२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लाम्पार्डको फरक लक्ष्य

कोभिड १९ महामारीपछि युरोपका धेरै शीर्ष क्लब अबको आर्थिक अवस्था कस्तो होला भन्ने दुबिधामा छन् तर यस सिजन इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीलाई उपाधि चुनौती दिने लक्ष्य लिएको चेल्सीले भने अन्योलका बीच नयाँ सिजनका लागि खेलाडी अनुबन्धनमा २ सय ५६ मिलियन डलर खर्चेको छ।  

चेल्सीले गत सिजन प्रिमियर लिग च्याम्पियन लिभरपुलभन्दा ३३ अंक पछि पर्र्र्दै तेस्रो स्थानमा बसेर सिजनको अन्त्य गरेको थियो। खेलाडी अनुबन्धनमा लागेको प्रतिबन्ध र इडेन हाजार्ड पनि रियाल मड्रिड गएको अवस्थामा प्रशिक्षक फ्रांक लाम्पार्डले लिएको च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्यमा भने टोली सफल भएको थियो।

यस सिजन इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीलाई उपाधि चुनौती दिने लक्ष्य लिएको चेल्सीले भने अन्योलका बीच नयाँ सिजनका लागि खेलाडी अनुबन्धनमा २ सय ५६ मिलियन डलर खर्चेको छ।  

यस सिजनका लागि लाम्पार्डले टिमो वेर्नेर, काइ हाभर्टेज र हकिम जेइजजस्ता युवा तथा क्षमतावान् खेलाडी अनुबन्धित गरिसकेका छन्। चेल्सीले गत सिजन प्रिमियर लिगमा ५४ गोल खाएको थियो। यस सिजन बलियो रक्षापंक्तिको उद्देश्यका साथ लाम्पार्डले इङ्ल्यान्ड राष्ट्रिय टोलीका रक्षक बेन चिलवेललाई लेस्टर सिटी र ब्राजिलका पूर्वकप्तान थियागो सिल्भालाई पेरिस सेन्ट जर्मन (पिएसजी) बाट अनुबन्धित गरिसकेको छ। लाम्पार्ड इडवार्डो मेन्डीलाई समेत भित्र्याउने योजनामा छन्।

‘केही क्लबलाई कोभिड १९ ले सिर्जना गरेको आर्थिक कठिनाइभन्दा पनि खेलाडी भित्र्याउनु महत्वपूर्ण भएको छ,’ केही दिनअघि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भनेका थिए, ‘अन्योल भविष्यका बीच ती क्लबले मात्र मनग्गे खर्च गरेका छन्, जसलाई कुनै देशका धनाढ्यले चलाएका छन्,जोसँग मनग्गे पैसा छ। हाम्रो निश्चित बजेट छ र हामी भिन्न क्लब हांै।’  

‘मेरो लक्ष्य गत सिजनभन्दा यस सिजन फरक छ किनभने अहिले अवस्थासमेत फरक छ,’ लाम्पार्डले भने, ‘म चौथो स्थानमा बस्दै च्याम्पियन्स लिगमा छनोट हुन स्टाम्फोर्ड ब्रिज आएको होइन। पछिल्लो २ सिजन हामी च्याम्पियन टोलीभन्दा धेरै अंकले पछि परेका थियौं। यस सिजन हामी अंकदूरी कम गर्ने योजनामा छाैं। यसले टोलीको मनोबल बढाउनेछ। हामी जस्तोसुकै चुनौतीको समेत सामना गर्न तयार छौं।’

‘हामी उत्साही छौं तर सावधान पनि,’ लाम्पार्डले थपे, ‘नयाँ खेलाडी आएका छन्। उनीहरूलाई टोलीसँग मिल्न समय लाग्न सक्छ। हामीले एक साथ अभ्यास गर्न भने सुरु गरिसकेका छांै।’

‘चेल्सीले सिजनको दोस्रो खेलमै लिभरपुललाई स्टाम्फोर्डब्रिजमा आतिथ्यता प्रदान गर्र्नेछ,’ त्यस खेलबाट पनि लाम्पार्डको टोलीको उपाधि दाबेदारी कस्तो भन्ने संकेत गर्नेछ।

सिजनको पहिलो खेलमा भने चेल्सीले सोमबार ब्राइटनको सामना गर्नेछ।

प्रकाशित: २९ भाद्र २०७७ ००:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App