१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जिपलाइन फेरि सुरु

भेडेटार–देवीथान जिपलाइनमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर: रोहित/नागरिक

लकडाउनले बन्द भएको करिब ७ महिनापछि भेडेटार–देवीथान जिपलाइन पुनः सञ्चालनमा आएको छ। प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा सुरु भएको साहसिक खेल जिपलाइन एक महिना पनि नपुग्दै बन्द भएको थियो। गत फागुन २४ गते सुरु भएको जिपलाइन लकडाउनले चैत ११ गतेदेखि बन्द भएको थियो।

स्वास्थ्य प्रोटोकल पालना गर्दै जिपलाइन सञ्चालनमा ल्याइएको वल्र्ड वाइड ग्रुप प्रालिले जनाएको छ। प्रालिका सञ्चालक केदार थापाले सार्वजनिक यातायात, होटल, बजार सबै खुलेका कारण जिपलाइन पनि स्वास्थ्य प्रोटोकल पालना गर्दै सञ्चालनमा ल्याइएको बताए। ‘कोभिडका कारण चैत ११ गतेपछि बन्द थियो। अहिले प्रायः सबै क्षेत्र खुला हँुदै गएकाले सरकारको स्वास्थ्य प्रोटोकल पालना गर्दै भेडेटार जिपलाइन सुरु गरेका छौं,’ सञ्चालक थापाले भने।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर प्रालिले प्रदेश १ को प्रमुख पर्यटकीय स्थल भेडेटारमा जिपलाइन सञ्चालनमा ल्याइएको थियो। प्रालिका अनुसार यसको पूर्वाधार निर्माणमा करिब ३ करोड लगानी भएको छ। ‘भिजिट नेपाल २०२० लाई लक्षित गरेर सञ्चालनमा ल्याएका थियौं, तर लकडाउनले गाह्रो बनायो। स्वदेशी पर्यटक पनि आउन पाएनन्, यस्तो होला भन्ने सोचेकै थिएनौं,’ थापाले भने।

लकडाउन खुलिसकेको र जनजीवन पनि बिस्तारै सहज हँुदै गएकाले पर्यटन क्षेत्रले गति लिने सम्बन्धित क्षेत्रको अपेक्षा छ। भेडेटारमा पनि अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेकाले पर्यटन व्यवसायी आशावादी हँुदै छन्। ‘झन्डै ६,७ महिना भेडेटारमा पर्यटक आगमन शून्य नै भयो। हामीलाई ठूलो आर्थिक नोक्सानी भयो,’ भेडेटार होटल एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले भने, ‘हिजोआज पर्यटक आउन थालेका छन्, जिपलाइन पनि सुरु भयो। हामीलाई केही राहत भएको छ।’

भेडेटार देवीथान जिपलाइनमा टेन्डम, सुपरम्यान र क्लासिक गरी ३ प्रकारको मजा लिन सकिन्छ। टेन्डमको २ हजार, सुपरम्यानको १५ सय र क्लासिकको १२ सय शुल्क तिर्नुपर्छ। अहिले चाडपर्वको अवसरमा २० प्रतिशत छुट दिइएको प्रालिले जनाएको छ। प्रदेश १ मा जिपलाइन सञ्चालनमा आएको यो पहिलो हो।

प्रकाशित: २७ कार्तिक २०७७ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App