लिइएको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

आयोजकले प्रतियोगिताको बिजेता र उपबिजेता तथा विधागत पुरस्कारको राशी घोषणा गरेको छैन । कोरोनाका कारण प्रायोजक कति हुन्छन् र कति संकलन हुन्छ भनेर अनुमान गर्न गाह्रो भएकाले पुरस्कारको राशी सार्वजनिक गर्न नसकिएको क्लवका अध्यक्ष थापाले बताए । २०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु भएको प्रतियोगिताको यस वर्षको संस्करणलाई पनि हिमश्री फुड्स प्रालिको उत्पादन आहा–रारा चाउचाउले मुख्य प्रायोजन गर्ने भएको छ ।

प्रतियोगिताबाट बचत भएको रकम प्रतियोगिता आयोजक सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीमा खर्च गरिने जनाइएको छ । पोखरा महानगरपालिका–१७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना असहायः बालकहरु आश्रित छन् । उनीहरुलाई शिक्षा, खेलकुद प्रशिक्षणलगायत निःशुल्क रुपमा गरिदै आएको छ ।

प्रकाशित: १७ माघ २०७७ ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App